विराटनगर । विराटनगरस्थित कोसी अस्पतालको इमर्जेन्सीमा पुर्याइएकी १८ दिने शिशुको सास नरहेको र धड्कन बन्द भएको भन्दै मेडिकल अफिसर डाक्टर आकाश यादवले मृत घोषणा गरेको घटनाको अनुसन्धान गर्न तीन सदस्य छानबिन समिति गठन भएको छ ।
अस्पतालका बालभोग विशेषज्ञ डा. प्रवीण झाको नेतृत्वको तीन सदस्य समिति बिहीबार गठन भएको हो । समितिमा अन्य दुई जनामा बालभोग विशेषज्ञ डा. सूर्यकान्त चौधरी र एक जना प्रशासनका कर्मचारी रामप्रसाद नेपाल रहने गरी छानबिन समिति गठन भएको छ ।
छानबिन समितिले सात दिनभित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउने कोशी अस्पतालका सूचना अधिकारी रामप्रसाद नेपालले जानकारी दिए । उनका अनुसार घटनाको छानबिन बिहीबारबाट सुरु हुने बताए ।
बुधवार बिहान साढे ८ बजे मोरङको जहदा गाउँपालिका ३ का १८ दिने नवजात शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि पिता दिलीप मुखिया र आमा उमा मुखियाले कोशी अस्पताल लिएर आएका थिए ।
डाक्टर आकाश यादवले राम्रोसँग शिशुको उपचार नगरी मृत घोषणा गरेपछि बुधवार अस्पताल दिनभरि तनावग्रस्त बनेको थियो । चिकित्सकले मृत घोषणा गरेको शिशुको अहिले विराटनगरस्थित गोल्डेन अस्पतालको एनआइसियुमा राखेर उपचार भइरहेको छ ।