कोशीमा छैन एनआईसियू सेवा, डुलाउँदा–डुलाउँदै जान्छ नवजात शिशुको प्राण

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–८ की सुस्मिता श्रेष्ठले विराटनगरस्थित कोशी अस्पतालमा नवजात शिशुलाई जन्म दिइन् । नवजात शिशुलाई स्वासप्रश्वासमा समस्या भएपछि एनआईसियूमा राखेर उपचार गरिनुपर्ने चिकित्सकले सुझाव दिए ।

आर्थिक अवस्था नाजुक रहेको श्रेष्ठ परिवारले सस्तोमा उपचार हुने भएकाले कोशीमा बिरामी लिएर आएका थिए । तर, कोशी अस्पतालको एक वर्षदेखि एनआईसीयु बन्द छ । कोशीमा एनआईसीयु बन्द भएका कारण श्रेष्ठले चर्को शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउनु पर्यो ।

विराटनगरकै नोबेल अस्पतालको एनआईसियूमा विरामी राख्दा दैनिक १५ हजार रुपैयाँ बुझाउनु परेको उनीहरुले बताए । तीन दिनसम्म त परिवारले खर्च धाने । यदि कोशीमा एनआईसियू संचालनमा रहेको भए दैनिक १ हजारमा उपचार हुने थियो ।

नोबेलमा उपचार खर्चले धान्न नसकेपछि श्रेष्ठले त्यहाँबाट रेफर लिएर विमा चल्ने हस्पिटल मोरङ सहकारीमा लिएर आए । मोरङ सहकारी हस्पिटलमा लिएर गएको एक घण्टापछि नवजात शिशु छोराको प्राण गयो । कोशीको गाइनो वार्डमा दैनिक नर्मल र अप्रेसन गरी २० देखि ३० जनासम्मको प्रसूती हुने गरेको छ । प्रसूती भएका मध्ये ५ देखि १० जनासम्म एनआईसियूमा राखिनुपर्ने विरामी हुने गरेको चिकित्सक बताउँछन् । तर, सस्तो र भरपर्दो उपचार हुने भन्दै निम्न आय भएका विरामी आउने कोशी हस्पिटलमा बन्द भएको एक वर्षदेखि एनआईसियू सेवा सुचारू गर्न प्रशासनले चासो नदेखाउँँदा चर्को शुल्क तिरेर विरामी निजीमा जान बाध्य छन् । यसले एनआईसियूमा राखेर उपचार गरिनुपर्ने नवजात शिशुलाई डुलाउँदा डुलाउँदै बाटैमा प्राण पनि जाने गरेको छ ।

नयाँ भवन बनेर बच्चा वार्ड सरेको एक वर्ष हुन लाग्दा पनि बन्द गरेको एनआईसियू सेवा सुचारू नगर्दा विरामीले सास्ती पाएका छन् । ठाउँ अभाव र दक्ष जनशक्ति नभएको देखाउँदै कोशी अस्पताल प्रशासनले एक वर्ष अगाडिदेखि एनआईसियूको उपकरणहरू स्टोरमा थन्काएको छ ।

स्टोरमा एनआईसियूमा आवश्यक पर्ने उपकरणहरू ताला लगाएर राखेको वर्षौ भइसकेको छ । अस्पतालको बच्चा वार्डको पुरानो भवनबाट सरेर नयाँ भवनमा गएको एक वर्ष हुन लाग्दा पनि अस्पताल प्रशासनले एनआईसियू सुचारु गर्न चासो देखाएको छैन । पुरानो भवनमा रहँदा पाँच शैय्याको एनआईसियू सुचारु रहेको थियो । २ करोड ६ लाख ८६ हजार ९ सय ५७ रुपैयाँ लागतमा निर्माण भएको लिफ्टसहितको नयाँ भवनमा बच्चा वार्ड सरेको एक वर्ष हुन लाग्दा पनि एनआईसियू सुचारु हुन नसकेको हो ।

नयाँ भवनमा बच्चा वार्डमा १६ साउनमा सरेको थियो । अहिले बच्चा वार्डमा ३२ शैय्या रहेको छ । भेन्टिलेटर आवश्यक पर्ने नवजात शिशुदेखि बालबालिकाहरूलाई एनआईसियूमा राखेर उपचार गरिन्छ । अस्पतालको एनआईसियू सुचारु नहुँदा विपन्न परिवारका बिरामी समस्यामा परेको कानेपोखरी गाउँपालिका ६ का खगेन्द्र बराइलीले बताए । ‘पैसा हुनेले त निजीमा गएर उपचार गर्दछन् । कोशीमा आउने विपन्न हुन्छन् । त्यसमाथि निजीमा उपचार गर्दा चर्को शुल्क तिर्नुपर्ने अवस्था रहेको छ,’ बराइलीले भने, ‘ कोशीमा भए दिनको एक हजार रुपैयाँमा उपचार हुने रहेछ । निजीमा एनआईसियूमा राखेर उपचार गर्दा दिनको ८ देखि १५ हजार रुपैयाँसम्म तिर्नुपर्दोरहेछ ।’

बराइलीले एक वर्षको छोरी निमोनियाले ग्रस्त भएपछि कोशी हस्पिटल लिएर आएका थिए । त्यहाँका चिकित्सकले बिरामीको अवस्था हेरेपछि एनआईसियूमा राखेर उपचार गर्नुपर्ने भनेका थिए । आर्थिक अवस्था नाजुक भएको बराइली परिवारले सस्तोमा उपचार हुने भएकोले कोशीमा बिरामी लिएर आएका थिए । कोशीमा एनआईसियू बन्द भएको कारण बराइलीले चर्को शुल्क तिरेर निजीमा छोरीको उपचार गर्न बाध्य भएको सुनाए ।

कोशी अस्पतालका बच्चा विभागका प्रमुख डा. रामनारायण चौधरीले जनशक्ति अभावको कारणले एनआईसियू सञ्चालन नभएको बताए । ‘अहिले बालबालिकाहरूमा ज्वरो र इन्फेक्सन भएका बिरामीहरू आउने गरेका छन्,’ डा. चौधरीले भने, ‘यहाँ उपचार हुनसक्ने बिरामीलाई वार्डमा राखेर उपचार गर्दै आएका छौ । गाह्रो भएका बिरामी र एनआईसियूमा राखेर उपचार गर्ने गरेका बिरामीलाई एनआईसियू भएको हस्पिटल लैजान सुझाव दिँदै आएका छौं ।’

कोशी अस्पतालका सुपरिटेन्डेन्ट डा. चन्द्रभाल झाले पुरानो भवनबाट नयाँ ठाउँमा सारेर एनआईसियू संचालनको तयारीमा लागि परेको बताए । ‘पुरानो आईसियूमा एनआईसियू संचालन गर्ने तयारी गरिएको छ,’ उनले भने, ‘निर्माण कार्य पनि भइरहेको छ । थप जनशक्तिको व्यवस्थापन गरेर एनआईसियू संचालन गर्ने तयारी गरिएको छ ।’

सोमबार, ०८ साउन, २०८०, बिहानको ०७:२५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर