काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्री विरुद्धको बहस सकिएको छ । बुधबार न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासमा उक्त रिट निवेदनमाथिको बहस सकिएको हो ।
इजलासले फैसला सुनाउन भने बाँकी छ । आज हेर्दाहेर्दैमा राखिएकोले रिटमाथिको आदेश भोलि मात्र आउने भएको छ ।
रिट निवेदनमाथि सबै वकिलले बहस सकाए पनि बिहीबारका लागि पनि पेशी तोकिएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । बहस सके पनि यसमाथि आदेश आउन बाँकी छ। आदेशबारे पनि भोलि बस्ने इजलासले निर्णय गर्नेछ।
कोशी प्रदेश कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई असंवैधानिक रुपमा मुख्यमन्त्री नियुक्त गरिएको भन्दै पूर्व मुख्यमन्त्री तथा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीका तर्फबाट सर्वोच्च अदालतमा असार २२ गते रिट निवेदन दर्ता गरिएको थियो । सरकार गठनमा सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरिएको भन्दै कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र सभामुख गौतमलाई विपक्षी बनाएर रिट निवेदन दिएका हुन् ।
रिट निवेदनमा कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परामादेशको मागसमेत गरेका छन् । गत असार २१ मा कोशी प्रदेशका प्रमुख खापुङले प्रदेश सभाका सभामुख गौतमको समेत हस्ताक्षरमा नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापालाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । त्यसविरुद्ध निवर्तमान मुख्यमन्त्री रहेका कार्की अदालत गएका हुन् ।
रिटमा असार २७ मा न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले थापालाई मुख्यमन्त्री नियुक्त गर्दाको प्रस्ताव, समर्थन, दाबी र हस्ताक्षर लगायत खुल्ने सक्कल कागजात साउन ३ गतेभित्र सर्वोच्चमा पेस गर्न प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको थियो । आदेशमा मुद्दाको अन्तिम किनारा नलागेसम्म कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न मल्लको इजलासले आदेश दिएको थियो ।