‘छात्राहरुसँग उपमेयर’ कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निराला कार्कीले शिक्षकहरुसँग खुलेर आफ्ना समस्या सुनाउन बालिकाहरुलाई आग्रह गरेकी छन् । छात्राहरुसँग उपमेयर कार्यक्रम अन्तरगत जेसी बाल सदन माविले आयोजना गरेको कार्यक्रममा उनले छात्राहरुसँग अन्तरक्रिया गर्ने क्रममा त्यस्तो आग्रह गरेकी हुन् ।

‘तपाईंहरुलाई कुनै समस्या भए शिक्षकलाई भन्नुहोस्, शिक्षकलाई भन्न सक्नु भएन भने घरमा अभिभावकलाई भन्नुहोस् अनि अभिभावकलाई पनि भन्न सक्नु भएन भने मलाई भन्नुहोस् महानगरपालिका तपाईंहरुको सधैँ साथमा रहनेछ ,’ उपप्रमुख कार्कीले भनिन् । उपमेयर कार्कीले छात्राहरुले खुलेर आफ्ना समस्या राखेको सुनाइन् । ‘त्यस्तो जटिल किसिमको समस्या व्यक्त भएन,’ उनले भनिन, ‘तर छात्राहरुले खुलेर आफ्ना मनका कुरा राख्नुभयो ।’

उपप्रमुख कार्कीले शिक्षक तथा कर्मचारीहरुलाई कार्यक्रमस्थलबाट बाहिर पठाएर छात्राहरुसँग एक्लै छलफल गरेकी थिइन् । त्यस क्रममा छात्राहरुको जस्तोसुकै समस्या समाधान गर्न महानगर तयार रहेको उनले बताइन् । उपमेयर कार्कीले सामाजिक सञ्जालमा अपरिचित व्यक्तिहरुलाई साथी नबनाउन आग्रह गर्दै नचिनेका मानिसले साथी बनेर अनैतिक कामहरु गरेका घटनाहरुबाट सिक्नु पर्ने बताइन् ।
विद्यालयमै पुगेर सञ्चालन हुने यस प्रकारको अन्तरक्रिया बढी प्रभावकारी हुने उनले बताइन् ।

बुधबार, १० साउन, २०८०, बिहानको ०७:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर