जयप्रकाश आनन्द
विश्व प्रसिद्ध पत्रिका ‘न्यूजविक’ ले वि.स. २०४८, जेठ १३ को अन्तर्वार्ता स्तम्भमा नेकपा एमालेका महासचिव मदन भण्डारीलाई रोजेको थियो । पत्रिकाको अन्तिम पृष्ठमा हरेक सप्ताह विश्वका चर्चित तथा चर्चाका पात्रहरूको अन्तर्वार्ता लिइने क्रममा जानेबुझेसम्म नेपालबाट पहिलो पटक कुनै व्यक्ति रोजाइमा परेको हुनुपर्छ । ‘इन नेपाल कार्ल माक्र्स लिभ्स’ शीर्षकमा प्रकाशित त्यस साक्षात्कारपछि एमालेका नेता कार्यकर्ताहरूलाई मदन भण्डारीको कार्ल माक्र्ससँग नै तुलना गर्ने अवसर मिलेको थियो । खुब प्रचार गरियो ।
सन् ९० को दशक, सोभियत रूस, पूर्वी युरोप तथा विश्वका अन्य कतिपय भागबाट साम्यवादी शासनको लगभग श्रृङ्खलाबद्ध परित्यागको दशक थियो । चीनमा साम्यवादी शासन रहेपनि सुधारको जोडले तियानमेन स्क्वायरमा ठूलो घटना भएको थियो । चिनीयाँ कम्युनिष्ट पार्टीले ठूलो चुनौतीहरूको सामना गरिरहेको थियो । भारतमा कम्युनिष्टहरूले चुनाव जितेर केही प्रदेशहरूमा सरकार बनाउन सफल भएका थिए, जुन लहर सन् ९० को दशकमा आएर ओरालो लाग्न थालेको थियो । यसरी पोलैण्डमा प्रजातन्त्र, सोभियत संघको विघटन, अफगानिस्तानबाट रूसको वापसी, चीन र दक्षिण पूर्वी मुलुकहरूमा साम्यवादी शासनमा देखिएका चुनौतीलाई पश्चिमा बौद्धिकहरूले ९० दशकको नव जागरणको रूपमा हेरेका थिए ।’ पेरेस्त्रोइका’ र ‘ग्लास्नोस्त’ जस्ता शब्दहरू संसदीय प्रजातन्त्रको चाहनाका पर्याय जस्तो भएको थियो ।
ठिक यही वेला नेपालमा दुईवटा ध्यानमा राख्नु पर्ने घटनाहरू देखियो । पहिलो, दुई शताब्दीदेखि कसिलो सामन्ती शासनको रूपमा रहेको नेपाली राजतन्त्रको गाँठो हलुको भएको थियो । पंचायती व्यवस्था समाप्त भएर मुलुक संवैधानिक राजतन्त्रको दिशामा अगाडि बढेको थियो । उदार प्रजातन्त्रको दिशामा । दोस्रो, पहिलोको ठिक विपरित नेपालमा कम्युनिष्टहरू बलियो भएर आएको देखियो । संसारमा सबैतिर कम्युनिष्टहरू सकिन लागेको बेला यहाँ भने कम्युनिष्टहरूको यसरी विकसित भएको रूपले नेपाली समाजको सोचका बारेमा पश्चिमा जगतमा एक प्रकारको कौतुहलता जगाएको थियो–संसारभर कम्युनिष्टहरू ओरालो लागेको बेला नेपालमा कम्युनिष्टहरूको अभ्युदयको कारण जान्नु कौतुहलता भएको थियो । पश्चिमीहरूको यही कौतुहलताले न्युजबुकलाई मदन भण्डारी कहाँ पुर्याएको धेरैको विचार देखिएको थियो । यसो सोच्नेहरू नै सायद ठिक धारमा थिए ।
कम्युनिष्टहरू खुसी थिए, मदन भण्डारीको रूपमा माक्र्सको नेपालमा अवतरण भयो भनेर । वि.स. २०४८ ताका नेपाली राजनीतिक परिदृश्यमा कम्युनिष्ट प्रादुर्भावका बारेमा मेरो छुट्टै राय छ । यद्यपि, त्यसबारे यहाँ चर्चा गर्नु जरूरी छैन । कुरो नेपालमा माक्र्सको अवतरणको हो । यहिंनेर नेपाली कम्युनिष्टहरूले दिग्भ्रमितता देखाए । मदन भण्डारीलाई माक्र्सको रूपमा अतिरंजना सहितको प्रचार गरिरहेका कम्युनिष्टहरूले माक्र्सले परिकल्पना गरेका चिन्तनहरूलाई यसपछि एक एक गरी छोड्दै गए । जसरी भएपनि यहाँ साम्यवादीहरू तंग्रेर आउनुलाई सकारात्मक नै मान्नु पर्दछ । तर, कम्युनिष्टहरूका लागि साम्यवादका वैचारिक अवधारणाहरूलाई छोड्दै सत्ता निरन्तरताका रणनीति मुख्य कार्यभार बनाएको देखियो ।
यस दुई दशकमा नेपाली कम्युनिष्टहरूले पुँजीवादी बिकासको मोडेललाई अपनाए । अंकल शा’म तिर ललायित भए । माक्र्सवादका एक मुख्य आधारभूत तर्क ‘वर्ग’ को साटो ’पहिचान’ लाई पछ्याउदै गए । आज यिनीहरू कहिं कतैं माक्र्सवादका आधारभूत मान्यता ‘वर्ग’ लाई समाज विश्लेषणको बिषय वस्तु बनाएको देखिदैन ।
हालैको एक उदाहरण लिउँ । प्रदेश १ को नयाँ नामकरण ‘कोशी’ भएको छ । नेकपा एमालेले यसमा वर्गीय चिन्तनलाई प्रमुखता दिएन, पुरै प्रदेश–१ मा कम्युनिष्टहरूका लागि संगठन तथा वर्गीय ऐक्यवद्धताको करिडोर हुन सक्ने ‘वर्ग’ को चिन्तन अहिले ‘पहिचान’ को हठमा ठोक्किएको छ । के यो सत्य होइन कि आजका नेपाली कम्युनिष्टहरू ‘मानव जातिको इतिहासको अध्ययन’ भन्दा ‘जातीय संस्कृति’लाई सर्वाधिक महत्व दिइरहेका छन् । खस–आर्य संस्कृतिको जगेर्ना माक्र्सेली चिन्तन भन्दा भिन्न अहिले कम्युनिष्टहरूको आधार भएको छ । ‘सार्वभौम मूल्यहरू’ को सम्बद्र्धन भन्दा पनि नेपाली कम्युनिष्टहरू ‘विभेद’ को रणनीतिमा भोटको राजनीति खेल्दैछ । वास्तवमा समकालीन समाजका जडताका कारणहरूलाई छिचोल्ने आशाका विपरित नेपालका कम्युनिष्टहरू आधारभूत माक्र्सेली चिन्तनलाई पुरै बिर्सेर सिंहदरवारतिर लागिसकेको छ । त्यसैले वैचारिक आधारमा माक्र्सवाद पनि नेपाल छोडी हिडेको छ ।