सम्पादकीय
प्रधानमन्त्रीको नाममा ठगी गरेको अभियोगमा समातिएका व्यक्ति हुन् अथवा विश्व खाद्य कार्यक्रमको नक्कली कार्यालय खडा गरेर ठग्नेहरु नै किन नहुन्, यी सबैले हाम्रो राज्यसंयन्त्रको कमजोरी लगातार उजागर गरिरहेका छन् । त्यसो त राज्यसंयन्त्रको उच्च तहमा रहे–बसेकाहरुको प्रत्यक्ष संलग्नता र संरक्षणमा नै नक्कली शरणार्थी, ललिता निवास जस्ता अनियमितता र ठगीधन्दा चलेबाटै पनि हाम्रो राज्यको कमजोरी
छताछुल्ल भएको थियो । अहिले विभिन्न बहानामा चलिरहेका ठगीधन्दाहरुले यसलाई थप पुष्टि गरिरहेका छन् । मुलुकमा पाइलैपिच्छे ठगिनुपर्ने सर्वसाधारणको नियति राज्यको चरम लापरबाहीको दुष्परिणाम हो । यातायातमा ठगी, बजारमा ठगी, शिक्षामा ठगी, हुँदाहुँदा औषधिमा पनि ठगिनुपर्ने बाध्यता नागरिकका लागि राज्यविहीनताको अवस्था हो कि होइन ? सुनसरीको इनरुवामा विशेषज्ञ चिकित्सकको बोर्ड राखेर गरिरहेको ठगी अर्को अपराध हो । खासगरी निजी औषधि फार्मेसीहरुको लुटधन्दामा विरामी र तिनका आफन्त नराम्ररी पर्दै आएको गुनासो पुरानै हो । तर, अनुमगनकारी निकायहरु पहिल्यै सावर्जनिक सूचना गरेर अथवा कसैले निवेदन दिए मात्रै अनुमगमनमा जाने चलन भएकै कारण यस्ता लुटधन्दाहरुले मौलाउने मैदान पाइरहेका छन् । औषधि जस्तो संवदेनशील क्षेत्रमा भइरहेको लुटधन्दा रोक्न सम्बद्ध निकाय तदारुक बन्नैपर्छ । घरखेत बेचेर उपचारका लागि तयार हुने सर्वसाधारणलाई नै लुट्ने दुष्कर्म रोकिनैपर्छ । राज्यले रोक्नुपर्छ ।
आफ्नो व्यावसायिक धर्म भूलेर कमाउ धन्दामा लागेका फार्मेसीले कसरी विरामी ठगी गर्छन् भन्ने घटना बारम्बार सार्वजनिक भइरहेका छन् । मुख्यतः बिरामीले लगेको औषधिको परिमाण बढाउने रसामानमा बढी मुल्य हालेर बिरामीसँग ठगी गर्ने गरेको एकपछि अर्को गर्दै घटनाहरू बाहिर आउने गरेका छन् । औषधिजन्य वस्तुको अनुगमन गर्ने निकाय औषधि व्यवस्था विभाग हो । त्यस्तै बिरामीसँग बढी मुल्य लिएको जानकारी पाए अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालय, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय हो । तर, अनुगमनको जिम्मेवारी पाएका यी नियांमक निकायहरु नै मौन बसिदिँदा ठगीधन्दा फस्टाएको छ ।
हरेक क्षेत्रमा मौलाएको ठगीधन्दाले हाम्रो समाज कतै ठगहरुको कब्जामा परिरहेको त छैन ? निराशापूर्ण लाग्ने यो प्रश्नप्रति राज्य र नागरिक सबैले घोत्लिने बेला आएको छ । अन्यथा औषधि पसलदेखि अस्पतालसम्म, सहकारीदेखि मन्त्रालयसम्मै ठगिनुपर्ने नियति बारम्बार किन दोहोरिन्छ ? सजिलै पैसा कमाउने लोभ प्रेरित यस्तो धन्दाले सामाजिक रुपमा ठूलो प्रभाव पारेको देखिन्छ । यसको राजनीतिक, सामाजिक र साँस्कृतिक शल्यक्रिया जरुरी छ । अन्यथा समाज क्रमशः ठगहरुको चंगुलमा फस्दै जाने निश्चित छ ।