नेपालमा अहिलेसम्म १०४ वटा हवाई दुर्घटना

नेपालमा हालसम्म एक इन्जिनयुक्त आठ वटा दुर्घटना भएका छन् भने हेलिकप्टरतर्फ ३६ र विदेशी १० वटा वायुसेवासमेत गरी नेपालमा हालसम्म १ सय ४ वटा दुर्घटना

काठमाडौँ । आज पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनासँगै नेपालको हवाई उड्ययन इतिहासमा हवाई दुर्घटनाको संख्या १०४ पुगेको छ ।

नेपालमा पहिलो पटक २०१२ वैशाखमा सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । उक्त दुर्घटनामा २ जनाको मृत्यु भएको थियो ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार व्यवसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५० औं दुर्घटना हो । हालसम्म एक इन्जिनयुक्त ८ वटा, हेलिकप्टरतर्फ ३६ वटा र विदेशी १० वटा दुर्घटना भएका छन् ।

अहिलेसम्म भएका दुर्घटनामा करिब ९०० यात्रुको मृत्यु भइसकेको छ । आन्तरिकतर्फ ३६४, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५, हेलिकप्टरतर्फ ८५ र विदेशी वायुसेवातर्फ ३७५ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।

आइतबार पोखराका लागि चार चालक दल र ६८ जना यात्रु बोकेर काठमाडौंबाट उडेको यति एयरको एटीआर विमान घटना यति समूहको २४ वर्षयता भएको १४ औं हवाई दुर्घटना हो । गत जेठमा जोमसोमका लागि १९ जना यात्रु बोकेर पोखराबाट उडेको यति समूहकै तारा एयरको ट्विनअटर विमान दुर्घटनाग्रस्त भएको थियो ।

आज दुर्घटना भएको विमानमा सवार ७२ जनाकै मृत्यु भएमा यो नै आन्तरिक उडानतर्फ हालसम्मकै ठूलो दुर्घटना हुनेछ । यसअघि १४ मार्च २०१८ मा बंगलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा ५१ जनाको मृत्यु भएको थियो ।

सन् २००६ यता मात्र नेपाली आकासमा झण्डै ६० वटा विमान दुर्घटनामा परिसकेका छन् । जसमा ६१८ जना यात्रुले ज्यान गुमाएका छन् ।

२०१९ को अप्रिलमा सोलुखुम्बुको लुक्ला विमानस्थलमा समिट एयरको विमान दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको थियो भने फेब्रुअरी २०१९ मा ताप्लेजुङको पाथीभरा नजिक एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो ।

सेप्टेम्बर २०१८ मा गोरखाबाट काठमाडौं आउँदै गरेको अल्टिट्यूड एयरको हेलिकप्टर धादिङ र नुवाकोटको सीमामा दुर्घटना हुँदा एक जापानीसहित ६ जनाको मृत्यु भयो । यस्तै २०१८ कै मार्चमा बङ्गलादेशबाट नेपाल आएको युएस–बङ्गला एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो ।

२०१६ को फेब्रुअरीमा पोखराबाट जोमसोम उडेको तारा एअरको विमान दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको थियो । २०१५ को मेमा भूकम्पपछिको राहत तथा उद्धार कार्यमा खटिएको अमेरिकी सेनाको हेलिकप्टर चरिकोटनजिकै दुर्घटना हुँदा ६ अमेरिकी सैनिकसहित १३ जनाको मृत्यु भएको थियो ।

२०१५ को जूनमा सिन्धुपाल्चोकमा भूकम्पको राहत तथा उद्धारमा गएको डक्टर्स विदाउट बोर्डर्सले चार्टर गरेको हेलिकप्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु भयो । २०१४ को फेब्रुअरीमा पोखराबाट जुम्ला उडेको नेपाल वायुसेवा निगमको विमान अर्घाखाँचीमा दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो ।

२०१२ सेप्टेम्बरमा काठमाडौंबाट लुक्ला उडेको सीता एअरको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो भने सो हि वर्षको मेमा भारतीय तीर्थयात्री बोकेर पोखराबाट जोमसोम उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थलनजिकै दुर्घटना हुँदा १९ जनाले ज्यान गुमाएका थिए ।

२०११ सेप्टेम्बरमा माउन्टेन फ्लाइटका लागि उडेको बुद्ध एअरको विमान काठमाडौं नजिकै कोतडाँडामा दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो । २०१० को डिसेम्बरमा खोटाङको लामीडाँडाबाट काठमाडौं उडेको विमान ओखलढुङ्गामा दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको थियो भने सोहि वर्षको अगस्टमा काठमाडौंबाट लुक्लातर्फ उडेको विमान दुर्घटना हुँदा १४ जनाको मृत्यु भयो ।

२००८ को अक्टोबर सोलुखुम्बुको लुक्ला विमानस्थलमा अवतरण गर्दै गरेको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भयो । २००६ को सेप्टेम्बरमा सङ्खुवासभाको घुन्सामा श्री एयरको हेलिकप्टर दुर्घटना हुँदा तत्कालीन वन तथा भूसंरक्षण राज्यमन्त्री गोपाल राईसहित २४ जनाको मृत्यु भएको थियो ।

आइतबार, ०१ माघ, २०७९, दिउँसोको ०३:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर