विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनाव नजिकिएसँगै विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा सबैको ध्यान केन्द्रित छ । चैत ५ गते हुने स्ववियुको चुनावका कारण क्याम्पस परिसरमा हिंजोआज बिहानैदेखि विद्यार्थीको आउजाउ बढेको छ ।
महेन्द्र मोरङ क्याम्पस कोशी प्रदेशको सबैभन्दा ठूलो क्याम्पस हो । यहाँ विद्यार्थी संख्या, राजनीतिक प्रभाव जस्ता कारणले स्ववियु चुनावलाई राजनीतिक दल र विद्यार्थी संगठनले प्रतिष्ठाको विषय बनाउने गरेका छन् । सानातिना क्याम्पस जति जिते पनि महेन्द्र मोरङमा आफ्नो जित निकाल्न ठूला विद्यार्थी संगठन कम्मर कसेर लागेका छन् ।
विगतमा यहाँको स्ववियु जित्नेहरु केन्द्रीय राजनीतिमा स्थापित भएकाले यहाँको स्ववियुको महत्व झनै बढेको छ । महेन्द्र्र मोरङमा २०६५ सालसम्म नेविसंघले चार पटक, एमालेनिकट अनेरास्ववियुले तीन पटक र माओवादी निकट अखिल (क्रान्तिकारी)ले एक पटक सभापतिमा जित निकालेका छन् ।
१४ वर्षपछि हुन लागेको चुनावमा एमाले, कांग्रेस र माओवादी केन्द्रको विद्यार्थी संगठनबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यद्यपि अनेरास्ववियु र नेविसंघमा आन्तरिक विवाद तीब्र रहेको त्यहाँका विद्यार्थीहरु बताउँछन् ।
स्ववियु सभापति पदमा ३ जनाको उम्मेद्वारी परेको छ । प्रमुख तीन दलका विद्यार्थी संगठन एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिएका छन् । नेविसंघले अध्यक्षमा जसवन्त पौडेल र सचिवमा पूजा विश्वकर्मालाई उम्मेदवार बनाएको छ । अनेरास्ववियुले अध्यक्षमा नविन पहाडी र सचिवमा सनिम ठकुरीलाई उम्मेदवार बनाएको छ । अखिल (क्रान्तिकारी)ले अध्यक्षमा रोहित यादव र सचिवमा आशिका लम्साललाई उठाएको छ । अखिल (क्रान्तिकारी)का अध्यक्षलाई जसपाको विद्यार्थी संगठनले पनि समर्थन गरेको छ । अखिल (क्रान्तिकारी)बाट सचिवको उम्मेदवार दिएकी लम्साल पत्रकारितामा स्नातक गरिरहेकी छन् । उनी अखिल (क्रान्तिकारी) महेन्द्र मोरङ क्याम्पस कमिटीको अध्यक्ष पनि हुन् ।
२०६५ सालमा भएको स्ववियू निर्वाचनमा महेन्द्र मोरङमा अखिल (क्रान्तिकारी)का तत्कालिन उम्मेद्वार जयराम सुन्दास विजयी भएका थिए । १४ वर्षपछि हुन लागेको निर्वाचनमा पनि आफ्नो यसअघिको विरासत जोगाउने क्रान्तिकारीको दाबी छ । निर्वाचनमा उक्त कलेजमा ५ हजार ७ सय ९० जना विद्यार्थी मतदाता रहेका छन् ।
अखिल क्रान्तिकारी ढुक्क
माओवादीनिकट अखिल (क्रान्तिकारी)ले स्ववियु निर्वाचनमा रोहित यादव (विकास)को नेतृत्वमा प्यानल बनाएर चुनावी मैदानमा छन् । हाल बिबिएस प्रथम वर्षमा अध्ययनरत यादवले महेन्द्र मोरङ क्याम्पसको शैक्षिक गुणस्तर सुधारदेखि लिएर विद्यार्थीहरूलाई सहज रूपमा अध्ययन हुने व्यवस्था लागू गर्न लागि काम गर्ने बताए ।
अखिल (क्रान्तिकारी)ले अन्य विद्यार्थी संगठनमा देखिएको विवाद र आफ्नो संगठनको एकता नै जितको आधार रहेको दाबी गरेको छ । क्रान्तिकारीले डिजिटल लाइब्रेरी, महेन्द्र मोरङ क्याम्पस बन्दरहित सम्मानित क्षेत्र, हरियाली क्याम्पस परिसरलगायतको नारा दिएको छ । क्रान्तिकारीले जसपा निकट विद्यार्थी संगठन र सिके राउत नेतृत्वको जनमत पार्टी निकट विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ ।
क्रान्तिकारीले संगठन एकढिक्का रहेकाले आफूहरुले नै जित्ने दाबी गरेको छ । यादव भन्छन्, ‘संगठन एक ढिक्का छ । पार्टीको केन्द्रीय कमिटीदेखि लिएर, पार्टीगत लाइन संगठन सबैले ब्याकफोर्सको रुपमा काम गरिरहेकोले हामी जित्छौं ।’ मुख्य प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघ र अनेरास्ववियुभित्र चर्केको विवादलाई पनि अखिल (क्रान्तिकारी)ले आफ्नो जितका लागि लाभदायक देखेको छ ।
नेविसंघभित्र समस्या
नेपाल विद्यार्थी संघ (नेविसंघ)भित्र दुई वटा समूह छ । संस्थापन पक्ष र इतर समूह । स्ववियुको अध्यक्षमा संस्थापन पक्षबाट नेविसंघले अध्यक्षमा जसवन्त पौडेललाई उम्मेदवारी बनाएको छ । पौडेललाई अध्यक्षको टिकट दिएपछि इतर समूहका योगराज दाहल पक्ष रुष्ट छ । उम्मेदवारी चयन प्रक्रियाप्रति सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाएका दाहालले निर्वाचनमा भने त्यसले असर नगर्ने दावी गरे । उनी क्याम्पसमा नेविसंघको नेतृत्वले चुनाब जित्ने दावी गर्दै त्यसको लागि आफू खटिइरहेको बताए ।
नेविसंघबाट उम्मेदवारी दिएका पौडेल एमफिल तेस्रो सेमिस्टरमा अध्ययरत छन् । उनलाई उम्मेद्वार बनाएको असन्तुष्टि चुलिएपछि सो संगठनका केही व्यक्तिहरु एमाले अखिलमा प्रवेश समेत गरेका छन् ।
यद्यपि आफ्नो संगठनभित्रको विवादले चुनावमा असर नगर्ने नेविसंघका उम्मेदवार पौडेल बताउँछन् । नेविसंघबाट उम्मेदवार बनेका सबै जना योग्य र क्षमतावान भएकाले मतदाता विद्यार्थीमाझ राम्रो प्रभाव भएको उनको जिकिर छ । ‘हामी सबैजना क्वालिटी भएको उम्मेदवारको टिम छौं । त्यसैपनि महेन्द्र मोरङमा नेविसंघप्रतिको लोकप्रियता छँदैछ ।’
नेविसंघले परीक्षा र नीतिगत प्रणाली, संरचनागत सुधार, पाठ्यक्रम निर्माण लगायतका विषयमा सुधार गर्नुपर्ने विषय उठाएको छ । नियमित पढाइ हुनुपर्ने, छात्रावास संचालन गरिनुपर्नेलगायतका विषय नेविसंघले उठाएको छ ।
एमाले अनेरास्ववियुलाई अन्तर्घातको डर
नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुलाई सबैभन्दा डर विपक्षीसँग भन्दा पनि आफैंभित्र देखिएको छ । अनेरास्ववियुमा चरम गुटबन्दी छ । त्यसको असर महेन्द्र मोरङ क्याम्पसमा पनि देखा पर्ने एक अनेरास्ववियुका नेताले बताए । उनले भने, ‘हामीलाई आफ्नैबाट अन्तर्घातको डर छ ।’
विगतमा जस्तै महेन्द्र मोरङ क्याम्पसमा स्ववियु चुनावमा पनि अनेरास्ववियुको नै पहिलो शक्ति हुने अध्यक्षका उम्मेदवार नविन पहाडीले बताए । अनेरास्ववियुबाट अध्यक्षको उम्मेदवार पहाडिले बिबीएस र एमबीएसमा स्नातक सकेर अहिले जनप्रशासन फस्ट सेमिस्टरमा अध्ययनरत छन् । अध्यक्षका उम्मेदवार पहाडी भन्छन् ‘हामीले ठूला सपना बाँडेका छैनौं । विद्यार्थीले भोगिरहेको समस्या समाधान हुने र महेन्द्र्र मोरङ क्याम्पसको सुधारको मुख्य विषयलाई एजेन्डा बनाएका छौं ।’
क्याम्पसको जिर्ण रहेको भौतिक संरचनाहरु मर्मत गरी सुविधा सम्पन्न बनाउनुपर्ने उनले बताए । छात्रावास र यातातयाको व्यवस्था गरिनुपर्ने र छात्रा शौचालयमा भेन्टिमेसिनसहितको सेनेटरी प्याट अनिवार्य राखिनुपर्ने मुख्य चुनावी एजेन्डा रहेको उनले सुनाए ।
Kaele Pani manxe glat hudae n usko Sox nae glat Hun x 😁
Yo rajniti ho kati bela kasko Bhagya khul x tha xaen
Aaj voli t sun xu paesa ma desh bexin x re yo t xunab ho jiti halin x ni 😁😁
Mero vot aakhil krantkari lae ✊✊✊✊ ( Lal Salam )