विराटनगर । मोरङ प्रहरीले आजबाट बिहान र बेलुकी लकडाउनलाई थप कडा पार्ने भएको छ । त्यसका लागि नियमितरुपमा परिचालन भइरहेको प्रहरी संख्यामा समेत बढाउने तयारी भएको छ ।
लकडाउन पूर्ण पालना गराउन भन्दै बिहान ८ बजेदेखि १२ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म व्यापक प्रहरी परिचालन गरिने छ । प्रहरीका अतिरिक्त वडा तहमा गठन गरिएको ‘ प्रहरीको साथी म’ अभियानका युवाहरुलाई पनि परिचालन गर्ने योजना बनाएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिनुभयो ।
‘लक डाउनको पूर्ण पालनाको अनुगमन तथा कार्यान्वयनका लागि जिल्लाभरी नियमित बाहेक थप प्रहरी जनशक्तिको परिचालन गरिनेछ,’ एसपी अधिकारीले भन्नुभयो ।
लकडाउन अवज्ञा गर्ने क्रम बढ्न थालेपछि शुक्रबार साँझ अचानक कफ्र्यु जारी गरिएको थियो । त्यस लगतै प्रहरीले नयाँ रणनीति अगाडि सारेको हो । लकडाउन कडा भएको समयमा अत्यावश्यक वा ननिस्की नहुने अवस्थामा बाहेक घरबाट ननिस्किन भनिएको छ । त्यसका लागि प्रहरीले नियमित माइकिङ गरेर सूचना प्रवाह गरिरहेको छ ।
लकडाउन कार्यान्वयनमा अवरोध गर्ने र चल्ने सवारी साधनहरु नियन्त्रणमा लिने प्रहरीले जनाएको छ । साथै उल्लंघनकर्तालाई संक्रामक रोगसंग प्रचलित कानुन अनुसार दोषीलाई कैदको दण्ड सजायसम्म हुन सक्ने चेतावनी दिइएको छ ।
मोरङ प्रहरीले विभिन्न आठ बुँदें अनुरोध जारी गर्दै विभिन्न पेशा र सेवासँग आवद्ध भई सम्वन्धित निकायबाट पास लिएकाहरुलाई पनि अनावश्यकरुपमा नहिडिदिन व्यक्ति आग्रह गरिएको छ ।
राहत बुझ्न परिवारबाट एकजना मात्र सहभागी हुन र सामाजिक दुरी कायम गराउन स्थानीय तहलाई प्रहरीले आग्रह गरेको छ । त्यसका लागि प्रहरीले आवश्यक सबै सहयोग गर्ने पनि बताइएको छ ।
प्रहरीले विश्वभरी फैलिरहेको कोरोना भाईरसको संक्रमणबाट बच्नु र बचाउनु सबैको दायित्व भएको भन्दै त्यस अभियानमा सहयोग गर्दै लकडाउन पूर्ण पालनाका लागि अनुरोध गरेको छ ।