विराटनगर । भारतदेखि अवैध रूपमा सुन राख्ने खाली बट्टा पनि तस्करी गरी ल्याउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतबाट तस्करी गरेर नेपाल ल्याउने तीन जनालाई प्रहरीले शुक्रवार राती विराटनगर १८ खोक्साहाबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा विराटनगर महानगरपालिका १७ का ३० वर्षीय मस्जिद आलम, सोही ठाउँका २० वर्षीय मो।अरवाज र २१ वर्षीय रहमद मियाँ पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ । पक्राउ परेका भरिया हुन् ।
उनीहरूलाई अस्थायी प्रहरी पोस्ट मटेरुवा बाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।पक्राउ परेकाहरूको साथबाट प्रहरीले सुन राख्ने खाली बट्टा ठुलो १६२ पिस, सुन राख्ने खाली बट्टा सानो ८१० पिस बरामद गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी टीकाबहादुर कार्कीले जानकारी दिए ।
बरामद गरेको सुन विराटनगरका सुन पसलले मगाएका हुन् । यहाँका सुन पसलले क्यारिङमार्फत भन्सार छली गरी सुन राख्ने डब्बा पनि अवैध रूपमा ल्याउने गरेको खुलेको छ ।
त्यस्तै प्रहरीले मोरङको धनपालथान गाउँपालिका–४ कर्सिया, धनपालथान–३ मायागञ्ज, विराटनगर–१६ दरैया र विराटनगर–१५ हुलास मेटल चोकबाट पनि तस्करीका सामान बरामद गरेको छ ।भन्सार छली गरेर भारतबाट नेपालतिर ल्याउँदै गरेको अवस्थामा चिनी, मोटर पार्टस्, बिजुलीका सामान, लत्ताकपडा, खैनीलगायतका सामान बरामद गरिएको डिएसपी कार्कीले बताए ।
उनका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय रँगेलिबाट खटिएको अलगअलग टोलीले अवैध सामान बरामद गरेको हो ।बरामद गरिएको सामान ४ लाख ८५ हजार ३ सय रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। सामान र पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धान एवं कारबाहीका लागि विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।