काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ ।
‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आआफ्नो ठाँउबाट भूमिका खेल्नु जरुरी छ,’ सोमबार ट्वीट गर्दै श्रेष्ठले भन्नुभएको छ, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड–१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु।’
उहाँले सांसद नभएका बेला पनि घरखर्च पार्टीले दिँदै आएकोसमेत उल्लेख गर्नुभएको छ । ‘यसअघि वर्षौं सांसद नहुँदा जसरी नै घर भाडा, गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो,’ उहाँले भन्नुभएको छ, ‘खानासहितको सामान्य खर्च दाजुभाइ र साथीहरुले।’
आफू घुष र भ्रष्टाचारको शत्रु भएको बताउँदै श्रेष्ठले ‘घुष र भ्रष्टाचारको शत्रु हुँ। दैनिक जीवन चलाउन त परको कुरा, निर्वाचनमा समेत ठूला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागू गर्दै आएको छु,’ उहाँले भन्नुभएको छ ।
श्रेष्ठले सांसद नहुँदा पनि आफ्नो जीवन चल्दै आएको र १ वर्षको पारिश्रमीक दिँदा पनि चल्ने उहाँले बताउनु भएको छ ।