विराटनगर । जिवित रहेको शिशुलाई मृत घोषणा गरेको भन्दै उपचारमा संलग्न डाक्टरमाथि कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोरङको जहदा गाउँपालिका–३ भात्तिगन्जकी उमा मुखियाको १८ दिने नवजात छोरीलाई जिवितै अवस्थामा मृत घोषणा गरेको आरोप लगाउँदै कोशी अस्पतालको आकस्मिक कक्षका डाक्टर आकाश यादवमाथि कुटपिट भएको थियो ।
शिशुका आफन्तहरुले यादवलाई कुटपिट गरेका हुन्। कुटपिटबाट डा.यादवको टाउकोमा चोट लागेको छ। चिकित्सकमाथि आक्रमण गर्ने तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले मनोज मुखिया, मन्नु मुखिया र अर्को एक जना नाम नखुलेको व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।
अस्पतालबाट नियन्त्रणमा लिएर प्रहरीले उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ। कोशी अस्पतालका प्रमुख डाक्टर लक्ष्मीनारयण यादवले घटना विषयमा बुझने काम भइरहेको बताए।
नवजात छोरी अचानक बिरामी भएपछि बुबा दीलिप मुखिया र आमा उमा मुखियाले बुधबार बिहान कोशी अस्पताल ल्याएका थिए । आकस्मिक कक्षमा पुग्दा डा. आकाश यादवसहितको टोलीले केहिबेच चेकजाँच गरेपछि शिशुको मृत्यु भएको भन्दै घर लैजान भनेका थिए ।
चिकित्सकले शिशुलाई मृत घोषणा गरेपछि मुखियाका आफन्तको रूवाबासी चलेको अवस्थामा दिलिपकी भाउजुले शिशु बोकेर बाहिर ल्याउँदा हात र खुट्टा चलेको थियो । डाक्टरले सास छैन भनेर मृत घोषणा गरेकी छोरी ज्यूँदै पाइएपछि कोशी नजिकै रहेको गोल्डेन अस्पतालमा राखेर परिवारले उनको उपचार गराइरहेको छ । शिशुलाई एनआइसियूमा राखेर उपचार भइरहेको छ ।
कोशीका डाक्टरले मृत घोषणा गरेकी छोरीको स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार भइरहेको बताएको मुखियाले बताए । नवजात शिशुलाई हस्पिटल ल्याउँदा मुटुको धड्कन नभएको र श्वास पनि नचलेको जानकारी उपचारमा संलग्न चिकित्सकले दिएको मेसु यादवको दावी छ । घटनाबारे थप बुझ्ने काम भइरहेको भन्दै उनले उपचारमा लापरबाही भएको पाइए कार्वाही हुने बताए ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!