राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

राष्ट्रपतिको निर्वाचन फागुन २५ मा

काठमाडौं । फागुन २५ बिहीवार राष्ट्रपतिको निर्वाचन हुने भएको छ । फागुन २५ बिहीवार राष्ट्रपति र चैत ३ गते शुक्रवार उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ ।

दुवै पदका लागि संघीय संसद् र प्रदेश सभाका सदस्य मतदाता रहनेछन् । विद्यमान कानूनी प्रावधानका कारण आयोगले प्रदेशगत आधारमा मतदान केन्द्र नसकिएको जनाएको छ ।

स्वीकृत निर्वाचन कार्यक्रमअनुसार राष्ट्रपतिको निर्वाचनका लागि फागुन १० गते बिहान १० बजेदेखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन गरिनेछ भने फागुन १३ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।

उपराष्ट्रपतिको निर्वाचनका लागि फागुन २७ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

नेपालको संविधानको धारा ६३ को उपधारा १ र धारा ६९ बमोजिम राष्ट्रपति तथा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले ५ वर्ष हुने संवैधानिक व्यवस्था छ ।

विक्रम संवत् २०७४ फागुन २९ गते भएको राष्ट्रपतिको निर्वाचनमा निर्वाचित वर्तमान राष्ट्रपतिको पदावधि २०७९ फागुन २८ गते समाप्त हुने भएको तथा २०७४ चैत ४ गते निर्विरोध निर्वाचित भएका वर्तमान उपराष्ट्रपतिको पदावधि २०७९ चैत ३ गते समाप्त हुने भएकाले सोअगावै निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिएको हो ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्