विराटनगर । प्रदेशको नाम कोशी खारेजको माग गर्दै आन्दोलनरत पहिचानवादीले कोशी प्रदेशमै आएको बेला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगातार आक्रमण र अवरोधको प्रयास गरे ।
चार दिन लामो कोशी प्रदेशको बसाई एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त्यति सुखद रहेन । बरु, प्रदेशको नाम कोशी खारेजको माग राखेर उनै ओलीमाथि भएको आक्रमणले केन्द्रमा बहस सिर्जना ग¥यो । ठूला पार्टीबीच आरोप प्रत्यारोप भयो । सामाजिक संजालमा पहिचानवादीको आन्दोलन कसले गरेको वा कसले भड्काएको भन्नेसम्मका आरोप र खोजविन भयो ।
वैशाख १३ गते झापाको बुद्धशान्ति गाउँपालिकामा एमाले अध्यक्ष केपी ओली र सुवासचन्द्र नेम्वाङलाई पहिचानवादीले कालो झण्डा देखाए । त्यसक्रममा प्रहरीसँग झडप भयो । झडपमा परी एक प्रहरी घाइते हुँदा आन्दोलनकारी मित्र लिङ्देन र बुलेट किराती पक्राउ परे । उनीहरु अझै हिरासतमै रहेका छन् ।
वैशाख १४ गते इलाम सदरमुकाम पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध त्यहाँ पनि कालो झण्डा प्रदर्शन भयो । त्यसक्रममा नौं जना पक्राउ परे । यद्यपि उनीहरुलाई सोही दिन साँझ रिहा गरियो । ओली आउने भनेर थाहा पाएपछि इलामको गोदकमा पहिचानवादीले रुख ढालेर सडक अवरुद्ध बनाएका थिए ।
वैशाख १५ गते तेह्रथुमको आठराई गाउँपालिका पुगेका ओलीमाथि पुनः पहिचानवादीले कालोझण्डा देखाए । त्यसक्रममा एमाले कार्यकर्तासँग पहिचानवादीको भनाभन भयो । पहिचानवादीहरुले सोही साँझ पाँचथरको फिदिममा मशाल जुलुस प्रदर्शन गरे । वैशाख १६ गते एमाले अध्यक्ष केपी शर्मा ओली फर्कने क्रममा फिदिममा कालो झण्डा र नाराजुलुस प्रदर्शन भयो । एमाले अध्यक्ष ओलीमाथिको निरन्तरको आक्रमणले तीब्रता पाइरहेको बेला केन्द्रमा भने एमालेले पत्रकार सम्मेलन गरेरै सरकारले कोशी प्रदेशमा अराजकता मच्चाइरहेको आरोप लगायो । तर, एमालेले गत फागुन १७ गतेदेखि कोशी प्रदेशमा भइरहेको निरन्तरको आन्दोलन र झडपहरुलाई अहिलेसम्म अन्देखा गरिरहेको थियो ।
३० पालिका र १६२ वडामा तालाबन्दी
प्रदेशको नाम कोशी राखेसँगै सोही दिनबाट सुरु भएको आन्दोलन अझै रोकिएको छैन । कोशी प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार हालसम्म आन्दोलनकारीले ३० वटा पालिकामा तालाबन्दी गरेका छन् भने १६२ वटा वडा कार्यालय बन्द गराएका छन् । ८ वटा चक्काजाम गरेका उनीहरुले २२ वटा कोणसभा, २० वटा भेला, १३ वटा नाराजुलुस, १८ वटा राँके जुलुस, २० वटा ¥याली, १६ पटक कालोझण्डा प्रदर्शन, ८ वटा विरोधसभा र अन्य नौं वटा विभिन्न गतिविधि गरेका छन् । त्यसक्रममा ८ जना आन्दोलनकारी पक्राउ परेका छन् भने उनीहरुलाई रिहा गरिसकिएको प्रहरीले जनाएको छ । यस्तै आन्दोलनका क्रममा पदम लिम्बू लाजेहाङको मृत्यु भएको छ । विभिन्न आन्दोलनका क्रममा आन्दोलनकारी १५ जना घाइते भएका छन् भने ४४ जना प्रहरी घाइते भएको तथ्यांक छ ।
त्यसमध्ये पदम लिम्बूको शवयात्राका क्रममा झडप हुँदा विराटनगर वैशाख ९ गते तनावग्रस्त बन्यो । शान्तिपूर्ण शवयात्रा गर्ने भनिएको कार्यक्रम कसरी झडपमा परिणत भयो ? प्रहरीले आन्दोलनकारी सुरुवातदेखि नै उग्र बनेर आएको दाबी गरेको छ । उता, आन्दोलनकारीले भने प्रहरीले आफूहरुले तय गरेको शवयात्रालाई रोक्न खोजेपछि झडप भएको बताएको छ ।
प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका संयोजक डकेन्द्रसिंह थेगिम आन्दोलन अझै उग्र बन्नसक्ने बताउँछन् । ‘अब सबै जनप्रतिनिधिलाई हामी बहिष्कार गर्छौं । उनीहरुमाथि व्यक्तिगत कारबाही हुनसक्छ । त्यसो भयो भने सबै जनप्रतिनिधिको घरघरमा प्रहरी सुरक्षाकर्मी राख्न सक्छ राज्यले ?,’ उनले भने, ‘आगामी दिनमा हुनसक्ने ठूलो क्षतिलाई रोक्नका लागि वार्ता, संवाद र छलफलको वातावरण बनाउनु पर्छ कि पर्दैन ? ।’
पहिचानवादीहरुले विराटनगरमा चैत ५ गते वृहत प्रदर्शन गरेका थिए । त्यही आन्दोलनमा सहभागी बेलबारीका पदम लिम्बू लाजेहाङ प्रहरीसँगको झडपमा परी घाइते भएका थिए । उनको टाउकोमा चोट लागेको थियो । त्यही चोटका कारण चैत ८ गते एक्कासी बिरामी भएपछि अस्पताल भर्ना भएका उनको चैत १० गते मृत्यु भएको थियो । त्यसपछि पहिचानको आन्दोलन गर्नेहरु झनै आक्रोशित बनिरहेका छन् । चैत १४ र १५ गतेका लागि विराटनगरको होटल बिगमा तय भएको कार्यक्रममा पहिचानवादीले घेराउ गरेका थिए । त्यसक्रममा पनि झडप भयो र दर्जनबढी प्रहरी र आन्दोलनकारी घाइते भए । त्यसबेला पनि दर्जनौं अश्रुग्याँस, पानीको फोहोरा र हवाइ फायर भएको थियो ।
सरकारले चैत २४ गते पदम लिम्बूलाई सहिद घोषणा गरेको छ । चैत १० गते मृत्युवरण गरेका उनको शव एक महिनापछि वैशाख ९ मा अन्त्येष्टि गरिएको छ । पहिचानवादीले प्रदेशको नाम बहुपहिचानको आधारमा राख्नुपर्ने बताउँदै आएका छन् । सरकारले वार्ता र संवाद गर्नै नचाहने र आन्दोलनकारीहरु उग्र बन्दै जाने परिस्थितिले कोशी प्रदेशमा थप तनाव हुने देखिएको कतिपय बताउँछन् । यसलाई संयमित र शान्तिपूर्ण बनाउन सरकारले आन्दोलनकारीलाई वार्तामा ल्याएर समस्या समाधानमा जोड दिनुपर्छ ।