धरान । सुनसरीको धरानमा २०५५ सालमा बुढासुब्बा गोल्डकपको पहिलो शुरुवात गरेको धरान फुटबल क्लबले गोल्डकपको २३ औं संस्करणको तयारी तीव्र बनाएको छ ।
काठमाडौँ उपत्यका बाहिरको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय गोल्डकप बुढासुब्बा फुटबलले दुई वर्षपछि निरन्तरता पाउने भएको हो । धरान उपमहानगरपालिकाको संयोजक रहेकाले पनि बुढासुब्बा फुटबलको निरन्तरता हुने भएको छ । २३ औँ गोल्डकप फागुन १३ देखि २० गतेसम्म धरान रङ्गशालामा हुँदैछ ।
गोल्डकपका लागि आयोजक धरान फुटबल क्लबले तयारी तीव्र पारेको छ । मैदानमा पानी हालेर हरियो बनाउने, मैदान वरपर सरसफाइ तथा प्याराफिट मर्मत कार्य अहिले धमाधम भइरहेको छ ।
यसपालि गोल्डकप आयोजनामा कूल ८५ लाख रुपया खर्च हुने अनुमान गरिएको छ । गोल्डकपको विजेताले नगद १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
प्रतियोगितामा बङ्गलादेशको केवीपीएस क्लब, भारतको खर्साङको युके एफसी, एभिनर एफसी क्यामरुन, नेपाल पुलिस क्लब, वाग्मती युवा क्लब, मोरङ ११ र आयोजक गरी आठ टिमको सहभागिता हुने भएको छ ।