पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका खुसार्नेमा बुधवार राति भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ ।
दुर्घटनामा रैनादेवी छहरा गाउँपालिका–८ का ६ जना महिलाहरूको मृत्यु भएको थियो भने १८ जना घाइते भएका छन ।
एउटै वडामा ६ जनाको मृत्यु भएपछि अहिले खुसार्ने गाउँ शोकमा डुबेको छ ।
लु १ ख ४९७७ नम्बरको यात्रुबाहक गाडी रुपन्देहीको सालझण्डीबाट २५ भन्दा बढी यात्रु लिएर रैनादेवी छहरा गएको थियो । गाडी सडकबाट १०० मिटर तल जंगलमा खसेको थियो ।
चालक निदाएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । मृत्यु हुनेमा रैनादेवी छहरा–८ की ३६ वर्षकी निर्मला घिमिरे, निर्मलाकी छोरी ११ वर्षकी सरूमाया घिमिरे, सोही वडाकी ५४ वर्षकी खिमकुमार राना, ४० वर्षकी गुनकुमारी गाहा, २१ वर्षकी दानकुमारी खत्री र १९ वर्षकी बीमा पाण्डे रहेकी जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र रानाले जानकारी दिए ।
सोही वडामा ७२ वर्षकी पूर्णकला दर्जी, ६० वर्षकी यामकला रास्कोटी, ३९ वर्षकी यमकला पाण्डे, २३ वर्षकी लालकुमारी गाहा, ७ वर्षका सुरज घिमिरे, ३५ वर्षका तुलाराम पाण्डे, २६ वर्षका लिला गाहा, ९ वर्षकी अस्मिता रास्कोटी, ६५ वर्षकी फर्मिकला पाण्डे, २८ वर्षकी लिमकला पाण्डे, ३ महिनाकी आहा पाण्डे, ७३ वर्षकी श्यामीकला पाण्डे घाइते भएर बुटवलस्थिल लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।


अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!