प्रदेशको योजना र बजेट तर्जुमा दिग्दर्शन सार्वजनिक

दिग्दर्शनको जगमा टेकेर बजेट बन्छः मुख्यमन्त्री/ गोजी र पहुँचको भरमा योजना पर्ने र पार्ने परम्परा अन्त्यः आर्थिक मामिलामन्त्री

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री माग र सम्भावनाका आधारमा पारदर्शी ढंगले आगामी बजेट निर्माण गरिने बताउनुभएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले बुधबार मुख्यमन्त्री कार्यालयमा आयोजना गरेको प्रदेशस्तरीय योजना र बजेट तथा कार्यक्रम तर्जुमा दिग्दर्शन सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री राईले सन्तुलित दिशानिर्देशसहित दिग्दर्शन आएको बताउनुभयो ।

प्रदेश सरकारहरुमा यस्तो दिग्दर्शन निर्माण भएको यो नै पहिलो भएको चर्चा गर्दै मुख्यमन्त्री राईले अबको बजेट परम्परागत नभई निर्दिष्ट लक्ष्यको साथ मापदण्डभित्र रहेर आउने उल्लेख गर्नुभयो । प्रदेश सरकारले बनाएको आधारपत्र, आवधिक योजना र अहिलेको दिग्दर्शनको जगमा टेकेर बजेट बन्ने उहाँको भनाई छ ।

दिग्दर्शन सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले नेपालमै पहिलोपटक आधारपत्र र आवधिक योजनाको जगमा महत्वपूर्ण दस्तावेजको रुपमा दिग्दर्शन आएको बताउनुभयो । अब गोजी र पहुँचको भरमा योजना पर्ने र पार्ने पुरानो परम्पराको अन्त्य हुने उहाँको विश्वास थियो ।

‘अबको बजेट सन्तुलित हुन्छ, पहुँचको आधारमा व्यक्तिको जोडमा जान्छ भन्ने हल्ला पनि यो आए सँगै अन्त्य हुन्छ,’ मन्त्री आङ्बोले भन्नुभयो ‘यसले गरिव र धनी सबैलाई समेट्ने बजेट बनाउने आधार तय गर्छ ।’ दिग्दर्शनले प्रदेशको वार्षिक योजना तर्जुमा प्रक्रियालाई सहभागितामुलक बनाउन मद्दत पुग्ने उहाँको भनाइ थियो ।

प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले अलमल नगरी योजना छनोट गर्न र बजेट निर्माण गर्न दिग्दर्शनले स्पष्ट दिशा दिएको बताउनुभयो । उहाँले अबको बजेट छरिएको नभई एकिकृत बनाउनुपर्ने र त्यसका लागि प्रदेश सरकारले कठोर निर्णय गर्नुपर्ने बताउनुभयो ।

कोरोना भाइरसले सम्पूर्ण विकास योजना अवरुद्ध गरिरहेको बेला सरकारले सामाजिक दुरीलाई कायम गर्दै कार्यक्रम गरेको थियो ।

बुधबार, ०३ बैशाख, २०७७, साँझको ०६:१० बजे

प्रतिक्रिया

  1. अवकाे वजेट समानुपातिक, समावेशी र पारदर्शिता हुन्छ ।दिगाे विकासमा टेवा पुग्छ भन्ने लागेकाे छ ।

प्रतिक्रिया:

सम्बन्धित खवर