अनुकरणयोग्य काम

 सम्पादकीय

ठूलो होस् अथवा सानो, हाम्रा बहुसंख्यक विकास आयोजनाहरु अनेकौं उल्झनको शिकार बन्ने गरेका छन् । त्यसमध्ये ठेकेदारले गर्ने लापरबाही एउटा मुख्य समस्याका रुपमा रहँदै आएको छ । कम मूल्यमा ठेक्का सकार्ने, प्रारम्भमा परिचालन खर्च लिने अनि काम अलपत्र पारेर छाडिदिने घटना जताततै देखिन्छ । मोरङ जिल्लामै पनि धेरै वटा पुलहरु अझै अलपत्रै छन् । हुलाकी सडकको समस्या जस्ताको तस्तै छ । यस्ता आयोजनाको सूची अझै लामो हुनसक्छ । तर, केही यस्ता आयोजनाहरु पनि हाम्रा वरिपरि छन्, जो समयमै पूरा भएका छन् । लोहन्द्रा खोलामा भर्खरै उद्घाटन भएको पुल र नहर त्यसैका प्रमाण हुन् । सम्झौता अवधिभन्दा अघि नै पुल निर्माण सम्पन्न भएर उद्घाटन हुनु एउटा सुखद् घटना हो ।

मोरङका दुई पालिका बेलबारी नगरपालिका र ग्रामथान गाउँपालिका जोड्ने लोहन्द्रा खोलाको पुल २०७४ को बाढीले बगाएको थियो । त्यहीबेला सुनसरी मोरङ सिञ्चाई आयोजनाको नहर पनि क्षतिग्रस्त बनेको थियो । त्यसयता सर्वसाधारणले भोगेको सास्ती ठूलो थियो । आवतजावतमा खेपेको समस्या र सिञ्चाई सकसले दिएको दुःखले स्थानीयबासी पीडित थिए । तर, समय अगावै पूल र नहर निर्माण सकिएको छ । यसले स्थानीयबासीलाई दिएको खुसी ठूलो छ । समयमै काम सक्न निरन्तर खबरदारी गर्ने सोही क्षेत्रका जनप्रतिनिधिसमेत रहेका संघीय मामिलामन्त्री अमनलाल मोदी, स्थानीयबासी, निर्माण कम्पनी आशिष स्वामिनारायण आशिर्वाद जेभी धरान सबै धन्यवादका पात्र छन् ।

लोहन्द्रामा तयार भएको नयाँ पुलले सर्वसाधारणलाई खोला हुँदै हिँड्नुपर्ने बाध्यताको अन्त्य गरेको छ । मोरङ जत्तिको सुगम जिल्लामै पनि खोलाबाट यातायातका साधन गुडाउनु पर्ने बाध्यता अकरिलो थियो । त्यतिमात्रै होइन, लोहन्द्रा खोलाबाट पूर्वको १४ हजार हेक्टर जमिनमा सिञ्चाई सुविधा पुग्ने नहरले स्थानीयबासीको ठूलो चिन्ता दूर गरेको छ । यसै पनि बहुसंख्यक खेतीयोग्य जमिन अझै पनि भरपर्दो सिञ्चाई सुविधाको पहुँचमा छैन । अझै पनि आकाशे झरीको भरमा खेती गर्नुपर्ने बाध्यता किसानलाई छ । यस्तो अवस्थामा लोहन्द्रा पुल हुँदै बग्ने नहर सन्चालनमा आउनु किसानका लागि उपलब्धि हो ।

बाढीले बगाएको यो संरचना निर्माण सम्झौता निर्माण व्यवसायी आशिष स्वामिनारायण आशिर्वाद जेभी धरान १० सँग २०७६ सालमा भएको थियो । सम्झौता अनुसार पुल निर्माण सम्पन्न गर्नुपर्ने समय २०८० को भदौ अन्तिमसम्मको थियो । उक्त अवधिभन्दा लगभग अढाई तीन महिना अगाडि नै पुल र नहर सम्पन्न भएको दृष्टान्त अरु धेरै आयोजनाका लागि अनुकरणको विषय हुनसक्छ । निरन्तर काममा लाग्ने तत्परता निर्माण पक्षले देखाउने र सरकारी अनुमगन र नियमन पनि कसिलो हुने हो भने यस्ता आयोजनाहरु समयमै पूरा हुने रहेछन् भन्ने प्रमाण लोहन्द्रा पुल भएको छ ।

बिहिबार, ११ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर