विराटनगर । मोरङ कटहरी–४ को प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत तरकारी ब्लकमा पुग्दा किसान संजयकुमार सिंह कुहिएका टमाटर निकाल्दै थिए । सँधैजस्तो यसपटक लकडाउनले किन्न कोही पनि व्यापारी नआएपछि उनले काठमाडौंस्थित कालिमाटीका एक व्यापारीको गाडीमा टमाटर धमाधम टिप्ने र लोड हुने काम हुँदैथियो । तर, सँधैजस्तो उनले मूल्य पाउने त कता हो कता व्यापारीकै मूल्यमा दिन खोज्दा पनि कसैले लैजान नसकेको उनले गुनासो गरे ।
‘८ देखि १० लाखसम्मको लगानीमा टमाटर खेती गरेको थिएँ, ४/५ लाखको अघिल्लो पटक बेचें, तर अहिले मेरो बारीमा १० लाख बराबरको टमाटर कुहिएर खेर जाने अवस्थामा छ,’ उनले भने, ‘यस पटक १ गाडी टमाटर १४ हजारमा दिएको छु । काम गर्नेलाई के दिनु आफू दिनभरी खटेको छु । के खानु ? विगतमा ५०/६० हजार रुपैयाँमा एक गाडी टमाटर जान्थ्यो, अहिले त दामको कुरै छोडिदिनु, बारी कसरी खाली गर्ने भन्ने चिन्ता छ ।’
तरकारी खरिदका लागि कालिमाटी काठमाडौंबाट आएका सन्तोषकुमार यादवले पनि तरकारी गाडीलाई पास चाहिंदैन भनेपनि बाटोमा विभिन्न बखेडा निकालेर सशस्त्र प्रहरीले दुःख दिने गरेको गुनासो गरे ।
‘लकडाउन’का कारण कटहरीको तरकारी ब्लकमा झण्डै ७० हेक्टर क्षेत्रफल जमिनमा लगाएको टमाटर बारीमै कुहिने अवस्थामा पुगेको देख्न सकिन्छ । तरकारी बोकेका कतिपय गाडीलाई अवरोध नगर्न सरकारले आग्रह गरेको छ । यद्यपि कतिपय अवस्थामा अवरोध हुँदा निर्वाध रुपमा आफ्नो उत्पादन बजारसम्म पुग्न नपाएको त्यहाँका अर्का किसान विनोदकुमार सिंहले बताए ।
‘कोरोना भाइरसले लकडाउन भयो भने हामी पनि मान्न तयार छौं । तर, तरकारीको गाडीलाई किन बिचबिचमा रोकिराखेको हो, यो कुरा हामीले बुझ्न सकेका छैनौं, सरकारले यसलाई निर्वाध आवतजावत गर्ने वातावरण बनाउनु पर्यो,’ उनले भने ।
उनले पनि डेढ विगाहामा टमाटर, खुर्सानी, बैगुन, काउली, बन्दालगायतका तरकारी बाली लगाएका छन् । १ कट्टा जमीनमा टमाटर लगाउँदा २० हजार माथि लगानी हुने बताउँदै उनी भन्छन्, ‘यसपटक लगानी उठ्ने कुनै सम्भावना छैन ।’
सोही ठाउँका राम उदय सिंह प्रधानमन्त्री कृषि आधुनिकीकरण अन्तर्गत कटहरी तरकारी ब्लकका संयोजक हुन् । उनको गुनासो त्यही खालको छ । ‘बन्द छ भन्छन् तर भारतबाट कसरी आउँछ तरकारी ? राती–राती आउँछ,’ उनले भने, ‘भन्सार बोर्डरमा रोकेर स्वदेशमा उत्पादित तरकारीको विषयमा सरकारले उचित निर्णय लिनुप¥यो ।’ तरकारी ब्लकमा १ सय २५ जनाभन्दा बढी किसानले तरकारी खेती गरेका छन् । त्यहाँ १ सय हेक्टर भन्दा धेरै जमिनमा तरकारी खेती हुन्छ ।
अर्का किसान बिजयकुमार सिंहले कृषि विकास बैंकबाट मैले १० लाख रुपैयाँ ऋण लिएर खेति सुरु गरेको बताए । ‘टमाटरको फसल पनि राम्रो छ । तर बिक्री हुँदैन । ऋण कसरी तिर्ने ?,’ विजयकुमार भन्छन्, ‘मैले ‘गाइबस्तुलाई खुवाइदिएँ, छरछिमेकीलाई कुहिनु भन्दा लगेर जतिसक्दो खानु भनिदिएँ, एक त मलखाद पाउँदैन, सिंचाईको समस्या छ, त्यसमाथि जसोतसो निस्किएको अहिलेको बाली लकडाउनका कारण विक्री भएको छैन । हामी धेरै मारमा छौं ।’
विराटनगरमा टमाटरको मूल्य ४० रुपैयाँ प्रतिकेजी छ । तर, झण्डै ५ किलोमिटर टाढा रहेको कटहरीको तरकारी ब्लकमा उप्पादित टमाटर १० रुपैयाँ प्रतिकिलोले पनि विक्री भएको छैन । यही बेला बन्दा कोभी पनि तयारी अवस्थामा छ । अबको केही समयपछि विक्री गर्न नसके बन्दा बिग्रने अर्को चिन्ता किसानमा थपिएको छ । स्थानीय, प्र्रदेश र संघीय सरकारका प्रतिनिधिहरुलाँई यो विषय जानकारी गराउँदा पनि कुनै समस्या समाधान नभएको किसान कोपिन्द्र सिंह बताउँछन् । ‘टमाटर र बन्दाको बजार व्यवस्थापनमा सघाउनुप¥यो भनेर गुहार मागेको थिएँ, आफैं विक्री सुरु गर्नु भन्ने जवाफ आयो,’ उनले भने, ‘किसानले उत्पादन गर्ने हो विक्री गर्ने व्यवस्थापन सरकारले गरिदिनुपर्छ ।’
सो ब्लकमा संघीय सरकारले १० लाख र स्थानीय सरकारले १० लाख रुपैयाँ आधुनिक औजार खदिरका लागि अनुदान दिएको छ । यद्यपि उत्पादित वस्तु लकडाउनका कारण बजारसम्म जान नपाउँदा किसान तरकारी खेती छोड्ने अवस्थामा पुगेका छन् ।