प्रदेशसभाको १० प्रतिशत मात्र मन्त्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

प्रदेशसभाको १० प्रतिशत मात्र मन्त्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

विराटनगर। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेशहरुमा मन्त्रालयको संख्या प्रदेशसभा सदस्यको १० प्रतिशतभन्दा बढ्न नदिने बताएका छन् ।

संघीयता कार्यान्वयन अध्ययन तथा अनुगमन विशेष समितिको प्रतिवेदनमाथि राष्ट्रियसभामा आज भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले संघीयतामाथिको आलोचना कम गर्न प्रदेशको खर्च कटौती गर्ने र अधिकार प्रदान गर्नेगरि काम भइरहेको जानकारी दिए ।

प्रदेशमा ठूलो मन्त्रिपरिषद बनाउँदा संघीयता विरोधीहरुले प्रश्न उठाउने अवसर पाएको भन्दै प्रधानमन्त्रीले अहिले १० प्रतिशतभन्दा धेरै मन्त्री नबनाउने समझदारी सत्ता साझेदारबीच भएको बताए । संविघानमा प्रदेशसभा सदस्यको २० प्रतिशतसम्म मन्त्री बनाउनसक्ने व्यवस्था छ भएपनि १० प्रतिशतमै सीमित गर्दा राज्यको करोडौं रकम बचत हुने उनको भनाइ छ ।

मन्त्रालय घटाउने र प्रदेशलाई अधिकार सम्पन्न बनाउने ऐनहरु जारी गर्ने प्रतिबद्धता प्रधानमन्त्रीले जनाए । संसदीय समितिले प्रदेशसँगै संघमा मन्त्रीहरुको संख्या घटाउन सिफारिस गरेको छ ।

संघीयता कार्यान्वयन तथा अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदनमा संघमा मन्त्रालय संख्या १५ मा सीमित गर्न सिफारिस गरिएको छ । संविधानमा मन्त्रिपरिषद् बढीमा २५ सदस्यीय बनाउन सकिने व्यवस्था छ । हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसहित २२ वटा मन्त्रालय छन् ।

संसदीय विशेष समितिका संयोजक खिमलाल देवकोटाले केन्द्रले गर्ने धेरै काम तल गएकोले संघमा १५ जना मन्त्री पर्याप्त हुने बताए । समितिले प्रदेशमा पनि मन्त्रीको संख्या ५ जनाभन्दा कम नहुनेगरी कुल प्रदेशसभाको १० प्रतिशतमा सीमित गर्नुपर्ने सुझाव दिएको छ ।

पछिल्लो ५ वर्षमा प्रदेशहरुमा मन्त्रालय संख्या ४९ बाट बढेर ७८ पुगेको थियो । अहिले भने मन्त्रालय घटाउने तयारी भइहरेको छ । समितिको प्रतिवेदन पूर्ण कार्यान्वयन गर्न भने संविधान नै संशोधन गर्नुपर्छ ।

समितिको सिफारिस र प्रधानमन्त्रीको प्रतिबद्धता कायम भए प्रदेश १ मा ९, मधेश प्रदेशमा ११, वाग्मतीमा ११, लुम्बिनीमा ९, गण्डकीमा ६, कर्णालीमा ५ र सुदुरपश्चिमामा ६ मन्त्रालय कायम हुनेछन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्