डेंगु नियन्त्रणमा गम्भीर पहल गर

 सम्पादकीय

पोहोरको जस्तै यसपालि पनि बर्खा लागेसँगै डेंगु ज्वरोको प्रकोप बढ्न थालेको छ । कोशी प्रदेशमा सुनसरीको धरान क्षेत्र डेंगुको प्रकोपबाट बढी प्रभावित छ । प्रदेश राजधानी विराटनगर लगायतका क्षेत्रमा पनि यो संक्रमण बढ्दै गएको छ । वर्षेनी गर्मीसँगै सुरु हुने यो रोगको दीगो रोकथाम र नियन्त्रणका लागि भने सरकारले प्रभावकारी कदम चालेको पाइदैन ।

अहिले संक्रमणको संख्या थोरै थोरै देखिए पनि घरमै उपचार गर्ने र स्वास्थ्य संस्थासम्म नपुग्ने बिरामीको संख्या धेरै छ । सरकारले सरकारी अस्पतालमा सेवा लिन गएकाहरुको मात्र तथ्यांक राख्ने गरेका कारण निजी स्वास्थ्य संस्थामा उपचार गराएका थुप्रै बिरामीहरुको तथ्यांक आउन सकेको छैन । सरकारी तथ्यांकलाई अनुमान गर्दा यो संक्रमणले भयावह रुप लिनसक्ने अनुमान गर्न सकिन्छ । त्यसैले नियन्त्रणका लागि तीनै तहका सरकारहरु गम्भीर बन्न आवश्यक छ ।

डेंगु ज्वरोको प्रकोपले धेरै जनसंख्यालाई प्रभावित गरिसकेको छ तर समयमा सम्बन्धित सरोकारवाला निकायले काम नगर्दा नियन्त्रणबाहिर जाने खतरा देखिदैछ ।मौसमी परिवर्तनका क्रममा भेक्टर एडिस जातको पोथी लामखुट्टे वर्षायामपछि सक्रिय हुने र बढी अण्डा र लार्भा पार्ने भएकोले यो समय डेंगु फैलाउने लामखुट्टे नियन्त्रणमा बढी ध्यान दिनु पर्ने हो । तर सरकारले त्यसबेला खासै वास्ता गरेन । मनसुनको सुरुवातसँगै यसपटक डेंगु ज्वरोको प्रकोप बढेको छ । समयमा सक्रियता नदेखाउँदा यो फैलिरहेको छ । यसबाट धरान सबैभन्दा धेरै प्रभावित छ ।

सरकारले बजेटको अभावले गर्दा पनि यो रोग नियन्त्रणमा आवश्यक पहल लिन नसकेको देखिन्छ । नियमित रुपमा काम गर्ने र त्यसका लागि आवश्यक बजेट विनियोजन गर्ने हो भने डेंगुको असर र विस्तार कम गर्न सकिने जानकारहरु बताउँछन् ।

डेंगु नियन्त्रण गर्न सरकारले जनचेतना फैलाउने काममा पनि बढी ध्यान दिन आवश्यक छ । रोगको बारेमा जानकारी नहुनु र रोग कसरी फैलिन्छ र कसरी नियनत्रण गर्न सकिन्छ भन्ने सामान्य ज्ञान हरेक घर र बस्तीमा विस्तार गर्न आवश्यक भएपनि यस तर्फ उल्लेख्नीय काम भएको छैन । सरकारले यसतर्फ विशेष पहल गर्नुपर्ने देखिन्छ । आवश्यक सावधानी अपनाएको खण्डमा डेंगुको प्रकोप धेरै हदसम्म नियन्त्रण गर्न सकिने भएकोले तीनै तहको सरकारले यसमा ध्यान दिनु पर्छ । यसका लागि सरकारले समुदायलाई सशक्त रुपमा परिचालन गर्न सक्छ । स्थानीय तहका स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुलाई परिचालन गर्न सक्छ । तर, त्यसमा सरकारले आवश्यक ध्यान दिएको पाइदैन । जब रोग फैलिन्छ त्यतिबेला अन्धधुन्दरुपमा नियन्त्रणको प्रयत्न त गरिन्छ तर त्यसबाट अपेक्षित उपलब्धि हुँदैन । त्यसैले अहिलेदेखि असोज– कात्तिकसम्म डेंगु नियन्त्रणमा स्थानीय सरकार मार्फत विशेष योजना सञ्चालन गर्ने तर्फ सरकारले व्यवस्थित कार्यक्रम बनाउनु पर्छ । यसबाट लामखुट्टेजन्य अन्य रोगहरु जस्तै मलेरिया, मेनेन्जाइटिस, इन्सेफ्लाइटिस जस्ता घातक रोगहरुलाई पनि समयमै नियन्त्रण गर्न सकिन्छ ।

आइतबार, ०७ साउन, २०८०

प्रतिक्रिया:

सम्बन्धित खवर