विराटनगर । हातैमा आइसकेको प्रदेश सरकारको नेतृत्व गर्ने अवसर काठमाडौंमा भएको वाम सुलहले खोसिए पनि नेपाली काँग्रेस प्रदेश १ को संसदीय दलमा रोचक चुनावी होड हुने देखिएको छ ।
संसथापन पक्षबाट तीन जना उद्धव थापा, अमृत अर्याल र भीम पराजुली अनि संस्थापन इतर पक्षबाट केदार कार्की एक्लैको दाबी रहेपछि काँग्रेसमा अन्ततः चुनावबाटै दलको नेता छानिँदैछ । बिहीबार उम्मेद्वारी दर्ता भएर शुक्रबार ९ देखि १० बजेसम्म विराटनगरमा निर्वाचन हुँदैछ ।
अहिले प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलको नेता हुन पाइने र भविष्यमा जुनसुकै बेला सरकारको नेतृत्वको अवसर आउने सम्भावना भएको भन्दै काँग्रेसभित्र तीव्र प्रतिष्पर्धाको अवस्था छ । ‘मुलुकको राजनीतिक परिदृश्यमा जुनसुकै बेला फेरबदल आउने सम्भावना हुनसक्छ’, दलको नेता दाबी गरिरहेका एक नेताले भने ‘त्यसैले चुनावमै जाने निश्चित जस्तै छ ।’
सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौला समूहबाटै तीन–तीन जना दाबेदार अघि सरेपछि संस्थापन पक्ष तनावमा छ । नेता सिटौला निकट रहेका प्रदेश १ का पार्टी सभापति थापा र केन्द्रीय सदस्यसमेत रहेका विराटनगरका पूर्व प्रमुख पराजुली अनि देउवा निकट केन्द्रीय सदस्य अमृत अर्याल तीनै जनाले दलको नेता दाबी गरिरहेका छन् । तीनै जना नेताले बिहीबार मनोनयन दर्ता गर्ने बताएका छन् ।
यी तीनै जनाबीच सहमति ज्ुटाउन दुई दिनयता विराटनगर र झापामा चलिरहेको बैठक हालसम्म निष्कर्षमा पुगेको छैन । ‘हाम्रो समूहमा सहमति जुटाउनलाई प्रयासहरु भइरहेका छन्’, बुधबार साँझ संस्थापन पक्षकै ती उम्मेद्वारले भने ‘अहिलेसम्मको अवस्था हेर्दा पहिलो चरणमा चार जनाबीच प्रतिष्पर्धा हुने देखिन्छ । तैपनि रातभरिमा कुनै सहमति भइहाल्ला कि भन्ने पनि छ ।’
संस्थापन पक्षबाट तीन जना प्रतिष्पर्धाका लागि तयार रहँदा इतर पक्षबाट शेखर कोइराला निकट केदार कार्की आफू पहिलो चरणबाटै निर्वाचित हुने आत्मविश्वासमा छन् । ‘म पहिलो चरणबाटै दलको नेता छानिनेमा ढुक्क छु’, अहिले आन्तरिक मामिला मन्त्रीसमेत रहेका कार्कीले भने ‘निर्वाचन दोस्रो चरणसम्म जाँदैन ।’
त्यसो त संस्थापन इतरका कार्की मात्रै होइन, संस्थापन पक्षकै पनि तीनै जना आफ्नै पल्ला भारी रहेको दाबी गरिरहेका छन् । प्रदेश १ मा संस्थापन भित्र पनि दुई समूह छन् । एउटा देउवा र अर्को सिटौला समूह। प्रदेशसभामा उपस्थित काँग्रेस सांसदको संख्याले भने कुनै दुईटा पक्ष नमिलेसम्म कसैले पनि बहुमत पाउने अवस्था देखिन्न ।
९३ सदस्सीय प्रदेशसभाको दोस्रो ठूलो दल काँग्रेससँग जम्मा २९ सांसद छन्। काँग्रेसको विधान अनुसार दलको नेता छानिन ५१ प्रतिशत मत ल्याउनैपर्छ । त्यसका लागि १५ मत आवश्यक पर्छ ।
हालसम्मको अवस्थामा कोइराला समूहको प्रभाव क्षेत्र मानिने प्रदेश १ मा पनि सबैभन्दा बलियो अवस्थामा सभापति देउवा समूह नै देखिन्छ । १४ औं महाधिवेशन ताकाकै अवस्था विद्यमान रहेको अवस्थामा देउवा पक्षमा ११ देखि १२ सांसद देखिन्छन् भने सिटौला र शेखरका पक्षका सांसदको संख्या समान ९–९ जना छ । तर, केही सांसदलाई देउवा र शेखर समूह दुवैले आफ्नो समूहमा राखेका छन् ।
संस्थापन पक्षको पनि देउवा समूहले आफ्नो समूहमा १२ जना रहेको दाबी गर्दै आएको छ । दलको नेता दाबी गरिरहेका अमृत अर्यालसहित हिमाल कार्की, सदानन्द मण्डल, इस्राइल मन्सुरी, खगेनसिंह हाङ्गाम, प्रदिपकुमार सुनुवार, डोल्मा तामाङ, लीलाकुमारी राई, मैया श्रेष्ठ, सुनिता गच्छदार, सुनिताकुमारी गुरुङ र ममता मगर तामाङ गरी १२ जना आफ्नो समूहमा रहेको देउवा पक्षको दाबी छ ।
शेखर कोइराला–गगन थापाहरुले नेतृत्व गरेको संस्थापन इतर समूहले आफूसँग १० जना रहेको दाबी गर्दै आएको छ । यो समूहबाट दलको नेता दाबी गरिरहेका केदार कार्कीसहित शमशेर राई, रामकुमार खत्री, इन्दिरा थापा, विनोद राई, मानबहादुर लिम्बू, गोविन्द गिरी र गयानन्द मण्डल सांसद छन् । यो समूहले मैया श्रेष्ठ र लीलादेवी राईलाई पनि आफ्नै समूहमा गणना गरिरहेको छ ।
संस्थापन पक्षकै सिटौला समूहबाट दलको नेता दाबी गरिरहेका दुई नेता उद्धव थापा र भीम पराजुलीसहित भूमिप्रसाद राजवंशी, भूपेन्द्र राई, खगेश्वरी पौडेल, मोहन महर्जन, शोभा चेम्जोङ पालुङ्वा, लेखीकुमारी गणेश र गोपाल तामाङ गरी ९ जना सांसद छन् ।
देउवा र सिटौला समूहबीच सहमति प्रयास जारी हुँदा सिटौला समूहभित्रै पनि अर्को प्रयास भइरहेको छ । सिटौलाकै गृह जिल्ला झापाका उद्धव थापा र विराटनगरका भीम पराजुलीमध्ये एक जना मात्रै अघि बढाउने प्रयास बुधबार साँझसम्म सफल हुन सकेको छैन । नेता पराजुलीले यसको पुष्टि गरेका छन् । ‘हामीबीच सहमतिको प्रयास भइरहेको छ तर कुरा मिलेको छैन’, पराजुलीले भने ‘ बिहीबार मेरो पनि उम्मेद्वारी दर्ता हुने निश्चित छ ।’