अब काङ्ग्रेसले के गर्नुपर्छ ?

 अनन्तराज न्यौपाने

अनन्तराज न्यौपाने

नेपालको सत्ता राजनीतिको समीकरण अकस्मात् परिवर्तन भएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली काङ्ग्रेससितको सहयात्रालाई तिलाञ्जलि दिएका छन् । सत्ताराजनीतिमा छुट्टै समीकरणको निर्माण भइसकेको छ । प्रचण्ड प्रधानमन्त्री भइसकेका छन् । मन्त्रीमण्डल निर्माणको क्रम जारी छ ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले तत्कालीन गठबन्धनका सहयात्रीसित देखाएको हरकत वास्तवमै शोभनीय र राजनीतिक संस्कारले युक्त थिएन । साढे २ वर्षअघि त्यस वेलाका प्रधानमन्त्री ओली अहङ्कार र सर्वसत्तावादको भूतले उन्मत्त थिए । त्यस वेला उनले पूर्वसहमतिअनुसार प्रचण्डका लागि प्रधानमन्त्रीको पद छाडेका भए राजनीतिक इमानको प्रदर्शन हुने थियो । तर त्यस वेला ओलीलाई दसा लागेझैँ भएको थियो । उनले देशको सेरोफेरो सबै मेरो भन्ने किताब पढे । त्यही सोचे, त्यसै गरे । उनले २०७४ सालको दसैँताका प्रचण्डसित गरेको सहमति पालन गरेनन् । फलतः करिब २ तिहाइको वामगठबन्धनको सरकारको पतन भयो । आफू प्रधानमन्त्री हुन्छु भन्ने कुनै आस नै नभएका र नगरेका देउवा सत्तासीन भए ।

हिन्दीमा देर आए दुरुस्त आए भन्ने उखान छ । साढे २ वर्षपछि, ढिलै भए पनि ओलीको बुद्धि फि¥यो । उनले प्रकट रूपमा नदेखाए पनि उनमा त्यस वेलाको क्रियाकलापले पश्चात्ताप भएको हुनुपर्छ । अन्यथा ओलीले यति सजिलै प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्ने थिएनन् । त्यसोत, नेपालको राजनीतिमा अब वाद, सिद्धान्त, विचार, आदर्श, मूल्यमान्यता र मर्म अब सबै ‘बाद’ भए । अब सबै राजनीतिक दलको सिद्धान्त एउटै रह्यो, जसरी होस्–सत्तामा पुगियोस् । नेपाली काङ्ग्रेसको प्रजातान्त्रिक समाजवाद, एमालेको जनताको बहुदलीय समाजवाद र माओवादीको प्रचण्डपथ अब पुस्तकका भान्टा भए ।

एक पण्डित व्यासासनमा बसेर पुराण भन्दै रहेछन् । पुराण भन्दै जाँदा आध्यात्मिक उपासकले के खाने र के नखाने भन्ने बयान आएछ । पण्डितले जोडदार ढङ्गले उपासकले भन्टा खानु नहुने र भन्टा खाने उपासक नर्कमा पर्ने बताएछन् । त्यस दिन उनकी पत्नी अर्थात् पन्डितिनी पनि पुराण सुन्दै रहिछन् ।

‘अँ, घरमा चाहिँ सधैँ भन्टा पकाऊ भन्ने यहाँ पुराणमा चाहिँ भन्टा खानुहुन्न भन्ने’, पण्डितजीका कुरा सुनेर पन्डितिनीले तत्काल प्रतिवाद गरिछन्, ‘यी कस्ता कुरा हुन् पण्डितजी ?’ पण्डित पनि के कम ? प्रत्युत्पन्न मतिका उनले तत्काल जबाफ दिएछन्– ‘पुस्तकको भन्टा पो खानुहुन्न भनेको त लाटी, बारीको भन्टा खानु त भइहाल्छ नि !’

यही कथाजस्तो अब सबै राजनीतिक पार्टीका विचार केवल पुस्तकका कुरा भएका छन् । बालेनले त्यसै भनेका होइनन्– राजा मार्ने, राजा हटाउने र राजा फर्काउने एकै ठाउँमा उभिएका छन्; भनेर ।

खासमा नेपाली काङ्ग्रेस पार्टीको जीर्णोद्धार आवश्यक थियो । यसका पुराना खाँबा, भित्ता र झ्यालढोकाहरू मक्किन थालेका छन् । कुनै न कुनै ठुलो दुर्घटना नभई जीर्णोद्धार हुनसक्तैन । यस पटकको देउवाकृत दुर्घटनाले जीर्णोद्धार निम्त्याएको छ । जीर्णोद्धार गर्नुनगर्नु त्यस पार्टीका आम कार्यकर्ता र नेताको एजेन्डा हो । तर आवश्यक चाहिँ भइसकेको छ ।

देउवाको एक्लो अहङ्कार र उन्मादले नेपाली काङ्ग्रेस यति वेला सत्ताविहीन हुन पुगेको छ । माओवादीसितको गठबन्धनका मर्मविपरीत उनले प्रचण्डसित प्रधानमन्त्री पदको निष्कण्टक यात्रा मागे । देशभरिका सातै प्रदेशमा जेसुकै होस्, देउवालाई मतलब भएन । उनलाई फगत आफ्ना लागि प्रधानमन्त्रीको पद चाहिएको थियो । उता, पूर्वसहमतिअनुरूप प्रचण्ड पनि त्यही पदको आग्रह गरिरहेका थिए । देउवाको लोभ रती नझरेपछि प्रचण्डले गठबन्धनको बाँध भत्काए । वर्तमान नेपाली सत्ताराजनीतिका लागि यो अनपेक्षित पनि थिएन । उनले जे गरे, ठिकै गरे ।
यता नेपाली काङ्ग्रेसले कम्तीमा ४ प्रदेशमा मुख्यमन्त्री गुमायो । राष्ट्रपति र सभामुख गुमायो । अनि गुमायो, धेरै संवैधानिक अङ्ग र अरू प्रशस्त ठाउँका राजनीतिक नियुक्ति र अवसरहरू । अर्का शब्दमा भन्नुपर्दा सत्ताराजनीतिका दृष्टिमा तत्काल नेपाली काङ्ग्रेसको सर्वस्व सकिएको छ ।
अब काङ्ग्रेसले के गर्नुपर्छ ? यो प्रश्न अहम् रूपमा यति वेला सर्वत्र छाएको छ । यसको उत्तर एउटै छ, नेपाली काङ्ग्रेसलाई साँच्चै जीर्णोद्धार गर्ने हो भने तत्काल यसका सभापति र संसदीय दलका नेता दुबै पदबाट शेरबहादुर देउवालाई हटाउनुपर्छ । देउवाका ठाउँमा डा. शेखर कोइराला, गगन थापा र विश्वप्रकाश शर्माजस्ता नेताहरू प्रतिस्थापित हुनुपर्छ । अब देउवा र उनकी पत्नी आरजूको भ्रष्ट नायकत्वबाट नेपाली काङ्ग्रेस चल्नसक्तैन, चल्नु हुँदैन ।

बुधबार, १३ पुष, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर