खोकु छिन्ताङ दुख्यो कि…..गीतका रचयितालाई कोरोना

विराटनगर । खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा….. बोलको चर्चित गीतका रचनाकार गणेश इजमलाई कोरोना संक्रमण भएको छ ।

पञ्चायती शासनको समयमा धनकुटाको खोकु छिन्ताङमा तत्कालिन सत्ताले हत्या गरेका क्रान्तिकारीहरुको सम्झनामा गीतको रचना गर्ने इजमलाई बेलायतमा कोरोना संक्रमण भएको हो ।

ताप्लेजुङको तिरिङ्गेमा जन्मिएका इजमको अहिले बेलायतको अस्फोर्ड केन्ट स्थित विलियम हार्भी अस्पतालमा उपचार भइरहेको नेकपाका केन्द्रीय सदस्य तथा पञ्चायती कालमा उहाँका सहयात्री अजम्बर काम्बाङले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभएको छ । इजमको आइसियुमा उपचार भइरहेको बताइएको छ ।

बेलायतमा हालसम्म कोरोनाबाट संक्रमितको संख्या १ लाख पुग्न लागेको छ भने १२ हजार बढिको मृत्यु भएको छ । त्यहाँ रहेका नेपालीहरु पनि ८ जनाले ज्यान गुमाएका छन् ।

कालजयी गीतका रचनाकार इजमको स्वास्थ्यलाभको कामना उहाँका सहयात्री र सुभचिन्तकहरुले गरेका छन् । उहाँले रचना गरेको, शिव सुब्बाले संगीत भरेको र किशोर थुलुङको स्वर रहेको गीत अहिले पनि लोकप्रिय छ ।

खोकु छिन्ताङ दुख्यो कि अरुण सुसाउँदा
मन सबको रुन्छ कि दुस्ख बिसाउँदा ।

अन्धकारमा बन्दुकहरू पड्किएको बेला
छातीभरि संगीनहरू गाडिएका बेला
धनकुटाको छाती दुख्यो चाल पायौं कि
अन्यायको विरोध गर्ने कसम खायौं कि ।
खोकु छिन्ताङ दुख्यो कि….

बसन्तका पालुवामा सहिदहरू फुल्छन्
सल्लेरीको सुसाइमा हावा भई डुल्छन्
धनकुटाले आफ्नो घाउ सम्झी राख्नु पर्छ
नसाभित्र तातो रगत बहाई राख्नु पर्छ ।
खोकु छिन्ताङ दुख्यो कि…..

बुधबार, ०३ बैशाख, २०७७, रातीको ०९:१९ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर