दुई हप्तापछि मन्त्रीहरू मन्त्रालयमा पुगेर गरे पदभार ग्रहण

दुई हप्तापछि मन्त्रीहरू मन्त्रालयमा पुगेर गरे पदभार ग्रहण

विराटनगर । नियुक्त भएको १५ दिनपछि मन्त्रीहरूले मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । दुई पटक गरेर मुख्यमन्त्री हिक्मत कार्कीले मन्त्रीमण्डल विस्तार गरेका थिए ।

प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले गत पुस २५ गते पहिलो चरणमा ३ जना मन्त्री नियुक्त गरेका थिए भने पुस ३० गते दोस्रो चरणमा पनि ३ जना नै नियुक्त गरेका थिए ।

शुक्रवार साँझ भने मन्त्रीहरूलाई मुख्यमन्त्रीले मन्त्रालयको जिम्मेवारी तोकेका थिए । एमालेका तिलकुमार मेन्याङ्बोले खानेपानी सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मा दिएका थिए भने माओवादी केन्द्रका दुर्गा चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालयको जिम्मा दिएका थिए ।

यसैगरी राप्रपाका भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय र माओवादी केन्द्रका जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय तोकिएको थियो । एमालेकै बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र जसपाकि निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो ।

शनिवार तथा आइतबार दुवै दिन बिदा भएकाले मन्त्रीहरूले सोमवार कार्यभार सम्हालेका हुन् । मन्त्रीहरूलाई मन्त्रालय नतोकिँदा मन्त्रीहरूको बास होटलमा हुने गरेको थियो । मन्त्रीहरूलाई विनाविभागिय बनाएर होटलमा राखेको भनेर चर्को विरोध भएपछि मुख्यमन्त्री कार्कीले जिम्मेवारी दिएका थिए ।

अब प्रदेश सरकारमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय रहने भएको छ । अब यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय खारेज भएको छ ।

मुख्यमन्त्री कार्कीले आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन आफैँसँग राखेका छन् ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्