काठमाडौँ । कोरोना भाइरसका कारण नेपालसहित दक्षिण एसियाली मुलुकको अर्थतन्त्र ४० वर्षयताकै कमजोर हुने विश्वबैंकले आँकलन गरेको छ ।
बैंकको अर्धवार्षिक रुपमा सार्वजनिक गर्ने साउद एसिया इकोनमिक फोकस नामक प्रतिवेदनमा नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.५ देखि २.८ प्रतिशतमा सीमित रहने उल्लेख छ ।
सरकारले यस वर्ष ८.५ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। कोरोना प्रभावका कारण यो वृद्धि हासिल नहुने अर्थ मन्त्रालय आफैंले स्वीकारिसकेको छ। गत साता एसियाली विकास बैंक (एडीबी)ले सन् २०२० मा नेपालको अर्थतन्त्र ५.३ प्रतिशतले मात्रै बढ्ने आँकलन गरेको थियो।
विश्व बैंकको प्रतिवेदनले एडीबीले गरेको प्रक्षेपणभन्दा कम आर्थिक वृद्धिदर हासिल हुने अनुमान गरेको छ। लामो समयसम्म कोभिड–१९ को प्रभाव रहे आर्थिक वृद्धिदरमा थप कमी आउने विश्वबैंकको प्रक्षेपण छ।
कोरोना प्रभाव रहिरहे आगामी वर्ष सन् २०२१ मा पनि अर्थतन्त्र प्रभावित हुने र सन् २०२२ देखि सुधार देखिने विश्व बैंकको अनुमान छ। नेपालसहित दक्षिण एसियाका ८ वटै मुलुकको अर्थतन्त्र कोरोनाका कारण प्रभावित हुने विश्व बैंकको प्रतिवेदनमा जनाइएको छ।
सन् २०२० मा दक्षिण एसियाली मुलुकहरूको औसत आर्थिक वृद्धिदर १.८ देखि २.८ प्रतिशतमै सीमित हुनेछ । यो ६ महिनाअघि विश्व बैंकले गरेको प्रक्षेपणभन्दा निकै कम हो। विश्व बैंकले ६ महिनाअघि दक्षिण एसियाली मुलुकले सन् २०२० मा औसत ६.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने प्रक्षेपण गरेको थियो।
सन् २०२१ मा पनि दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ३.१ देखि ४ प्रतिशत मात्रै बढ्ने विश्व बैंकको अनुमान छ।
झण्डै एक अर्ब ८० करोड जनसंख्या बसोबास रहेका भारत, पाकिस्तान, बंगलादेश, अफगानिस्तान, नेपाल र अरु साना मुलुकहरुमा सापेक्षित रुपमा कोरोनाभाइरस संक्रमितको संख्या कमै देखिएको छ, तर विज्ञहरुको भनाईमा यो क्षेत्रमा संक्रमणको खतरा उच्च बिन्दुमा रहेको छ ।
वित्तीय वर्ष अप्रिल १ बाट शुरु हुने दक्षिण एसियाली क्षेत्रकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको भारतको चालू आर्थिक वर्षमा १।५ देखि २।८ प्रतिशत मात्र वृद्धि हुने अनुमान विश्व बैंकको छ । भारतमा भर्खरै समाप्त भएको आर्थिक वर्षमा ४।८ देखि ५।० प्रतिशतको आर्थिक वृद्धि भएको थियो ।
माल्दिभ्सको अर्थतन्त्र १३ प्रतिशतसम्म ऋणात्मक हुने भएको छ । अफगानिस्तान, श्रीलंका र पाकिस्तानको आर्थिक वृद्धिदरसमेत ऋणात्मक हुने अनुमान बैंकको छ ।
दक्षिण एसियामा पर्यटनमा आधारित मुलुकहरुको अर्थतन्त्र सबैभन्दा बढी धरासायी हुने विश्व बैंकले उल्लेख गरेको छ । रेमिट्यान्समा आउने कमी, व्यापार र पर्यटनमा परेको प्रभावले आर्थिक वृद्धिमा कमी आउनेछ । यस्तै औद्योगिक उत्पादन र त्यसको खपतमा आउने कमी आउने भएको छ ।
दक्षिण एसियाली क्षेत्रमा रहेको सामाजिक असमानताका कारण धनी र गरिब बीचको खाडल अझ बढी देखिने बैंकले उल्लेख गरेको छ । साथै, गरिबीको संख्यामा पनि उल्लेख्य वृद्धि हुने अनुमान गरिएको छ । कोभिड १९ ले खाद्य सुरक्षामा समेत उत्तिकै चूनौति पु¥याउने विश्व बैंकको भनाई रहेको छ ।
लकडाउन खुलेसँगै यस भेगका सरकारहरुले अर्थव्यवस्थालाई माथि उकास्न संयुक्र प्रयासको आवश्यकता समेत औंल्याइएको छ । लगानी आकर्षित गर्दै कोभिडले पारेको खाडल पुरा गर्न सरकारहरुले उचित नीति ल्याउनु पर्ने सुझाव समेत विश्व बैंकले दिएको छ ।