कोशीप्रदेशमा सुरक्षित गर्भपतन गराउनेको ग्राफ ओरालो !

असुरक्षित गर्भपतन गर्नेहरूको सङ्ख्यामा वृद्धि, असुरक्षित गर्भपतन गराएर अस्पताल धाउनेहरूको लर्को

विराटनगर । कोशी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेहरूको सङ्ख्या अघिल्ला आर्थिक वर्षको तुलनामा घट्न थालेको छ । कोशी प्रदेश स्वास्थ्य मन्त्रालयमातहतको स्वास्थ्य निर्देशनालयको त्रिवर्षीय तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७९–८० जेठसम्ममा सुरक्षित गर्भपतन गराउनेहरूको ‘ग्राफ’ ओरालो लागेको पाइएको हो ।

निर्देशनालयको तथ्याङ्कअनुसार कोसी प्रदेशमा चालू आर्थिक वर्षको जेठसम्ममा सुरक्षित गर्भपतन रोज्ने २० वर्षभन्दा कम उमेरका युवतीको सङ्ख्या आठ सय तीन रहेको छ । तीमध्ये ६ सय ६५ जनाले ‘मेडिकल’ र एक सय ३८ जनाले ‘सर्जिकल’ विधिबाट गर्भपतन गराएका थिए ।
जबकि, अघिल्लो आवमा ७२७ जनाले औषधिको माध्यमबाट र एक सय ९५ जनाले शल्यक्रिया गरीजम्मा ९२२ जनाले सुरक्षित गर्भपतन सेवा लिएका थिए । त्यसभन्दा अघिल्लो आ.व. २०७७/७८ मा एक हजार २८२ जनाले सुरक्षित गर्भपतन गराएका थिए । जसमध्ये, ९३४ ले मेडिसिन र ३८४ जनाले सर्जिकल विधिबाट ‘एबर्सन’ गराएका थिए ।

यस प्रदेशमा चालू आवको जेठसम्ममा २० वर्ष वा त्यसभन्दा माथिका १२ हजार २७४ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । त्यसमध्ये १० हजार १०७ जनाले औषधि सेवनगरेर अनि ४ हजार १५ जनाले सर्जिकल विधिबाट सुरक्षित रूपमा गर्भपतन गराएको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

यसअघि आर्थिक वर्ष २०७८÷७९ मा १४ हजार ९८९ ले सुरक्षित रूपमा गर्भपतन गराएको निर्देशनालयले जनाएको छ । निर्देशनालयकाअनुसार सो आवमा १० हजार ७९९ जनाले मेडिसिनका माध्यमबाट र ४ हजार १९० जनाले सर्जिकल विधि अपनाएर गर्भपन गराएका थिए । त्यसभन्दा अघिल्लो आवमा १० हजार १०७ जनाले मेडिसिन र चार हजार १५ ले सर्जिकलका माध्यमबाट गरी जम्मा १४ हजार १२२ जनाले सुरक्षित रूपमा गर्भपतन गराएको निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

त्रिवर्षीय तथ्याङ्क हेर्दा चालू आर्थिक वर्षको दुई महिना (जेठ र असार) को विवरण अभिलेख गर्न बाँकी छ । तथापि, यी दुई महिनाको विवरण समेट्दा पनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या अघिल्ला आर्थिक वर्षको तुलनामा धेरै हुने सम्भावना कम छ ।

स्वास्थ्य निर्देशनालयको आ.व. २०७७/७८ यता सुरक्षित गर्भपतन गराउनेहरू घट्नुले के आशङ्का दिलाउँछ भने कि त असुरक्षित गर्भपतन गराउनेहरूको सङ्ख्या बढेको छ कि परिवार नियोजनका साधनमा पहुँच बढेको छ । स्वास्थ्य निर्देशनालयले मान्यताप्राप्त स्वास्थ्य संस्थामा तालिमप्राप्त चिकित्सकले दिने सुरक्षित गर्भपतन सेवा लिनेहरूको विवरणमात्र अभिलेखमा राख्ने गरेको छ ।

असुरक्षित रूपमा आफ्नो गर्भको अन्त्य गराउनेहरूको विवरण भने निर्देशनालयले अभिलेखमा समाविष्ट गराउँदैन । बरु, असुरक्षित रूपमा गर्भपतन गराएपछि जटिल भइसकेको स्वास्थ्य समस्या लिएर अस्पताल आउनेहरूको विवरण भने केही हदसम्ममा निर्देशनालयले सङ्कलन गर्ने गरेको छ । त्यस्ता बिरामीको सङ्ख्या पहिलेको तुलनामा घटे पनि निमिट्यान्न हुन नसकेको निर्देशनालयको स्वीकारोक्ति छ । तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या बोकेर अस्पताल आएकाहरूमध्ये केहीले त ज्यानै गुमाउनु परेको छ ।

यता, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बालकृष्ण साह प्रदेशभरि सुरक्षित गर्भपतन गर्नेको सङ्ख्या घट्नुले असुरक्षित रूपमा गर्भपतन गराउनेको ‘ग्राफ’ बढेको आँकलन गर्छन् । ‘एक त गर्भ बसेको ज्ञात हुनेबित्तिकै औषधि सेवन गरेर गर्भपतन गर्नेको सङ्ख्या बढेको छ,’ उनले भने, ‘गर्भपतनका लागि मान्यता नपाएको स्वास्थ्यसंस्था वा सूचिकृत नभएका चिकित्सकबाट औषधि सेवन गर्नेहरू स्वास्थ्य जटिलता लिएर अस्पताल आउनेको सङ्ख्या बढेको छ ।’

विशेषगरी, मेडिकल र फार्मेसी पुगेर गर्भपतनका अवैध औषधि सेवन गर्ने युवाजमात बढेको डा. साहको भनाइ छ । गर्भपतनका लागि इजाजत नपाएका मेडिकल र फार्मेसीले पनि गर्भावस्थाको निर्क्यौल नगरी सिटामोलसरह त्यस्ता औषधि बेच्ने गरेका कारण विभिन्न स्वास्थ्य समस्या लिएर अस्पताल आउनेहरूको सङ्ख्या बढेकोउनले सुनाए ।

उनले भने, ‘औषधिको सेवनका माध्यमबाट सुरक्षित रूपमा गर्भपतन गराएपछि अत्यधिक रक्तश्राव भइरहने समस्या लिएर मसमक्ष धेरै जना आउनुहुन्छ । फार्मेसीले गर्भावस्था निर्क्यौल नगरी औषधि दिन्छ । झन् कतिपय औषधिले त नेपालमा अनुमति पनि पाएका हुँदैनन् । त्यस्ता औषधिसेवन गर्दा अत्यधिक रक्तस्राव हुने र लामो समयसम्म नरोकिने भएपछि शिथिल अवस्थामा बिरामी अस्पताल आइपुग्छन् । कोही त गर्भपतनकै कारण वर्षौंपछि बल्झिएको स्वास्थ्य समस्या पनि देखाउन आइपुग्छन् ।’

अझ, शिक्षित व्यक्ति सूचीकृत डाक्टरसमक्ष पुग्न झन्झट मान्छ, सरकारले निःशुल्क प्रदान गरेको औषधि खानेभन्दा पनि फार्मेसीमा जाने र सहज तरिकाले गर्भको अन्त्य गर्न खोज्छ । यसैले पनि असुरक्षित गर्भपतनले प्रश्रय पाएको डा. साहको अनुमान छ । असुरक्षित गर्भपतनका कारण तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्तिने उनको भनाइ छ ।

परिवार नियोजनका साधन प्रयोग गरेर भरिसक्दो गर्भपतन गर्नुपर्ने अवस्था ननिम्त्याउन र निम्तिहालेमा सुरक्षित गर्भपतनलाई नै अन्तिम विकल्प बनाउन डा. साहको सुझाव छ ।

सुरक्षित गर्भपतन सेवा लिनेहरूको ‘ग्राफ’ ओरालो लाग्नुमा परिवार नियोजनका अस्थायी साधनहरूमा पहुँच पनि बढेको हो कि? भन्ने प्रश्नमा डा. साहको जबाफ छ, ‘गर्भपतन भनेको अन्तिम विकल्प हो । त्यसो हुन नदिन परिवार नियोजनका साधनहरू प्रयोग गर्दा उपयुक्त हुन्छ । तर कोशी प्रदेशमा रोजगारमुखी दम्पत्तिको सङ्ख्या धेरै छ । व्यापार–रोजगारको सिलसिलामा छुट्टा–छुट्टै बस्नुपर्ने बाध्यता पनि उनीहरूमा छ । यसैले उनीहरूमा त्यस्ता साधनहरूको पहुँचमा कमी छ ।’

विशेषतः सहरी क्षेत्रका रोजगारमुखी दम्पत्तिबीच नियमित शारीरिक सम्बन्ध बन्दैन । यसकारण परिवार नियोजनका अस्थायी साधनको प्रयोगमा भने व्यापकता आइसकेको छैन । बरु, अनिच्छित रूपमा बसेको गर्भलाई अन्त्य गर्न सहरी क्षेत्रका मानिसहरूले असुरक्षित रूपमा औषधि सेवन गर्ने गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या उल्लेख्य रूपमा बढ्न नसकेको उनको अनुमान छ ।
प्रदेशभरि सुरक्षित गर्भपतन गर्ने सेवाग्राही घटेको देखिए पनि अझै नजिता अपेक्षाकृत नभएको स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेत बताउँछन् । असुरक्षित रूपमा हुने गर्भपतनलाई जरैदेखि निर्मूल पार्ने अभियानमा आफूहरू रहेको सुनाउँदै बस्नेतले त्यसो गर्न सकिएमा मात्र स्वास्थ्य क्षेत्रले फट्को मार्ने बताए ।

उनले भने, ‘हामीले सुरक्षित गर्भपतन सेवा लिनेहरूको विवरण राख्दै आएका छौं । तथ्याङ्कमा सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्दै गएको पाइएको छ । यो खुसीको कुरा हो, तर अपेक्षाकृत रूपमा अवस्था सकारात्मक भइसकेको छैन ।’

सुरक्षित गर्भपतन सेवामा तीव्रता दिइरहँदा असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या पनि अपेक्षाकृत ढङ्गले घट्न नसकेको उनको स्वीकारोक्ति छ । असुरक्षित तबरले गर्भपतन गराएर स्वास्थ्य समस्या भएपछि अस्पताल आउनेगरेको विवरणले आफूहरू दुःखी भएको बस्नेतको भनाइ छ ।
‘सुरक्षित गर्भपतन गराउनेको सङ्ख्या घट्नेबित्तिकै असुरक्षित गर्भपतन गराउनेको सङ्ख्या बढ्यो भनेर भन्न मिल्दैन,’ उनले भने, ‘असुरक्षित गर्भपतनले मातृमत्युदर बढाउँछ । तर, हाम्रो प्रदेशमा मातृमृत्युदर दिनानुदिन घट्दो छ । हो, असुरक्षित गर्भपतन गराएर अस्पताल धाउनेहरू पनि छन् । यसमा दुःख लाग्छ । तर, हामीले सूचीकृत संस्था र तालिमप्राप्त चिकित्सकको सङ्ख्या बढाउँदै लगेका छौं । फेरि परिवार नियोजनका साधनमा पनि पहुँच बढ्दो छ ।’

समाज शिक्षित भइसकेकोले धेरै व्यक्तिहरू आफ्नो स्वास्थ्यप्रति सचेत भएको उल्लेख गर्दै बस्नेतले परिवार नियोजनका साधन र सुरक्षित गर्भपतनप्रति मानिसको चेतनामा परिवर्तन भएको सुनाए । त्यसबाहेक आफूहरूले पनि असुरक्षित गर्भपतनलाई जरैदेनि निर्मुल पार्नका लागि विभिन्न कार्यक्रम गरिरहेको उनको भनाइ छ । विशेषगरीः किशोर–किशोरीलाई यसबारे सचेत बनाउन आम–सञ्चारमाध्यकको सहायतामा सचेतनामुलक कार्यक्रम ल्याएको बस्नेतले बताए ।

बिहिबार, १४ असार, २०८०, बिहानको ०८:२७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर