पुण्य पी अधिकारी
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सामुन्ने माघ १० गते आत्महत्या प्रयास गरेका इलाम सूर्योदय नगरपालिका–११ का प्रेमप्रसाद आचार्यको उपचारका क्रममा माघ ११ भएको मृत्युले सबैलाई स्तब्ध बनायो । उनको मरण स्वभाविक नभएर अस्वाभाविक भएका कारण आचार्यको मृत्युले राज्यव्यवस्था, शासन प्रणाली र सुशासनका कुरालाई चर्को गरी सतहमा ल्याएको छ ।
राज्य सञ्चालन गर्नेहरूले जनताका मुद्दालाई भन्दा आफ्ना सिमित स्वार्थपूर्तिका लागि सत्ताको दाउ खेल्ने परिपाटीलाई उदाङ्गो बनाएको छ । आचार्यको आत्मदाहले गम्भीर चुनौती खडा गरेको छ । जनताका मुद्दालाई भ¥याङ बनाएर सत्तामा पुग्ने त्यसपछि जनतालाई तुच्छ मान्ने शासकहरूको वास्तविकतालाई चित्रण गरेको छ । देशमा सुशासनभन्दा भ्रष्टाचार र दण्डहीनतालाई राज्य स्वयम्ले प्रोत्साहन गरेकोप्रति आचार्यको अस्वाभाविक मरणले प्रशस्त प्रश्न गरेको छ ।
देशमै केही गर्ने र राष्ट्रभक्तिलाई आफ्नो पहिचान ठान्ने आचार्यको मृत्युमा राज्यको हात रहेको देखिन्छ । उनले प्रधानमन्त्रीका सामुन्ने आत्मदाह प्रयास गर्नुअघि सामाजिक सञ्जालमा लेखेका हरेक कुराले नेपालीको चित्तलाई कोट्याएको छ । अझ एक शब्दमा भन्नुपर्दा राज्यप्रति नागरिकमा मायाभन्दा वितृष्णा बढी छ । नागरिकले धान्न नसक्ने गरी कर थोपर्ने र संकलन भएको कर विलासितामा उडाउने शासक, प्रशासक, कर्मचारीलाई आचार्यको मृत्युवरण सहज लाग्न सक्ला तर आम नेपालीलाई एउटा सचेत नागरिकको मृत्युले चोट पु¥याएको छ । हरेक नागरिकमा देशभक्ति भावभन्दा वितृष्णा भरिएको नमिठो सन्देश आचार्यको मृत्युवरण घटनाले राज्यलाई दिएको छ ।
परदेशमा दुःख गर्दा आफ्नो जीवन चल्ने देखेका आचार्यले गुलामीभन्दा स्वाभिमान र देशमै केही गर्ने आफ्नो सपना नै जीवनको सबैभन्दा ठूलो गल्ती भएको उल्लेख गरेका छन् । राज्य चलाउनेहरूले खुनपसिना गरेर तिरेको कर चलाउन नजान्दा एउटा सचेत नागरिकले मृत्युलाई रोज्नुपर्ने अवस्था भएको आचार्यको स्टाटसमा देखिन्छ ।
‘ऋण काढेर घ्यू खाने प्रणाली हामीले अँगालेका कारण देश दिनप्रतिदिन कङ्गाल बनेको छ ।’ नेता चित्रबहादुर केसीले पटकपटक दोहो¥याउने यो वाणीले हाम्रो राज्यव्यवस्था, शासन प्रणाली, राज्यकोषको दोहनलाई प्रष्ट पार्छ । वरिष्ठ होस् वा कनिष्ठ राज्यकोषको दोहनमा संलग्नहरूका कारण राज्य व्यवस्था निम्छरो बनेको छ । जसका कारण प्रेमप्रसाद जस्ता सचेत नागरिकले राज्यविरूद्ध निराशा पोख्न आफ्नै शरीरमा आगो झोस्नु परेको छ ।
मुलुकमा मौलाएको दण्डहीनता, आफ्नै उद्यम गर्न खोज्नेलाई राज्यका हरेक निकायले लगाउने अंकुश, कागजी झन्झट र तानाबाना पार गरेर केही गर्न खोज्नेलाई राज्यले सम्बोधन वा आर्थिक सहायता प्रदान गर्दैन । तर, फर्जी कागजात बनाएर माफियातन्त्र चलाउनेलाई संरक्षण गर्दछ । सर्प र बाख्रापाल्ने नाममा राज्यको करोडौँ रुपैयाँ आफ्नो स्वार्थमा सिध्याउनेलाई राज्यले कारबाही गर्न सक्दैन । तर, मकै पोलेर जीवन चलाउनेहरूलाई दुःख दिन्छ ।
आयात र निर्यातको अवस्था हेर्ने हो भने हरेक नेपाली आफूले सास मात्र फेर्छ । बाँकी सबै आयात गरिएका सामग्रीबाट आवरण छोपिरहेको छ । आफ्नै उद्यम गर्न चाहनेहरूलाई सरकारी बैंकले न्यून ब्याजदरमा ऋण उपलब्ध गराउन सक्दैन । तर, बैंकमा जागिर खाएकाहरूले मोलमोलाइ गर्दै माफियालाई ऋण दिने कर्मचारीलाई राज्य पुरस्कृत गर्दछ ।
अन्त्यमा प्रेमप्रसादको मृत्युवरणले आम नागरिकमा राज्यप्रति कति धेरै वितृष्णा छ भन्ने प्रष्ट पारेको छ । राज्यले सुशासन कायम गरी दण्डहीनताको अन्त्य गर्न नसक्दा राज्यप्रति नागरिकको विश्वास हराउँदै गरेको पुष्टि गर्दछ । प्रेमप्रसादले फेसबुकमा लेखेका यी शब्दको मूल्य अब शासकहरूले बुझ्नै पर्दछ – ‘प्रचण्ड तिमीले १७ हजार मार्ने गरी जनयुद्ध गरेऊ । देशमा गणतन्त्र, संघीयता र धर्म निरपेक्षता ल्याएऊ । संविधानमार्फत देशमा नयाँ संविधान जारी गरेऊ तर मजस्ता केही गर्छु भन्ने युवालाई देशमा केही गर्न नसक्ने बनायौँ । तिमीलाई थाहा छ ? यदि युरोप, अमेरिका, क्यानडा, अस्टे«लिया, जापानजस्ता देशहरुले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने छैन । तिम्रो देश खाली हुनेछ । अनि रित्तो देशको प्रधानमन्त्री बन्नु । र, ती १७ हजार सहिदलाई शासन गरेर बस्नु !’