विराटनगर । शैक्षिक गुणस्तर सुधार गर्दै विद्यार्थीहरुको प्रतिस्पर्धात्मक क्षमता र परस्पर मित्रताको भावना अभिवृद्धि गर्ने उद्देश्यले पोखरिया माध्यामिक विद्यालयले अन्तरविद्यालय हाजिरीजवाफ कार्यक्रम आयोजना गरेको छ ।
विराटनगर महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको सहयोगमा आइतबारबाट सुरु भएको प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु सहभागी छन् । प्रतियोगिता सोमबार सम्पन्न हुने छ ।
विराटनगरभित्र सञ्चालित आधारभूत र माध्यामिक तहका विद्यालयहरुमध्ये २८ वटा विद्यालयहरु प्रतियोगितामा सहभागी भएका छन् । सहभागी २८ विद्यालयलाई चार वटा समूहमा विभाजन गरेर पहिलो चरणमा प्रतियोगिता सञ्चालन गरिएको छ ।
प्रत्येक समूहका प्रथम दोश्रो र तेश्रो हुने विद्यालयहरुलाई दोश्रो चरणमा प्रवेश गराइ सेमीफाइनल राउण्ड संचालन गरिने र प्रत्येक सेमीफाइनलबाट ४÷४ विद्यालय छनोट गरी फाइनल राउण्ड संचालन गरिने छ । प्रतियोगितामा प्रथम हुने विद्यालयले १५ हजार, दोश्रो हुनेले १२ हजार, तेश्रो हुनेले ९ हजार तथा सान्त्वना ६ हजार रुपैयाँ नगद तथा शिल्ड प्राप्त गर्ने प्रअ खेमराज भट्टराइले बताए ।
स्थानीय दाहाल प्रतिष्ठानको सामुदायिक भवनमा आयोजना गरिएको प्रतियोगिताको उद्घाटन सामाजिक विकास मन्त्रालय शैक्षिक योजना तथा अनुसन्धान महाशाखाका प्रमुख कृष्णप्रसाद पोखरेलले गरेका थिए भने प्रधानाध्यापक खेमराज भट्टराईले कार्यक्रमको उद्देश्यमा प्रकाश पारेका थिए ।