मणि दाहाल
राजनीति आकाशमा अनौठा आरोहहरु देखिदै छन् । जन अराजकताले क्रमिक आकार लिँदै छ । परिपक्क भनिएका राजनीतिक दलका नीति निर्माताहरु गतिहीनतामा रुमलिएका छन् । साधु बिरालोको भेषमा निरंकुश पञ्चायतका अवशेषहरुले शिर ठाडो बनाउदै छन् । मूलधारका राजनीतिक दलहरुको खस्कँदो जनविश्वास र आवेशी जनादेशले राम्रो संकेत गरेको देखिदैन । परिपक्क मानिएका राजनीतिक दलहरुको गर या मर को नाजुक अवस्थाले सम्बद्ध दलका नीति निर्माताहरुलाई झस्काएको छ छैन रु त्यो उहाँहरु नै जान्नु होला । तर अवस्था भने गम्भीर देखिदै छ ।
राजनीति अबिचलित यात्रा र निस्वार्थ समाज सेवा हो । विजय र पराजयहरु सामान्य प्रक्रिया मात्र हुन् । राजनीतिक पराजयले विगत सम्झाउँछ । आगत दर्शाउछ । पराजय भोग्दैमा सबै कुरा समाप्तै भयो भनेर बुझियो भने त्यो अराजनीतिक बुझाइ हुने छ । राजनीतिलाई व्यापार ठान्ने जमातको लागि मात्र विजय र पराजयको महत्व रहला । तर राजनीतिलाई समाज सेवाको रुपमा लिनेहरुको लागि यसले खासै महत्व राख्दैन । विजयले कर्तव्य बोध गराउँछ भने पराजयले आत्मसमीक्षा । फरक यति मात्र हो ।
हामीले कर्तव्य बोधलाई सत्ता स्वादमा दुषित बनाएका छौं । विगतको आत्मसमीक्षा र आगतको सुधारलाई आवश्यकता ठानिरहेका छैनौं । पराजयको वस्तुगत कारण खोजीरहेका छैनांै । आजको पराजय भोलिको विजय भन्ने सत्यतालाई स्वीकार्न सकेका छैनौं । हामीले राजनीतिक रुपमा असाक्षर शहरीया मध्यम वर्गलाई दलीय तालाचाबी जिम्मा लगायौं । तर तिनीहरुलाई राजनीतिक रुपमा चेतनशील बनाउन सकेनौं । रुपान्तरण हेर्न नचाहाने कुलीन वर्ग र अपराधिक संजालसँगको लगनगाँठोलाई मजबुत बनाउँदै उनीहरुलाई दलको निर्णायक तहमा हाबी गरायौं । इमान र निष्ठालाई सम्मान गर्न सकेनौं । हाम्रै गतिविधिले अराजकता गाँजिदै छ ।
‘बुझे श्रीखण्ड नबुझे खुर्पाको बिँड’ । यो नेपाली आख्यान हो । यो आख्यानलाई हाम्रा दलीय नीति निर्माताहरुलाई शिक्षाको रुपमा लिनु पर्ने हो । तर आजसम्म त्यसको संकेतसम्म देखिदैन । सैद्धान्तिक बिचलन र कार्यभारप्रतिको उदासिनता नै आजको परिणाम हो भन्ने सवाललाई पनि आत्मसाथ गरेको पाइदैन । जीम्मेवारहरुले पछाडि फर्केर हेर्न जानेनन् । युगको आवश्यकता र जनभावनाको सम्बोधन गर्नु पर्छ भन्ने सवालमा ध्यान जान सकिरहेको छैन । विगतको जनपूज्य नेतृत्व धनपूज्यमा रुपान्तरित भएको छ । नातावाद, कृपावाद र परिवारवादको जगजगीलाई उपलव्धी मान्नु जनताको दैनिकी बनेको छ । तर हाम्रा जीम्मेवार भनाउँदाहरुलाई थोरै पनि लज्जाबोध छैन । देश जलिरहेको छ । तर उहाँहरु बाँसुरीको धुनमा मस्तिदै हुनुहुन्छ ।
राज्यका तहगत संजालहरु भ्रष्टचारमा डुबेका छन् । जनप्रतिनिधिहरु धनप्रतिनीधिको रुपमा उदाएर राज्यको ढुकुटी लगायत तमाम प्राकृतिक सम्पादाहरुमाथि ब्रह्मलुट मच्चिएको छ । नियमनकारी निकाय नालायक छ । दर्ता चलानीदेखि टिप्पणी सदर हुने स्थानसम्मका जिम्मेवारहरुमा इमान पाउन मुस्किल छ । राजनीतिक दलहरुको ध्यान त्यतातिर केन्द्रित छैन । बरु उल्टै भ्रष्ट जमात र तिनका पृष्ठपोषकको संरक्षणमा व्यस्त देखिन्छन् । जसलाई लज्जास्पद अवस्था मात्र भन्न सकिन्छ ।
प्रवृतिगत रुपमा राजा माहाराजा भन्दा कुनै मानेमा फरक नदेखिएको हाम्रो नेतृत्वको ध्यान सुध्रिन भन्दा बिग्रनतिर मात्र गयो । राजनीतिले मेहनतकस जनतालाई निराशासिवाय केही दिन सकेन । यस्तो विकराल अवस्थालाई नियालिरहेको शहर केन्द्रित कुलीन वर्ग पानी धमिल्याउन सफल भयो । जसबाट मुलधारका राजनीतिक दलहरुको कन्तबिजोक स्वभाविक थियो । जुन भैरहेकै छ ।
समाज विकासको चरण र विद्यमानअन्तरविरोधले राजनीतिमा अहम् भूमिका निभाउँछ । यतिखेर हाम्रो समाजमा मुख्य तीनखाले अन्तरविरोधहरु स्पष्टरुपमा प्रकट छन् । पहिलो हुदाँ खाने र हुने खानेबीचको अन्तरविरोध । दोश्रो पश्चगामी र अग्रगामी शक्तिबिचको अन्तरविरोध । तेस्रो भ्रष्टीकरण र सुद्धीकरण बिचको अन्तरविरोध । राजनीतिक बेश्यावृत्तीले उल्लेखित अन्तरविरोध र गन्तव्य पहिचान गर्न सकेन । जिताहा मानसिकताले जोसँग पनिा हात मिलाउने काम भयो । सत्तालिप्साको यस्तो मुसा प्रवृत्तिले राजनीति अस्थिर र जनता अराजक बने ।
मूलधारका राजनीतिक दलहरु कमजोर हुनुको अर्को कारण असचेत शहरीया मध्यम वर्ग तथा सामाजिक संजालको गलत हौवामा युवा जमातको आकर्षण हो । राजनीतिलाई उमेरले हैन विचारले निर्देश गर्छ । तर दलहरुको गुटीय र पदीय स्वार्थले युवा तथा महिलाहरुलाई ढाल बनाएर अनावश्यक रुपमा गिजोल्ने काम गरियो । बुढाजति सबै आउट भन्ने जस्ता अत्यन्तै गैरराजनीतिक नारालाई मूलधारकै राजनीतिक दलहरुले प्रोत्साहन गराए । यसैमा टेकेर अतिवादी तथा अस्थिरतावादी शक्तिले खेल्ने काम गरिरहेको छ ।
भ्रष्टचारको चरम अवस्था र कुशासन अराजकताको अर्को कारण हो । जनताले दिएको दुई तीहाई बाँदरको हातमा नरिवल भयो । अदालती ‘कु’ मार्फत दलको विभाजनलाई बत्ती बालेर स्वागत गर्ने काम भयो । अपराधीकरण संस्थागत भयो । नीतिभन्दा नेतृत्वको देवत्वकरणलाई माहानता ठानियो । विकृतिका चँगुलहरुको जनआक्रोश अराजकतामा परिणत भयो ।
आवेगले रामायण पढ्दैन । लोकतन्त्र स्थापनाको यतिका समयसम्म पनि जनचाहना सम्बोधन हुन सकेन । भद्दा प्रशासनिक संरचनाले राष्ट्रिय ढुकुटीलाई स्वाहा बनायो । सुविधामा लिप्त, राजस्व दोहन र पथभ्रष्ट कर्मचारीतन्त्रको विशेषता बन्यो । मानव संशाधनको विकास र संवृद्धिका बाटाहरु बन्द गरियो । औचित्यहीन प्रादेशिक संरचनाप्रति पुनःविचार गर्न आवाश्यक ठानिएन । निर्वाचन प्रणलीमा सुधार गर्ने तर्फ ध्यान जान सकेन ।
बुढी मर्नु दुखद् भएपनि सामान्य प्रक्रिया हो । तर, काल पल्किनु खतरनाक लक्षण हो । दलहरुमा आएको हावादारी उभारलाई संयोग मात्र मान्न सकिदैन । अभाव र कुशासनभित्र खेल्न कुलिन वर्ग सक्रिय छ । राजनीतिक सुझबुझबिनाको मध्यमवर्गीय जमात, भ्रष्टहरुको पारिवारिक संजाल र विदेशिएकाहरुले त्यसको मलजल गरिरहेका छन् । तर, आजसम्म हाम्रा जीम्मेवारहरुले त्यतातिर ध्यान दिन जरुरी देखेका छैनन् । अनि सुध्रन पनि चाहेका छैनन् । अझै पनि लुट र गुट र परिवारवाद नै दैनिकी देखिन्छ ।