स्ववियु निर्वाचन : एमाले अखिललाई दीर्घ ‘यू’को पिरलो

विराटनगर । चैत ५ गते हुन गइरहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा एमाले निकट अनेरास्ववियु र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूको नाम उस्तै देखिँदा विवाद भएको छ ।

मोरङको सुकुना बहुमुखी क्याम्पसमा यो विवाद अहिलेसम्म यथावत छ । महेन्द्र मोरङ क्याम्पसमा भने विवाद समाधान भएको छ । एमाले निकट अनेरास्ववियुले आफ्नो नामको पछाडि एमाले लेख्न पाउने सहमति भएसँगै महेन्द्र मोरङमा विवाद समाधान भएको हो ।

सुकुना बहुमुखी क्याम्पसमा भने निर्वाचन आयोगले नै एमाले उल्लेख गर्न नमानेको एमाले अखिलको दाबी छ । महेन्द्र मोरङ क्याम्पसमा भने एमाले उल्लेख गरेर नामावली प्रकाशित भएको थियो । ‘उस्तै उस्तै विद्यार्थी संगठनको नाम भएमा आवश्यक सहमतिमा विशेष संकेत प्रयोग गर्न पाउने निर्वाचन निर्देशिकामै उल्लेख छ,’ एमाले अखिलका नेता भाष्कर खनालले भने, ‘त्यसो हुँदा हामीले संगठन दर्ताकै क्रममा अनेरास्ववियु लेखेर पुच्छरमा एमाले कोड गर्न चाहेका थियौं । हामीलाई एमाले लेख्न नदिने भनेपछि सुकुना क्याम्पसमा समस्या सिर्जना भएको छ ।’

सुकुना बहुमुखी क्याम्पसमा भने स्ववियु निर्वाचनको बेलामा विद्यार्थीका संगठनहरू छुट्टा–छुट्टै दर्ता भएका थिए । त्यहाँ काँग्रेस, माओवादी, नेकपा (एस) निकट विद्यार्थी संगठनबीच गठबन्धन भएको छ । सोही गठबन्धनका आधारमा निर्वाचन आयोगले उम्मेद्वारको अन्तिम नामावली घोषणा गर्ने समयमा बाम लोकतान्त्रिक गठबन्धन भनेर नामावली प्रकाशन गरेपछि विवाद देखिएको छ ।

‘संगठन दर्ता भइसक्नु भन्दा अगाडि त्यसरी बाम लोकतान्त्रिक भनेर दर्ता गरेको थियो भने हामीले भन्नु केही थिएन । दर्ता नै नभएको बाम लोकतान्त्रिक गठबन्धन भनेर अहिले भन्नु स्ववियु निर्वाचन निर्देशिका विरुद्धमा छ,’ खनालले भने, ‘हामीले उठाएका कुरा सच्याएर मात्रै निर्वाचन हुनसक्छ ।’ सुकुना क्याम्पसमा त्यही दुइवटा विवादका कारण एमाले अखिलले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।

सुकुना बहुमुखी क्याम्पसका स्ववियु सभापतिका उम्मेद्वारसमेत रहेका दीर्घ अनेरास्ववियूका नेता सन्तोष लिम्बूले एमाले अखिलले विभिन्न बाहना गरेर निर्वाचन हुन नदिने षड्यन्त्र गरेको बताए । ‘उहाँहरुलाई हामीले नामको पछाडि एमाले लेख्न पनि सहमति दिएका छौं,’ लिम्बूले भने, ‘तर, कहिले के कहिले के भनेर यहाँ चुनाव हार्ने देखेर अखिलले तालाबन्दी र विवाद निकालेको हो ।’ आफूहरुले केन्द्रको निर्देशन र सहमति बमोजिम नै उम्मेद्वारी दर्ता तथा गठबन्धन गरेको कारण ‘गठबन्धन’ उल्लेख गर्न पाउने पनि लिम्बूले दाबी गरे ।

एमाले अखिलका नेता खनालले भने एउटै जस्तो नाम देखिने र अनेरास्ववियुको ह्रस्व यु र दीर्घ यू मात्रै हुँदा विद्यार्थीहरुले सही ठाउँमा मतदान नगर्ने दाबी गर्छन् । ‘अनेरास्ववियु मात्रै राख्दा अर्को संगठनको पनि त्यही नाम छ, उम्मेद्वार नचिन्ने तर संगठन चिन्नेहरु पनि यो नामले कन्फ्युज हुने भए,’ खनालले भने, ‘समानुपातिकतर्फ त झनै डामाडोल हुने अवस्था देखियो, त्यसकारण निर्वाचन निर्देशिका अनुसार हामीले अनेरास्ववियुको पछाडि एमाले राख्नुपर्छ भनेका छौं ।’

स्ववियु निर्वाचन निर्देशिकाको दफा ७ को उम्मेद्वार मनोनयन सम्बन्धी व्यवस्था उल्लेख छ । उक्त दफाको उपदफा ३ मा निर्वाचन अधिकृतले साङ्केतीकरण गर्नसक्ने उल्लेख छ । ‘छुट्टाछुट्टै संगठन दर्ता भएकोले पनि उम्मेद्वारी दिँदा संयुक्त प्यानलको नाममा उम्मेद्वारी दिन पाउने छन् । एउटै नाम भएका सङ्गठनहरु भएमा त्यस्ता संगठनका आधिकारिक अध्यक्ष÷सभापति÷प्रमुखहरुसँग छलफल गरी त्यस्ता संगठनको पहिचान दिन अध्यक्षको समूह वा पार्टीको भातृ संगठन भएमा संगठनको पहिचानका लागि पार्टीको सङ्केतीकरण निर्वाचन अधिकृतले गर्न सक्नेछन्,’ निर्देशिकामा उल्लेख छ ।

महेन्द्र मोरङ क्याम्पसमा एमाले अखिल, काँग्रेस निकट नेविसंघ, माओवादी निकट अखिल (क्रान्तिकारी)लगायतले छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचनमा प्रतिस्पर्धा गर्दैछन् ।

नर्सिङ क्याम्पसमा विवाद

यसैबीच विराटनगरस्थित नर्सिङ क्याम्पसमा पनि एमाले अखिल र नेविसंघबीच विवाद देखिएको छ । नेविसंघले विद्यार्थीलाई संगठन छान्न पाउने अधिकारबाट वञ्चित गरिएको भन्दै आपत्ती जनाएको छ ।

क्याम्पसमा विभिन्न विद्यार्थी संगठनहरु स्ववियु निर्वाचनको प्रतिस्पर्धामा छन् । तर, क्याम्पस प्रशासनले व्यक्तिगत रुपमा विद्यार्थीहरुलाई कुनै पनि संगठनको पक्षमा नखुल्न भन्दै दबाब दिएपछि विद्यार्थी सन्त्रासमा परेको नेविसंघले जनाएको छ ।

संघका मोरङ जिल्ला अध्यक्ष सरोज पोखरेलले विद्यार्थी संगठनमा समावेश नहुनु भन्दै विद्यार्थीलाई व्यक्तिगत रुपमा सम्पर्क गरेर क्याम्पस प्रमुखले नै धम्क्याएको बताए । ‘क्याम्पस प्रमुखदेखि कर्मचारीहरुसम्मले विद्यार्थीलाई संगठनमा नखुल्न भनेर धाक धम्की दिएको भन्ने विद्यार्थीहरुले गुनासो गरेका छन्, यस विषयमा हामीले प्रशासनलाई सचेत गराएका छौं,’ पोखरेलले भने ।

नेविसंघका अध्यक्ष पोखरेलले खासगरी नेपाल विद्यार्थी संघ पक्षधर विद्यार्थीलाई क्याम्पस प्रमुखसहितका कर्मचारीले मानसिक तनाव दिएको सुनाए । यसअघि संघले विज्ञप्ति प्रकासित गरी विद्यार्थीलाई स्वतन्त्र रुपमा संगठन छान्न पाउने अधिकार कुण्ठित नगर्न भन्दै क्याम्पस प्रशासनलाई सचेत गराएको थियो ।

बुधबार, ०१ चैत, २०७९, रातीको ०८:०९ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर