कुरकुरे जस्ता चिप्स बाल्दा प्लास्टिक झैँ किन पग्लिन्छ ?

 स्नेहा खरेल

‘कुरकुरे त प्लास्टिकले बनेको हुन्छ यो खानु हुँदैन भन्ने वाक्य नसुनेको सायद कम नै होलान् । मैले पनि सानैबाट नै धेरैपटक यसो भनेको सुनेकी छु । मानिसले यसो न भनुन् पनि कसरी ? बेलाबखतमा फेसबुक लगायतका सामाजिक सञ्जालमा कुरकुरे जलाएर प्लास्टिक जस्तै पग्लिएको देखिने भिडियोहरु अपलोड भइरहेका हुन्छन् । भिडियोमा कुरकुरे पग्लिएको देख्दा यस्तो लाग्छ कि मानौं हामी कुरकुरे को नाममा प्लाष्टिक नै खाइरहेका छौं ।

के साँच्चै कुरकुरे जस्ता चिप्स प्लास्टिकले बनेको हुन्छ ?  एक वाक्यमा भन्नुपर्दा ‘हैन’ । कुरकुरे जस्ता चिप्समा कुनै प्रकारको प्लास्टिक पाइदैन ।
त्यसोभए किन कुरकुरे प्लाष्टिक जस्तै पग्लिन्छ ?

कुरकुरे लगायतका चिप्स बनाउन चामल , मकै विभिन्न किसिमका तेल , मरमसला आदि सामग्रीहरु प्रयोग गरेर तेलमा तारिन्छ । यसमा कार्बोहाइड्रेट , फ्याट , प्रोटिन पनि केहि मात्रामा रहेको हुन्छ । यसरी तेलमा बनाइएको चिप्समा फ्याट, तेल र कार्बाेहाइड्रेटको मात्रा पानी को मात्रा भन्दा धेरै हुन्छ जसले गर्दा यसमा आगो लाग्छ र यो बल्छ । सामान्य भाषामा भन्ने हो भने प्लास्टिक झैं पग्लिएर झर्ने बस्तु अरु केही नभएर कारब्रोहाइड्रेटको रुपमा रहेको कोर्न स्टार्च ( ड्राइड कर्न स्टार्च) हो जुन हेर्दा ठ्याक्कै प्लाष्टिक जस्तै हुन्छ र ड्राइड कर्न स्टार्चले स्वास्थ्यमा कुनै प्रकारको हानी गर्दैन । चिप्समा प्लास्टिक हुन्छ या हुँदैन भन्ने कुरा थाहा पाउन तपाईँ कुरकुरे (या कुनै चिप्सको एउटा टुक्रालाई केही समयसम्म नचबाइ र नटोकी जिब्रोमा राख्नुहोस् । हाम्रो मुखमा भएको थुक (हुमन सालिभा)मा उक्त टुक्रा सजिलै घोलिन्छ जबकि प्लास्टिक थुक हुमन सालिभामा सजिलै घोलिदैन । यदि उक्त चिप्समा प्लास्टिक हुन्थ्यो भने उक्त टुक्रा कुनै हालतमा त्यसरी घोलिदैनथ्यो । यसरी पनि कुरकुरे जस्ता चिप्स मा प्लास्टिक हुन्छ कि हुँदैन भन्ने कुराको पुष्टि हुन्छ ।

अब प्रश्न आउँछ के बजारमा बेचिने चिप्स सेवन गर्न स्वास्थ्यवर्धक (हेल्दी) छ त ? कुनै पनि कुरा अति सेवन गर्नु राम्रो होइन । उदाहरणको लागि (३० ग्रामको कुरकुरेमा क्यालोरीज १६८ केकल्स्, प्रोटिन ः २.६ ग्राम र फ्याट १०.७ ग्राम हुन्छ । १०.८ ग्राम फ्याट भनेको हाम्रो डेली फ्याट इन्टेक को ७० प्रतिशत हो । यदि तपाईं आफ्नो तौल घटाउन खोजिरहनुभएको छ भने एउटा ३० ग्रामको कुरकुरेको सेवन गर्नाले तपाईंको शरीरलाई आवश्यक पर्नेभन्दा कति धेरै मात्रामा तपाईंले एक्स्ट्रा फ्याट लिदैँ हुनुहुन्छ , सोच्नुस् त । तसर्थ अल्पज्ञान हानिकारक छ । अधिक क्यालोरी भएको हुनाले यस्ता चिप्सको सेवन मात्रा मिलाएर गर्नु पर्छ तर भिडीयो हेरेकै भरमा वैज्ञानिक तथ्य थाहा नपाई यसमा प्लास्टिक छ, यो प्लास्टिकले बनेको हुन्छ भन्ने भ्रम तथा हल्ला फैलाउनु र विश्वास गर्नु चाँहि अर्थहीन हो ।

शनिबार, १६ पुष, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर