विराटमा दुर्लभ शल्यक्रिया,खाना नली नभएका शिशुको सफल उपचार

विराटनगर । विराटनगरस्थित विराट नर्सिङ होममा नवजात शिशुको दूर्लभ शल्यक्रिया भएको छ । जन्मँदै खानाको नली नबनेको एक दिनको नवजात शिशुकोे सफल शल्यक्रिया गरिएको हो ।

विराट नर्सिङ होम तथा विराट मेडिकल कलेजका बाल शल्य चिकित्सक डा. हिरामणि पाठक नेतृत्वको डा. बात्सल्य अज्र्याल, डा. रक्षा संग्रौला, डा. दिपराज उपाध्याय र डा. सोनिया दाहालको चिकित्सक टिमले खानाको नली नबनेको नवजात शिशुको सफल शल्यक्रिया गरिएको हो । यस्तो प्रकृतिको समस्या पाँच हजारमा एक जनामा देखिने गरेको चिकित्सक बताउँछन् ।

उदयपुरको बेलका नगरपालिका ६ की सम्झना राई ५ साउनमा प्रसूति सेवा धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा लिएकी थिइन् । त्यहाँ भेन्टिलेरसहितको एनआइसियू नभएपछि नवजात शिशुका बुबा मणिराज मगरले ५ साउनमा शिशुलाई विराट नर्सिङ्ग होममा लगेका थिए । त्यतिबेला शिशुको अवस्था नाजुक थियो ।

बाल शल्यचिकित्सक डा.पाठक नेतृत्वको टोलीले नवजात शिशुको खानाको नली नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नली स्वास नलीसँग जोडिएको हो । ‘एक घण्टा बढी समय लागेर सफल शल्यक्रिया भयो,’ बाल शल्य चिकित्सक डा. पाठकले भने, ‘यस प्रकारको समस्या अन्यन्तै दुर्लभ हो । यो जटिल अवस्थामा हुने भएको कारणले हस्पिटल पुगेको आधा घण्टाभित्र अप्रेसन थ्रेटरमा नवजात शिशुलाई लगेर शल्यक्रिया गरिएको हो ।’ विशेषज्ञ चिकित्सकबाट तत्कालै उपचार नपाए यस्तो नवजात शिशुलाई जोगाउन गाह्रो हुने उनले बताए । ‘खानाको नली नबनेको नवजात शिशुको विराटमा अहिलेसम्म गरिएको पहिलो शल्यक्रिया हो,’ उनले भने, ‘सफल शल्यक्रिया गरेर नवजात शिशुलाई बचाउन सकिएको छ ।’
एक हप्ता अस्पतालमा राखेर उपचारपछि शिशुलाई विहीबार डिस्चार्ज दिएको छ । शिशुको स्वास्थ्य अवस्था राम्रो रहेको डा. पाठकले बताए ।

‘जन्मजात नवजात शिशुमा समस्या थियो । खानाको नली बनेको थिएन । खानाको नलि नबनेकोले शल्यक्रिया गरी तत्लो खानाको नलि स्वास नलिसँग जोडिएको छ । यो जटिल अप्रेसन हो । यो सुष्म तरिकाले अप्रेसन गर्नुपर्ने हुन्छ । चिकित्सकको टिमले सोही अनुसार सफल शल्यक्रिया गरेको छ,’ बाल शल्य चिकित्सक डा. पाठकले भने ।

अस्पतालका अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले यस्ता खालका शल्यक्रिया अन्यत्र कठिन हुने भए पनि विज्ञ बाल शल्य चिकित्सक विराट नर्सिङ होम र विराट मेडिकल कलेजमा भएकाले सफल भएको बताए । बाहिर पठाइँदै आएका यस्ता प्रकृतिका जटिल उपचार यहाँ सम्भव भएको उनको भनाइ छ । ‘अब विराट मेडिकल कलेजमा क्यान्सर उपचार थालेपछि सबै प्रकारका रोगको उपचारका लागि विदेश जानु पर्दैन ।’
मगर दम्पतीको दोस्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएका थिए । उपचारपछि डिस्चार्जको तयारीमा रहेका नवजात शिशुका बुवा मणीराज मगरले छोरीलाई बचाउन उपचारमा खटिने चिकित्सकको टिमलाई धन्यावद दिए । ‘धरानबाट विराटनगरको अन्य हस्पिटल पनि गएर गए । त्यहाँ उपचार नहुने भएपछि विराट नर्सिङ होममा लिएर आएको थिए । यहाँ ल्याएपछि सफल उपचार पनि भयो र छोरीलाई बचाउने चिकित्सकको टिमलाई धन्यवाद व्यक्त गर्दछु,’ उनले भने ।

६ महिनामा १५० जना नवजात शिशु र बालवालिकाको शल्यक्रिया

विराट मेडिकल कलेज र विराट नर्सिङ होममा ६ महिनाको अवधिमा नवजात शिशु र बालबालिकाहरुको १५० भन्दा बढीको सफल शल्यक्रिया भएको छ । उपचारमा संलग्न बाल शल्य चिकित्सक डा. हिरामणि पाठकका अनुसार शल्यक्रिया गरिएको मध्ये २६ वटा नवजात शिशु र बाँकी बालबालिकाहरुको शल्यक्रिया गरिएको उनले बताए । ‘अहिले नवजात शिशुमा गरिएको शल्यक्रिया मध्ये पनि एक दिनको नवजात शिशुको जटिल र दुर्लभ शल्यक्रिया हो,’ उनले भने, ‘यसअघि पनि नवजात शिशुमा मलद्वार नभएको, आन्द्रा फुटेको, टिभीलगायतका नवजात र बालबालिकाहरुको शल्यक्रिया गरिएको छ ।’ अब शल्यक्रिया गर्नुपर्ने नवजात शिशु काठमाण्डौं जानुपर्ने बाध्यता अन्त्य भएको पनि उनले सुनाए । ‘शल्यक्रिया गर्नुपर्ने अवस्थाका नवजात शिशु लिएर काठमाण्डौं जानुपर्ने अवस्थाको अब अन्त्य भएको छ,’ उनले भने, ‘अब हामी यहीं यो सेवा प्रदान गर्छौं ।’

शुक्रबार, १२ साउन, २०८०, बिहानको ०८:४८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर