काठमाडौं । नेकपा माओवादी केन्द्रको नेता एवं वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले भ्रष्टाचारको काण्डैकाण्ड मच्चाएको आरोप लगाएका छन्।
कम्बोडियाबाट फर्किएपछि विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सुन प्रकरणमा गृहमन्त्रीको संलग्नता रहेको आसयको अभिव्यक्ति दिएपछि सापकोटाको यस्तो प्रतिक्रिया आएको हो ।
अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज मान्नुपर्ने भन्दै सापकोटाले कहिले प्रधानमन्त्री प्रचण्डको र कहिले गृहमन्त्रीको राजीनामा माग्ने काम एमालेले गरेको भन्दै आपत्ती जनाएका हुन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा धादिङमा समातिएको सुन काठमाडौं पुगेपछि पित्तल रहेको भन्दै सार्वजनिक भएको घटनाबारे पनि उनले प्रश्न गरेका छन् ।
‘आफू सरकारमा हुँदा काण्डैकाण्ड मच्चाउने तर अहिले अरूले राम्रो काम गर्दा राजीनामा माग्ने एमालेले लोकलाज त माने हुने नि’, उनले भनेका छन्, ‘किन आफू सरकारमा छँदा जस्तै धादिङमा समातेको सुन काठमाडौं पुग्दा पित्तल बनाउनुपर्ने ? गृहमन्त्रीले राजीनामा किन दिनुपर्ने ? हजुरहरूसँग जवाफ छ ?’ सापकोटाले दीपक मल्होत्रालाई एयरपोर्टभत्रिको सीसीटिभी, पार्किङ एरिया र अवैध संरचना, बाहिरिने बाटो कसको पालामा सुम्पिएको भन्ने प्रश्नसमेत गरेका छन् ।
ओली प्रधानमन्त्री र रामबहादुर थापा गृहमन्त्री भएको बेला २०७५ पुस १९ गते धादिङको गजुरीबाट प्रहरीले सुनसहित तीन जनालाई पक्राउ गरेको थियो । प्रहरीले बरामद भएको सामान ४ केजी सुन रहेको भन्दै राजश्व अनुसन्धान विभागको जिम्मा लगाएकोमा विभागले उक्त सामान सुन नभई तामा र ढलोट मिसिएको धातु भएको बताएको थियो । त्यसबारे संसदमा पनि आवाज उठेको थियो ।