मोरङ स्ववियु निर्वाचन : कहाँ कहाँ कसको गठबन्धन ?

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि आज मोरङका अधिकांश त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक क्याम्पसहरुमा मनोनयन दर्ता भएका छन् ।

प्राप्त जानकारी अनुसार एमाले निकट अनेरास्ववियुको नेतृत्वमा मोरङको उर्लाबारी बहुमुखी क्याप्पसमा काँग्रेस निकट नेविसंघ बाहेकको गठबन्धन बनेको छ । त्यहाँ अखिल क्रान्तिकारीले सचिव र सदस्य लिएर एमाले अखिललाई सघाउने भएको हो । यस्तै पूर्वाञ्चलकै सबैभन्दा ठूलो क्याम्पसको रुपमा परिचित महेन्द्र मोरङ क्याम्पसमा भने नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले छुट्टा–छुट्टै मनोनयन गर्दा गराएका छन् ।

अखिल क्रान्तिकारीले भने जसपाको विद्यार्थी संगठनलगायत केही साना विद्यार्थी संगठनसँग गठबन्धन गरेको छ । क्रान्तिकारीले अध्यक्ष र सचिव लिएको छ भने कोषाध्यक्ष र केही सदस्य जसपा निकट विद्यार्थी संगठनलाई दिइएको क्रान्तिकारी मोरङका इन्चार्ज टेकेन्द्र क्षेत्रीले जानकारी दिए ।

यस्तै मोरङको पथरी क्याम्पसमा नेविसंघले अध्यक्ष र सचिव लिएर क्रान्तिकारी विद्यार्थी संगठनलाई कोषाध्यक्ष दिइएको छ । यस्तै कानेपोखरीस्थित रमाइलो बहुमुखी क्याम्पसमा भने क्रान्तिकारीको नेतृत्वमा नेविसंघले सचिव र कोषाध्यक्ष लिने सहमति भएको छ ।

उता, मोरङको चर्चित क्याम्पसको रुपमा परिचित सुकुना बहुमुखी क्याम्पसमा भने नेकपा (एस) निकट अनेरास्ववियूले अध्यक्ष, नेविसंघले सचिव र अखिल (क्रान्तिकारी)ले कोषाध्यक्ष लिने गरी गठबन्धन भएको छ ।

यस्तै लेटाङ क्यापसमा र विराटनगरस्थित नर्सिङ क्याम्पसको स्ववियु सभापतिमा नेविसंघले लिने गरी सहमति भएको छ । केराबारीमा खदम क्याम्पसमा भने अखिल क्रान्तिकारीको अध्यक्षतामा नेविसंघले सचिव लिएर सहमति भएको बताइएको छ । यद्यपि सो क्याम्पसमा मनोनयन भने आइतबार हुनेछ । यस्तै विराटनगरमा रहेको डिग्रि क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारी र सचिव तथा कोषाध्यक्षमा नेविसंघ रहने गरी सहमति भएको छ । उर्लाबारी क्याम्पसमा बाहेक मोरङमा स्ववियु हुने सबै क्याम्पसमा एमाले निकट अनेरास्ववियु भने सिंगल चुनावमा जाने भएको छ ।

महेन्द्र मोरङमा सभापतिका चार उम्मेद्वार

विराटनगरस्थित महेन्द्र मोरङ क्याम्सको स्ववियु निर्वाचनमा ४ जनाले सभापतिमा उम्मेद्वारी दिएका छन् । उम्मेद्वारी दिनेहरूमा काँग्रेस निकट नेपाल विद्यार्थी संघबाट जसवन्त पौडेल, एमाले अखिलबाट नविन पहाडी, माओवादी निकट अखिल क्रान्तिकारीबाट रोहितकुमार यादव र समाजवादी विद्यार्थी संगठनबाट राकेशकुमार यादव रहेका छन् ।

यस्तै नेविसंघले सचिवमा पुजा विश्वास, कोषाध्यक्षमा स्वस्तीक बोहरा, एमाले अखिलले सचिवमा सनिम ठकुरी र कोषाध्यक्षमा आरोग्य थापा तथा अखिल क्रान्तिकारीले सचिवमा आशिका लम्साललाई उम्मेद्वार बनाएको छ । स्ववियु चुनावका लागि महेन्द्र मोरङ क्याम्पसमा १० वटा संगठन दर्ता भएका थिए ।

 

शनिबार, २७ फागुन, २०७९, साँझको ०७:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर