विराटनगर । नेकपा एमाले जिल्ला कमिटी मोरङको पाँचौँ पूर्ण बैठकले क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डल ‘जोगी’लाई कारबाही गर्न सिफारिस गरेको छ ।
मोरङको ५ नम्बर क्षेत्रमा एमालेले जनता समाजवादी पार्टी (जसपा) नेपालसँग गठबन्धन गर्दा उम्मेदवार बन्नबाट वञ्चित भएपछि मण्डलले स्वतन्त्र उम्मेदवारी दिएर चुनाव जितेका थिए ।
चुनाव जितेपछि मण्डललाई कारबाही नगर्ने मनसाय एमालेले बनाएको थियो तर उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई समर्थन नगरेपछि कारबाहीको सिफारिस गरेको छ । उनी प्रदेश कमिटी सदस्य हुन् ।
प्रदेश कमिटीलाई संगठित सदस्य समेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको नेकपा एमाले मोरङले जनाएको छ ।
सोही क्षेत्रको प्रदेशसभा क्षेत्र ९१० बाट उम्मेदवार दिएकी पूर्व प्रदेश सांसद बसन्तीदेवी यादवलाई पनि कारबाही गर्ने निर्णय गरिएको जनाइएको छ । जिल्ला कमिटीको बैठकले प्रदेश कमिटी सदस्य रामकुमार बस्नेत र राजकुमार बस्नेतलाई पनि कारबाही गर्न सिफारिस गरेको छ । उनीहरूले एमालेका उम्मेदवारलाई हराउन खुलेरै लागेको एमालेको आरोप छ ।
यस्तै रुपेश खतिवडालाई संगठित सदस्य समेत नरहने गरी कारबाही गरेको छ । बुधवार एमाले पाटी कार्यालयमा बसेको बैठकले मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा चुनाव हराउन भूमिका खेलेको आरोप लगाउँदै जिल्ला सचिव खतिवडालाई संगठित सदस्य समेत नरहने गरी कारबाही गरेको हो ।
उम्मेदवार छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै खतिवडाले राजीनामा दिएका थिए । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार सिफारिस र छनोट गर्दा सिद्धान्त, विधि विपरीत केही निश्चित व्यक्तिको स्वार्थ अनुकूल भएको भन्दै खतिवडाले असोज २२ गते राजीनामा दिएका थिए । मोरङका अध्यक्ष ऋसिकेष पोख्रेलसँग असन्तुष्टि जनाउँदै उनले राजीनामा दिएका थिए ।
असोज ३१ गतेकै बैठकले उनलाई स्पष्टीकरण सोधिएको थियो । जिल्ला सचिव खतिवडालाई कारबाही नगर्नुपर्ने कारणसहितको जवाफ दिन १५ दिने अल्टिमेटम दिएको थियो । १५ दिनभित्र चित्तबुझ्दो जवाफ नदिएमा पार्टी विधानअनुसार स्वतः निष्कासन गर्ने जनाइएको थियो । असोज ३१ गते एमाले मोरङको विस्तारित पदाधिकारी बैठकले खतिवडाको राजीनामा स्वीकृत गरेको थियो । राजीनामा स्वीकृत भएसँगै उनले साधारण सदस्यसम्मते त्यागेको घोषणा गरेका थिए।