गोकुल पराजुली
पुस १० गते दिउँसो एकाएक नेपालको राजनीति तरंङ्गित भयो । दुई वर्ष अघि भत्किएको दुई वाम पार्टीबीचमा भलै सत्ताकै खातिर किन नहोस् एउटा तहको समझदारी बन्नु सकारात्मक हुँदाहुँदै पनि दुई वर्ष पछाडि फर्किएर हेर्दा त्यो अक्करमा फसेको राजनीतिलाई गोरेटो हुँदै सहज राजमार्गमा ल्याउन सारथी बनेको गठबन्धन दलसँगको सहयात्रामा सम्बन्ध विच्छेद भएको परिवेश दुःखलाग्दो नै थियो ।
राजनीति सोझो बाटो हिड्दैन भन्ने सामान्य ज्ञान नभएको होइन । यस पटक पनि नेपाली राजनीतिले उही बाङ्गोटिङ्गो यात्रा तय ग¥यो । यसलाई स्वभाविक नै मानौं । राज्यसत्ता बाहेक सबैचिज भ्रम हुन् भन्ने माओत्सेतुङको निष्कर्श र माओलाई अस्वीकार गर्ने दलहरुले पनि राज्यसत्ताका लागि देखाउँदै आएको व्यवहारलाई मनन् गर्दा यस पटक प्रचण्डले लिएको स्टेपलाई गलत भन्न परेन÷ सकिएन । तरपनि सुखका हजार मित्र भन्दा दुःखका एक मित्रको मूल्यांकन फरक हुनुपर्छ । आज सत्ता अगाडि आइलाग्दा कतै मित्रवर्गले त्यो कटु अनुभव गर्न नपरोस् भन्नेमा ख्याल गर्नुपर्छ ।
दुई वर्ष अघि प्रतिनिधिसभा विघटन गर्ने मुढीयल घटनाले सिर्जना गरेको बाध्यात्मक परिवेशको पटाक्षेप गर्न बनेको विपक्षी राजनीतिक गठबन्धन समयक्रममा सत्ता गठबन्धनमा रुपान्तरण भएको थियो । राजनीतिक दलका नेताहरुबीचको वैमनस्यता र बेमेलका कारण जनता दिक्कवाक्क भएर राजनीतिक परिवर्तन मार्फत ल्याएको नयाँ व्यवस्थामा पनि उही पुरानो खेलको सुरुवात हुनुले नेपाली समाज निराश बनेको थियो । त्यो परिस्थितिजन्य निराशाको सिकार हामी पनि भयौं । त्यो अवस्था ल्याउन भूमिका खेल्ने नेतृत्वको खुलेर आलोचना ग¥र्याैं । अझ अदालतको प्रयोग गरेर एकता भएर कानुनी र वैधानिक रुपमा तीन वर्षसम्म सहज कार्यान्वयनमा गइसकेको पार्टी एकतालाई अमान्य घोषणा गर्दै विभाजन गराउने घटना अतिनै पीडादायी थियो । त्यो नियोजित विभाजन पनि थियो । त्यस प्रकारको विभाजनको निर्णयलाई दीपावली गर्दै स्वागत गर्ने एउटा पक्ष र विरोधमा अदालतमा पुनरावेदन गर्ने अर्को पक्ष थियो । त्यस घटनालाई हेर्ने दुई फरक दृष्टिकोणहरु यसरी विकसित भएका थिए । तर, समयक्रमले फुट विभाजन र विग्रहमा दीपावली गर्ने र फुटलाई अस्वीकार गर्ने पक्षबीच सत्ताको लिस्नोले कार्यगत एकताको चरणमा ल्याइपु¥यायो ।
आध्यात्मतर्फ फर्किने हो भने गीतासारको रुपमा ‘जे हुन्छ भलाका लागि हुन्छ’ भनेर मान्न सकिन्छ । तर राजनीतिमा यो भलाका लागि भएको हो वा यसले नेपाली कम्युनिष्ट आन्दोलनमा अझ ठूलो धोखा र जोखिम सिर्जना गर्र्र्दछ भन्ने कुरा केही समय पर्खेर मात्र भन्न सकिने भयो ।
जो भएपनि, नेपाली कम्युनिष्ट आन्दोलनको कोणबाट मात्र हेर्दा भने पुस १० को घटनाले एउटा सकारात्मक सन्देश दिएको छ । हिजो जुन विन्दुबाट कमजोरी भएको थियो आज त्यहि विन्दुमा पुगेर सच्याउने प्रयत्न भएको छ । साँच्चै यहि भावनाबाट करेक्सनको सुरुवात भएको हो भने, बाहिर मैले जितें भन्दैगर्दा भित्रभित्रै मात्र पनि गल्ति सच्याउने (रियलाइजेशन) प्रयत्नको सुरुवात भएको हो भने यो तरङ्गले नेपाली जनताको मनोविज्ञानमा नयाँ उर्जा भर्ने निश्चित छ । होइन भने यसले नेपाली राजनीतिक दलहरुप्रति बढ्दै गएको अविश्वासको खाडल नेपाली जनताहरुमा अझ गहिरिने छ । यसले विगतमा ठूल्ठूला परिवर्तनका खातिर आन्दोलन गरेका र योगदान गरेका दलहरुले अहिलेको भन्दा धेरै क्षति व्यहोर्न कसैले पनि रोक्न सक्नेछैन । त्यो अविश्वासको संकेतको रुपमा गत निर्वाचनमा उदाएको नयाँ शक्ति नेपाल स्वतन्त्र पार्टी र त्यहि अविश्वासका कारण उत्पन्न निराशाको डम्पिङ साइडको रुपमा शक्ति बटुलेको राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान अवस्थामा अझ सुधार आउनसक्ने खतरा छ ।
त्यसैले अहिलेको परिवर्तित परिवेशमा सत्तापक्षका बीचमा मात्र होइन राष्ट्र निर्माणका लागि प्रतिपक्ष दलहरुबीचमा पनि एउटा न्यूनतम साझा कार्यसूची बनाएर अघि बढ्न जरुरी छ । अहिलेको मुख्य सवाल सत्तामा को पुग्ने र कसले सत्ताको लाभ लिने होइन कसरी जनतालाई परिवर्तनको अनुभूति दिलाउने भन्ने बन्नुपर्छ । यो अनुभूति सत्ता र विपक्षी भएर होइन देश बनाउने सर्तमा मुद्दाहरुमा सहकार्य र साझेदारी गरेर अघि बढ्नु पर्छ । यसो हुँदा हिजो कमजोरी गरेका र कमजोरीका कारण उत्पन्न संकट पारलगाउन भएका प्रयत्नहरु दुवै ग्राह्य हुन सक्नेछन् ।