कृषि उद्यम : १५५ रुपैयाँ लिएर शहर छिरेका गजेन्द्रको ५० करोड लगानीको लक्ष्य

कृषि फार्ममा ४० करोड लगानी गरिसकेका गजेन्द्रले ५० करोड लगानीको लक्ष्य राखेका छन्

विराटनगर । नेपालको उत्पादन क्षमता बढाउन कृषिमा क्रान्ति गर्नुपर्छ भन्नेमा धेरै सहमत छन् । त्यसका लागि कृषि क्षेत्रको औद्योगीकरण आवश्यक छ । कृषिमा स्वदेशी तथा विदेशी ठूला लगानीकर्ता यो क्षेत्रमा आउनु पर्छ । पछिल्लो समय सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिएको बताउने गरेको पनि छ । तर, परिणाम (उत्पादन) राम्रो आइरहेको छैन । यद्यपि केही ठूला उद्योगहरू स्थापना हुने क्रम भने सुरु भएको छ ।

विराटनगर–१२ दरैयामा कृषि क्षेत्रसँगै सम्बन्धीत उद्योग विगत २ वर्षदेखि संचालित छ । जहाँ एक सय ४५ वटा गाई छन् । दैनिक ११ सय लिटर दूध उत्पादन हुन्छ । उक्त फर्ममा दानापानी दिने, गोबर पखाल्ने, दूध दुहुने सबै काम अटोमेटिक हुन्छ । त्यही फर्ममै साईलेज फ्याक्ट्री छ । साईलेज प्याकेजिङ प्लाष्टिक उत्पादन गर्ने उद्योग बुधबार नै उद्घाटन भयो । दाना उद्योग पनि त्यही छ । गाई फर्मको रेखदेखका लागि पञ्जावबाट स्पेशल डाक्टर ल्याएर जागिर दिइएको छ । उक्त उद्योगमा अहिलेसम्म ४० करोड लगानी भइसकेको छ । लगानीको अंक ५० करोड रुपैयाँ पुर्याउने उद्योगीको योजना छ । ५ विघा जग्गामा सुरु भएको यो फर्ममा अहिले ३२ जनाले रोजगारी पाइरहेका छन् भने अन्य १० जना दैनिक ज्यालादारी मजदुर छन् । त्यसका अलावा त्यहाँ मौसमी तथा बेमौसमी तरकारी खेति पनि गरिएको छ ।

स्वेदशको प्रेम

बञ्जरा एग्रो, दरैया प्लाष्टिक उद्योग र कुन्ती क्याटल फोडर सबै उद्योग एकैठाउँमा संचालन गरिरहेका उद्योगी हुन् गजेन्द्र शर्मा । उनी अहिले पनि विश्वविख्यात होटल संचालक कम्पनी हिल्टनका उच्च ओहोदाका कर्मचारी हुन् । अहिले दुवईस्थित हिल्टनले संचालन गरेको पाँचतारे होटलमा उनी म्यानेजर पदमा कार्यरत छन् ।

उनका दुई जना छोरा अष्ट्रेलियामा छन् । उनका दुवै छोरा अष्ट्रेलियाको नागरिक बनिसके । उनीहरुले दुःख नगर्नु अष्ट्रेलिया नै आउनु भन्छन् । तर, उनी भन्छन्, ‘म नेपाललाई छोडेर जाने कल्पनै गर्न सक्दिन । मलाई २००७ सालमा क्यानडाबाट पिआर आएको थियो । तर, मैले अस्वीकार गरें । मेरो सबैभन्दा ठूलो उद्देश्य मैले जे सिके, जे देखें त्यसलाई आफ्नै ठाउँमा आफ्नै देशमा लागू गर्न चाहन्छु ।’

कतिपयले उनलाई होटलको जिएम भएको मान्छे होटल किन खोल्नु परेको पनि भन्छन् । तर, उनीसँग त्यसको सामान्य जवाफ छ ‘गाउँको माया, स्वदेशी प्रेम ।’ त्यसका अलावा होटलमा लगानी गर्दा धेरै लाग्ने र रिटर्न हुन पनि गाह्रो हुने देखेर कृषि उद्यममा लगानी गरेको उनी बताउँछन् । ‘यो नेपालमै काँही छैन । फुल्ली अटोमेटिक मिल्किङ पार्लर र मिल्क प्रोसेसिङ युनिट रहेको छ । अहिले दरैया प्लाष्टिक उद्योग स्थापना भएको छ । ४० करोड लगानी भइसकेको छ,’ उनी सुनाउँछन् ।

पहिलो फेजको काम सकिएको र अब ८८ वटा गाइ थप्न सेड निर्माण सुरु गर्ने उनको तयारी छ । त्यसका लागि झण्डै ४ करोड लगानी थप्नुपर्ने उनी बताउँछन् । त्यसका लागि बैंकले प्रोजेक्ट बेसिसमा लगानी गर्न नमान्दा आफूलाई समस्या परिरहेको उनको गुनासो छ । अहिलेको ४० करोड लगानीमध्ये १० करोडजति लोन रहेको बताउँछन् । त्यति लगानी गरिसक्दा अर्को वर्षदेखि आफ्नो कम्पनीले दूध, गोबर मल, प्लाष्टिकको व्यापार गरेर वार्षिक २० करोडजति कारोबार गर्ने उनको अनुमान छ । अहिले दैनिक ४६ लिटरसम्म दूध दिने होलिस्ट्रियन जातका गाई रहेका छन् । यस्तै गाइका बाच्छा कोशी प्रदेशका किसानलाई उपलब्ध गराउने उनको सोच छ ।

किसानलाई प्रोत्साहन, साइलेज र मल विक्रीको लक्ष्य

आफैं हुर्के बढेको ठाउँमा आएर लगानी गर्दा आफूलाई आनन्द लागिरहेको उनी सुनाउँछन् । उनले देशभरका फार्म संचालकहरुलाई तालिम दिने योजना पनि बनाएका छन् । आफ्नो फर्ममा रहेका एउटा गाईलाई पनि बाँझोपन नभएको उनको दाबी छ । त्यस्तै प्रत्येक किसानको गुनासो सम्बोधन गर्न र गाइमा देखिने बाँझोपन समस्या समाधान गर्न तालिम दिने उनले बताए । यस्तै गाईको स्वास्थ्य चेकजाँचको लागि ल्याब स्थापना गर्ने उनले अर्को लक्ष्य राखेका छन् ।

उनले गाइका लागि घाँस तथा दाना पानी उत्पादन गर्ने हेतुले सुनसरीका किसानलाई अग्रिम ४० प्रतिशत भुक्तानी गरेर मकै उत्पादनमा प्रोत्साहन गरेका छन् । मकै हुर्किए पछि उद्योगले आफैं लिएर आउने गरेको छ । त्यसवापत किसानले मकैको सुत्लासहितको (हल्का दाना पसेको) बोटको प्रतिकिलो ४ रुपैयाँ पाउने गरेका छन् । मकै उत्पादन गरिरहेका किसान राजेन्द्र साह पनि उद्योगले मकै खरिद गरिदिएपछि आफूहरुलाई राहत भएको बताउँछन् ।

उद्योगले गाइको खान्कीका लागि ८ सय टन साइलेज आफैं बनाएर राखेको छ । ‘अर्को वर्षको वैशाखसम्मका लागि पुग्ने गरी साइलेज प्याक भएको छ,’ शर्मा भन्छन्, ‘अबको सिजनदेखि भने सस्तो मूल्यमा किसानलाई दिने गरी साइलेज उत्पादन गर्न लागेका छौं ।’

को हुन् गजेन्द्र शर्मा ?

बञ्जरा एग्रो, दरैया प्लाष्टिक उद्योग र कुन्ती क्याटल फोडर सबै उद्योग एकैठाउँमा संचालन गरिरहेका उद्योगी हुन् गजेन्द्र शर्मा । निम्न परिवारमा ५२ वर्ष अगाडि जन्मिएका उनका बुबा गोविन्द प्र. बञ्जरा मोरङ सुगर मिलका कार्यालय सहयोगी थिए । उनकी आमा रुक्मणी बञ्जरा ठेक्कापट्टामा खेतीपाती गर्थिन् । तिनै बुबा आमाले गजेन्द्रलाई मिल्स माध्यामिक विद्यालयमा पढाए । २०४२ सालमा एसएलसी गरेका गजेन्द्रले त्यसपछि महेन्द्र मोरङमा आइकम गरे । त्यहाँ आइकममा उनले ९७ प्रतिशत नम्बर पाएर उत्तीर्ण गरे । दुई वर्ष नै उत्कृष्ट नम्बर ल्याएका उनले क्याम्पसमा बुझाउनु पर्ने शुल्क मिनाहा भयो ।

त्यसबेला मोरङबाट काठमाडौं जाने मोरङ पशुपति एक्सप्रेस नाइट बस चल्थ्यो । उक्त बस पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको पिए अमोद कट्वालका छोराको थियो । उनै अमोद कट्वालको सहयोगमा उनी १५५ रुपैयाँ पैसा बुबासँग मागेर काठमाडौं हान्निए ।

काठमाडौंको शंकरदेव क्याम्पसबाट उनले व्यवस्थापनमा ब्याचलर डिग्रि लिए । शंकरदेवमा पढ्दा पढ्दै काठमाडौंमा जुद्धबहादुर श्रेष्ठलाई काममा लगाइदिन उनले अनुरोध गरेका थिए । उनै जुद्धबहादुरले आफ्नो छोरा विनोद ब. श्रेष्ठको कार्पेट फ्याक्ट्रीमा प्रति महिना ९ सय रुपैयाँ तलब दिने गरी २०४८ सालमा काममा लगाइदिए ।

त्यही उद्योगमा काम गर्दै पढ्दै गजेन्द्रले अरु विद्यार्थीलाई ट्यूसन पढाएर कमाइ गर्न थाले । त्यहाँ काम गर्दागर्दै उनी त्यो उद्योगको मेनेजर भए । उद्योगले उत्पादित सामान विदेश निर्यात हुन्थ्यो । त्यही बेला उनले स्वीटजरल्याण्डका मानिसहरुसँग काम गर्ने अवसर पाए । उनलाई सोही बेला स्वीटजरल्याण्डका साथीभाई होटल म्यानेजमेन्ट पढ्न जान सुझाव दिए । सोही सुझावका आधार मानेर उनले होटल म्यानेजमेन्ट पढ्न स्वीटजरल्याण्ड गए । त्यहाँ उनले होटल म्यानेजमेन्टमा डिग्री हासिल गरे । डिग्री हासिल गरेसँगै उनले विश्वविख्यात होटल कम्पनी हिल्टनमा कामको अवसर पाए । त्यही कम्पनीमा २३ वर्षदेखि उनले काम गरिरहेका छन् । त्यसक्रममा भियाना, अष्ट्रिया, दोहा, कतार, अवुधावी, चाइना, क्यानडा, थाइल्याण्ड र दुवईमा पनि उनले काम गरे । अहिले सोही होलट कम्पनीले संचालन गरेको दुवईको फाइभ स्टार होटलमा मेनेजिङ डाइरेक्टरको रुपमा कार्यरत छन् । आफूले गरेको काम र पाएको पारिश्रमीक ल्याएर उनले कृषि क्षेत्रमा लगानी गरेको बताउँछन् । दूध उत्पादन र विक्रीमा अहिलेसम्म कुनै समस्या छैन । समस्या भनेको लगानी जुटाउनुमा रहेको शर्माको अनुभव छ । बैंकले लोन दिनका लागि रिजिट पोलिसी अपनाएको आफ्नो अनुभव रहेको शर्मा बताउँछन् । आफूले १५ लाख रुपैयाँ कठ्ठामा किनेको जग्गाको आधा मूल्यांकन गर्ने र त्यसको पनि ७० प्रतिशत मात्रै ऋण लगानी गर्ने परिपाटीले कृषि क्षेत्रको विकास नहुने बताउँछन् ।

शनिबार, ०९ असार, २०८०, साँझको ०५:१७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर