विद्यालय कर्मचारीको एक हप्ते आन्दोलन समापन, माग पुरा नभए असार २ गतेदेखि विद्यालय बन्द गर्ने घोषणा

विराटनगर । नेपाल शिक्षक महासंघ मोरङ तथा शिक्षकका अन्य घटक संस्थाहरू विद्यालय कर्मचारीहरूका जायज माग पुरा गर्न सरकारलाई आग्रह गरेका छन् ।

शिक्षा विकास तथा समन्वयन इकाई मोरङको प्राङ्गणमा आन्दोलनको कार्यक्रम समापन गरिएको हो । उनीहरुले विगत एक हप्तादेखि सोही कार्यालयमा धर्ना तथा प्रदर्शन गर्दै आएका थिए ।

समापन कार्यक्रममा नेपाल शिक्षक महासंघ मोरङका सचिव अशोक लुईटेल, नेपाल शिक्षक संघ मोरङ अध्यक्ष विनोद यादव, नेपाल राष्ट्रिय शिक्षक संगठन मोरङका सचिव विन्दुकुमार लावती, विराटनगर महानगरपालिका नेपाल शिक्षक महासंघ अध्यक्ष वेदु कुमार खतिवडालगायतका शिक्षक नेताहरू सहभागी थिए । उनीहरुले विद्यालय कर्मचारी परिषदको पूर्व घोषणा कार्यक्रम अनुसार असार २ गतेबाट तेस्रो चरणको आन्दोलनलाई सहयोग गर्ने बताएका छन् ।

यसैबीच सरकारले आन्दोलनरत पक्षलाई वार्तामा नबोलाए असार २ गतेदेखि देशभरका सामुदायिक विद्यालय बन्द गर्ने कर्मचारी परिषदले जनाएको छ ।

आगामी आर्थिक वर्षको बार्षिक नीति तथा कार्यक्रमको बुँदा नम्बर १२७ मा विद्यालय कर्मचारीका सेवा सुविधा उल्लेख भएपनि बजेट भाषणमा काँही उल्लेख नभएको भन्दै तीन साता लामो आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।

उनीहरुको तलब स्केल हालपनि ५ हजारदेखि १५ हजार कायम छ । श्रम ऐन अनुसार तलब माग गर्दै उनीहरूले विगत ३३ वर्षदेखि आन्दोलन गर्दै आएका छन् । पटकपटक आन्दोलन र सहमति तथा सम्झौता भएपनि सरकारले कार्यान्वयन नगरेको उनीहरूको भनाइ छ । देशभरमा विद्यालय कर्मचारीहरु ३५ हजार रहेका छन् । उनीहरुको आन्दोलनको कारण विद्यालयमा पठन पाठनमा असर परिरहेको शिक्षकहरु बताउँछन् ।

शनिबार, २७ जेठ, २०८०, साँझको ०६:२८ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर