विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नयाँ मेसु नियुक्ति भएका छन् । कोशीका निमित्त मेसु डाक्टर रविराज सिंह चार महिनामै परिवर्तन भएका हुन् । उनका ठाउँमा कोशी अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ डाक्टर चन्द्रभाल झालाई नियुक्त गरिएको हो । झा चार महिना अगाडी ११ औँ तहमा बढुवा भएका चिकित्सक हुन् । उनी कोशी अस्पतालमा विगत चार वर्षदेखि कार्यरत छन् ।
कोशी अगाडी मेची अस्पतालमा थिए । समायोजन भएपछि झाले कोशी अस्पताल रोजेपछि उनी २०७६ सालदेखि कार्यरत रहेका छन् ।
सिंहले गत फागुन २ गते कोशीको निमित्त मेसु भएर कार्यभार सम्हाल्दै आएका थिए । झा मेसुमा नियुक्ति भएसँगै सिंह पुरानै जिम्मेवारीमा फर्किएका छन् ।
संघीय सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री फेरिएसँगै अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन हुने कोशीको पुरानै रोग रहेको छ । स्वास्थ्य मन्त्री परिवर्तन भएपिच्छे मेसु र अस्पताल विकास समिति परिवर्तन हुने गरेको हो ।
अहिलेको सरकारमा काँग्रेसबाट मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या मन्त्री छन् । स्वास्थ्य मन्त्री बस्नेतले स्थानीय नेताहरूको दबाबमा अस्पतालका सर्जन डा। सिंहलाई चार महिनामै हटाएर नयाँ मेसुमा झालाई नियुक्त गरेका हुन् । आइतबार मन्त्री स्तरीय निर्णयले झालाई मेसुमा नियुक्त गरेको हो । उनले मङ्गलवार कार्यभार सम्हाल्ने तयारी गरेका छन् ।
कोशी अस्पतालमा मेसुको ११ औँ तहको दरबन्दी छ । मेसुमा नियुक्ति भएका झा ११ औँ तहकै चिकित्सक हुन् । कोशीमा ११ औँ तहका डा। दीपक सिग्देल र बाल रोग विशेषज्ञ डा। रामनारायण चौधरी मात्र रहेका छन् ।
यसरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मन्त्री परिवर्तन भएसँगै छोटो अवधिमा मेसु परिवर्तन हुँदा हस्पिटलको काम कारबाहीमा समस्या हुने गरेको हस्पिटलका कर्मचारी बताउँछन् ।
१६ महिनामा तीन जना मेसु फेरिए
कोशीमा पछिल्लो १६ महिनामा तीन जना मेसु परिवर्तन भएका छन् । २०७८ फागुन ५ गते स्वास्थ्य मन्त्रीमा विरोध खतिवडा आएसँगै हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर यज्ञराज खरेल मेसुमा नियुक्त भए ।
खरेलले ६ महिना काम गर्दा नगर्दा खतिवडाको पद धरापमा प¥यो । खतिवडाको ठाउँमा स्वास्थ्य मन्त्रीमा भवानी खापुङ नियुक्त भए । उनै खापुङले डाक्टर लक्ष्मीनारायण यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएका थिए । त्यसपछि खरेल २०७९ भदौ १५ गतेदेखि अस्पतालको पुरानै जिम्मेवारीमा फर्किए ।
२०७९ भदौ १६ गते डाक्टर यादवले मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी पाएका थिए । यादवले जिम्मेवारी पाएको छ महिना नबित्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले एमालेका स्थानीय नेताको दबाबले उनको जिम्मेवारी खोस्यो । मन्त्रालयले २०७९ फागुन २ निमित्त मेसुको जिम्मेवारी डाक्टर रविनराज सिंहलाई दिएको थियो ।
सिंहले जिम्मेवारी सम्हालेको ४ महिनापछि नयाँ मेसुमा चन्द्रभाल झा आएका छन् । कोशी अस्पतालमा हालसम्ममा ३३ जना मेसु परिवर्तन भएका छन् । अस्पतालको रेकर्ड अनुसार कार्यालय प्रमुखको रूपमा २०१८ साल पुसमा डाक्टर भरतराज वैद्य नियुक्त भएका थिए । उनले झन्डै १० वर्ष अस्पताल प्रमुखको रूपमा काम गरेको रेकर्ड छ । पछिल्लो समय भने अस्पतालमा हुने राजनीतिकरण र अदृश्य ढङ्गले हुने चलखेलका कारण अस्पताल प्रमुख १ वर्ष टिक्न पनि मुस्किल देखिएको छ । अस्पताल प्रशासनका अनुसार पछिल्लो पटक डाक्टर चुमनलाल दासले मात्रै एक वर्ष काम गर्न पाएका थिए । २०७७ असार १ गते मेसुको जिम्मेवारी पाएका दास २०७८ फागुन ४ गतेसम्म जिम्मेवारीमा थिए ।
साढे ३ सय शय्याको कोशी अस्पतालमा दैनिक ओपिडीमा १ हजार देखि १ हजार पाँच सय बिरामीले स्वास्थ्य उपचार गर्ने गरेको अस्पतालको अभिलेखमा देखिन्छ ।