महेन्द्र मोरङमा नेविसंघको प्रारम्भीक अग्रता

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको प्रारम्भीक मत परिणाम आएको छ । हालसम्म प्रकाशित मत परिणाममा समानुपातिक र प्रत्यक्षतर्फ नै काँग्रेस निकट नेविसंघले अग्रता लिएको छ ।

समानुपातिक तर्फ नेविसंघको ६१२ मत हुँदा एमाले निकट अनेरास्ववियुको ३६३ र माओवादी निकट अखिल क्रान्तिकारीको ३०७ मत भएको छ । यस्तै समाजवादी विद्यार्थी युनियनको ७१, अनेरास्ववियूको ७४, विद्यार्थी जनमत संघकोे ६० र लोकतान्त्रिक विद्यार्थी संघको २० मत आएको छ । हालसम्म समानुपातिक तर्फ १ हजार ५०७ मत गणना भएको छ । उक्त क्याम्पसमा ३ हजार १ सयबढी मतदान भएको छ ।

यस्तै प्रत्यक्षतर्फ सभापतिका उम्मेद्वार नेविसंघका जसवन्त पौडेलले १७४ मत ल्याएर अग्रस्थान कायम गरेका छन् । अखिल क्रान्तिकारीका रोहित यादव (विकास) ८६ मतका साथ दोस्रो स्थानमा रहेका छन् भने एमाले निकट अनेरास्ववियुका नविन पहाडी (पोखरेल) ६३ मतका साथ तेस्रो स्थानमा छन् ।

सचिवको उम्मेद्वारमा अनेरास्ववियु (एमाले)का सनिम ठकुरीले १०३, अखिल क्रान्तिकारीकी आशिका लम्सालले ५४, अनेरास्ववियूका निर्मल भण्डारीले ५४, नेविसंघकी पूजा विश्वासले ६५, लोकतान्त्रिक विधार्थी संघका पेशल यादवले ३० र विद्यार्थी जनमत संघका सरोज साहुले ११ मत ल्याएका छन् ।

कोषाध्यक्षमा भने नेपाल विधार्थी संघका स्वस्तिक बोहराले १३१, अनेरास्ववियु (एमाले)का आरोग्य थापाले ८१, समाजवादी विधार्थी युनियनका राकेश कुमार यादवले ८०, अनेरास्ववियूका रोहित गौतमले १४ र विद्यार्थी जनमत संघकी अनिशा कुमारी मोचीले १५ मत पाएका छन् । मतगणना जारी छ ।

सोमबार, ०६ चैत, २०७९, साँझको ०६:५६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर