विराटनगर । विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर(बीकेभीएम)ले उच्च शिक्षाका लागि पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल १५ जना विद्यार्थीलाई सम्मान गरेको छ ।
शुक्रवार विद्यालय परिसरमा आयोजित सम्मान कार्यक्रम विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र विद्यालयका प्रिन्सिपल रोविन दाहालले विद्यार्थीलाई सम्मान गरेका थिए । कार्यक्रममा मेयर कोइरालाले महानगर शैक्षिक हब बन्दै गइरहेको अवस्थामा बीकेभीएमको पढाई र विद्यार्थीको प्रयासले सबैलाई गौरवान्वित बनाउँदै लगेको बताए। मेयर कोइरालाले महानगर शैक्षिक हबका रूपमा स्थापित भइरहँदा निजी क्षेत्रका विद्यालयको पठनपाठन र शिक्षकको पढाउने शैलीले नयाँपन दिएको बताए ।
प्रदेशकै पुरानो र प्रतिष्ठान विद्यालयका रूपमा रहेको बीकेभिएमले प्रत्येक वर्ष शैक्षिक क्षेत्रमा सुखद योगदान दिने गरेको मेयर कोइरालाले बताए । बीकेभिएममा अध्ययनको वातावरण अन्यभन्दा पृथक् रहेको बताएका मेयर कोइरालाले आउँदो दिनमा विद्यालयले अझ उत्कृष्ट विद्यार्थी र नतिजा ल्याउन सफल हुने विश्वास लिएको बताए ।
कार्यक्रममा विद्यालयका प्रिन्सिपल रोविन दाहालले चिकित्सा क्षेत्रतर्फ एमबिबिएसमा ८, बीडिएसमा १, र इन्जिनियरिङतर्फ ६ जना विद्यार्थीलाई सम्मान गर्न पाउनु सुखद क्षण भएको बताए। नर्सरीदेखि कक्षा १२ सम्म अध्ययन हुने विद्यालयलाई २०७३ सालमा मुलुकभरमा उत्कृष्ट विद्यालयका रूपमा शिक्षा मन्त्रालयद्वारा पुरस्कृत भएको उनले बताए। विद्यार्थीलाई अनुकूल हुने शैक्षिक वातावरणसँगै गुणस्तरीय शिक्षा प्रदानमा विद्यालय अग्रस्थानमा रहेको प्रिन्सिपल दाहालले प्रस्टाए। विद्यार्थीलाई सम्मान गर्दै प्रिन्सिपल दाहालले अध्ययनरत विद्यार्थीलाई राम्रो नतिजाका लागि मेहनत गर्नुपर्नेमा जोड दिए ।
गत वर्षबाट कक्षा ११ र १२ को सुरुआत गरेको विद्यालयको दोस्रो ब्याज अन्तर्गत १५ जना विद्यार्थीले चिकित्सा क्षेत्रदेखि इन्जिनियरिङसम्म पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका हुन् । यस क्रममा चिकित्सा क्षेत्रतर्फ एमबिबिएसमा परेन यादव, आदित्य शर्मा, आयाम कट्टेल, रोहन प्रसाईँ, मनिष गुप्ता, प्रजिल थापा, रुपेन कामत, र आयुष गौतम रहेका छन् । यसमा यादवले पहिलो स्थानमा नाम निकालेका हुन् । त्यसैसरि, शर्मा दोस्रो, कट्टेल तेस्रो, पर्साइला चौथो, गुप्ता पाँचौँ, थापा छैठो, कामत सातौँ र गौतम आठौँ स्थानमा रहेका छन् ।
त्यसैसरि, विडिएसतर्फ तोषल विक्रम शाह, इन्जिनियरिङमा उत्सव राज श्रेष्ठ, अभिनव कर्ण, युनेश पोखरेल, सार्थक पोख्रेल, पंकजकुमार मेहता, प्रचितकुमार भुजेल रहेका छन् ।गत वर्षबाट ११ र १२ कक्षा सुरु गरेको विद्यालयले पहिलो ब्याचमा एमबिबिएसमा ३ जना, र इन्जिनियरिङतर्फ ७ जनाले छात्रवृत्तिमा नाम निकालेको विद्यालयले जनाएको छ । विद्यालयबाट २०६५ सालमा राकेश गिरी २०६८ सालमा अरुण कालिकोटे एसएलसीमा बोर्ड फस्ट नतिजा ल्याउन सफल भएका थिए । २०४० सालमा स्थापित विद्यालय ५ पटक एसएलसीमा पूर्वाञ्चलको उत्कृष्ट विद्यालयको रूपमा सम्मानित भइसकेको छ।