गणेश लम्साल
आमाबाबुले भन्छन् ‘लौन फोहोर उठाउने मान्छे आयो चाँडै फोहोर बाहिर लगिदिउँ । तर, लगत्तै छोराले भन्छ, फोहोर उठाउने मान्छे हैन मम्मी सफाइ गर्ने कर्मचारीहरु हुन्, सोच बदल्नु न । बालक छोरोको भनाइको अर्थ हुन्छ जसले घरघरमा आएर फोहोर सफा गर्छन् ती कसरी फोहोरी कर्मचारी ? अनि बाबुआमाले स्वीकार्छन् र एकैसाथ भन्छन् हो अब सोच बदल्नुपर्छ ।’
केही महिनादेखि रेडियो र टिभीमा एउटा बैंकको प्रचारका लागि बनाएको विज्ञापनको यो कुरा मलाई औधि मनपरेको छ । वास्तवमा सोच बदल्ने हो भने धेरै कुरा परिवर्तन गर्न सकिन्छ । किनभने परिवर्तन युगानुकुल हुनुपर्छ, पुस्तानुकुल हुनुपर्छ, समयानुकुल हुनुपर्छ ।तर, हामी र हाम्रा शासक प्रशासकहरु अझै पनि परिवर्तन हुन चाहेका छैनौ । सोच परिवर्त गर्न नै चाहदैनौ । उही पुरानै ढर्रा, परम्परा र आडम्बरमा चलिहरकेका छौं । चल्न रुचाइरहेका छौं । हामीले हाम्रो भूमिका, मर्यादा र समयलाई ख्याल गर्ने गरेका छैनौ। अझै नातावाद, कृपावाद मात्र नभएर धनवाददेखि प्रेरित हुने हाम्रो बानी हटेकै छैन ।
धनवान र पहुँचवाल छ अनि पार्टी र थरमात्र मिल्यो भने पनि हामी अस्पताल हैन अस्पतालको एउटा शाखा उदघाटन गर्न पुगिदिन्छौं । भन्नका लागि स्वास्थ्य र शिक्षा सरकारको हुन्छ भनेर भाषण गरेपनि एउटा क्याविन उदघाटन गर्न पनि थर मिलेकै कारण गएकै छौं । यतिमात्र हैन प्रदेशको मुख्यमन्त्री र मन्त्री बने पनि के भो र स्वार्थ मिल्यो भने नाथे एक हजारको म्याट्रेस बाँड्न पनि हामी पछिहट्दैनौं । हाम्रै कारणले बिचरा वडा अध्यक्षहरु हेर्याहेर्यै ।
जनताले जनादेश दिएर जिताएका हामी सुशासनका अभियन्ता हौं, मानवअधिकारका संरक्षक हौै, संविधानका रक्षक हौं, आवाजविहीनहरुका आवाज हौं । तर, जितेर पद पाइसकेपछि हामीलाई के लागेको छ भने हामी ठूला मालिकहरु हौं र अरुहरु सबै सेवक हुन् । यसैले हामी सुशासनका लागि अन्तरवार्ता गर्न आउनेहरुलाई समय दिन डराउँछौं । तर, सबैखाले उद्घाटनमा जान र खादा ओढाउन आउनेहरुसँग भेटघाट गर्न हामीलाई प्रशस्त फुर्सद हुन्छ ।
पुरानो कथा यादआयो—एकादेशमा एउटा जाली र लोभी महाजन रहेछ । एकपल्ट उसलाई ठूलो खोला तरेर धेरै टाढा जानुपर्ने अवस्था आइलागेछ । यतिनाथे खोला त तरिहाल्छु र तरेकै हो भनेर महाजन खोलामा होम्मिएछ । निक्कै आँट गरेर खोलो तर्न खोज्दा खोलाले उसलाई हुर्याएछ । पौडन खोजेपनि नसकेपछि मर्छु भन्ने सोचेछ । अब उसले विगतमा गरेको सबै पाप अन्जानमा गरेको भन्दै भगवान भाकल्दै आफूलाई बचाइदिन प्रार्थना गरेछ । त्यसैबेला बालुवाको ढिस्कोमा टेक्न भ्याएछ । अनि बर्बराउँदै भनेछ ‘धन्न पौडी खेल्न जानेकोले बाँचियो, त्यस्ता भाकल पूरा गर्न थालियोभने कंगाल बनिन्छ ।’ खोलाले बालुवाको ढिस्को काट्दै रहेछ फेरी उ बग्न थालेछ । उसले फेरिपनि पहिले झैं भाकल गर्दै प्रार्थना गर्न थालेछ । त्यसैबेला एउटा लहरो समात्न भ्याएछ । लहरो समातेपछि लामो सास फेर्दै मेरै बलले बाँचे यस्ता कसमले के बचाउँथ्यो भनेर ढिस्कोमा चढ्न खोजेछ । लहरामा झुण्डिएर ढिस्कोमा चढ्दा डोरी चढ्ने कलाप्रति पनि उसले गर्व गरेछ । त्यतिकैमा लहरो चुँडिएर फेरि खोलामा खसेछ । जीवनमा भएका गल्तीहरुप्रति पश्चाताप गर्दै फेरि उसले भाकल गर्न थालेछ । सबै सम्पत्ति गरिबलाई दान दिएर साधू बन्छु भन्दै भाकल गरेछ । तर नदीबाट उ फेरि कहिल्यै फर्किएनछ ।
जनश्रुतिमा आधारित यो कथाको सन्देश दुष्ट चरित्र कहिल्यै सुध्रन चाहदैन भन्ने हो । त्यसैले हामीले पनि व्यवस्था बदले पनि हामी आफू बदलिन चाहेका छैनौं । सोच बदलेका छैनौं । यसैले जहिल्यै विद्रोहलाई प्रोत्साहन गरिरहेका हुन्छौं) । शासन सत्तामा पुगेपछि चिल्ला कुरा गरेपनि जातीय नश्लीय र आडम्बरी व्यवहार र संस्कार कामयै राख्छौं ।
भन्नका लागि भिन्नभिन्न वर्गीय विचार राख्ने भनिए पनि सबैको चाहना शासन र हुकुम चल्नुपर्छ भन्ने नै छ । अरुलाई हैन मलाई सम्मान चाहिन्छ, प्रोटोकलमा अरु हैन आफू अगाडि हुनुपर्छ, म हैन अरु सानो बन्नुपर्छ भन्ने सोच व्याप्त छ ।
माननीय मुख्यमन्त्री, मन्त्री, सांसद अनि पालिका प्रमुख उपप्रमुख र जनप्रतिनिधिज्यूहरु ! तपाईहरु अब शासक हैन आमनागरिकको हैन सेवक कहलाउनुपर्छ । विकासको संरक्षक बन्नुपर्छ । तपाईहरु अब मानवअधिकारको अभियन्ता हुनुपर्छ । अब आवाजविहीनहरुको आवाज मात्र नभएर सहयोगी बन्नुपर्छ । नत्र लिच्छवीकालमा प्रशासकहरुले पाएको पद ‘समान्त’ पगरीको दाग तपाईहरुबाट हट्ने छैन । तपाईहरुले सोच फेर्नु भएन भने तपाईहरु सधैं दलाल शासकहरुमा चिनिरहनुहुनेछ ।
भनाइ छ — ‘जो परिपरिवर्तन रुचाउदैन त्यो बुढो हो र जो परिर्वन खोज्दैन त्यो मुढा हो ।’ यसैले मेरो विनम्र बिन्ती छ । सोच बदलौं । नयाँ सोच व्यवहारमा लागू गरौं । समाजलाई सबैको पहुँचमा आधारित सुशासनमुखी बनाऔं।