सङ्क्रमितको सम्पर्कमा रहेका ५२ जना क्वारेन्टाइनमा

कैलाली । कैलालीको लम्कीचुहा नगरपालिका–१ की एक महिलामा सोमबार कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएपछि ती महिलासँग सम्पर्कमा रहेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

सङ्क्रमित महिलाका परिवार २१ र ती महिलासँग सम्पर्कमा रहेका लम्कीचुहा नगरपालिकाका विभिन्न वडाका ३१ गरी कूल ५२ जनालाई क्वारेन्टाइनमा राखिएको हो । सङ्क्रमित महिला क्वारेन्टाइनबाट घर फर्किएपछि कोरोना पोजेटिभ भएको रिपोर्ट आएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार ५२ जनालाई लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको छ । कोरोना पुष्टि भएकी ती महिलासँगै वीरगञ्जबाट २६ जना कैलाली आएको उहाँको भनाइ छ । सङ्क्रमितको सम्पर्कमा रहेका अन्य व्यक्तिको पनि खोजी भर्ईरहेको प्रहरीको भनाइ छ ।

सङ्क्रमित महिलासँग दाङ, सुर्खेत, अर्घाखाँची, दैलेखका गरी ८ जनाको पनि पहिचान भइसकेको र उनीहरुलाई सम्बन्धित जिल्लाको क्वारेन्टाइनमा राखिने प्रहरी नायब उपरीक्षक बस्नेतले बताउनुभयो । वीरगञ्जबाट कैलाली पुगेका २६ मध्ये २१ जना सङ्क्रमित महिलाको आफन्त रहेको उहाँले जानकारी दिनुभयो ।

कैलालीमा सङ्क्रमित महिला भेटिएसंगै सुदूरपश्चिममा सङ्क्रमितको सङ्ख्या ५ पुगेको छ । ती सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।

मङ्गलबार, ०२ बैशाख, २०७७, साँझको ०६:४७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर