विराटगनर । सोमबार प्रदेश नम्बर एकको प्रदेशसभा सचिवालयमा नवनिर्वाचित सांसदहरुको सपथ ग्रहण कार्यक्रम आयोजना गरिएको थियो । दिउँसो ढेड बजेको लागि तय भएको कार्यक्रमका लागि दुई घण्टा अघिबाटै सांसदहरु सचिवालयमा आउने क्रम शुरु भएको थियो । परिसरमा फोटो सेसनदेखि एक आपसमा बधाई साटासाटको क्रम चलिरहेको थियो । कार्यकाल सकिएका केही सांसदहरुसमेत नव निर्वाचितलाई बधाई दिन ब्यस्त देखिन्थे ।
चिनजानसँगै कतिपय सांसद प्रदेशसभाबाट सपथ ग्रहणको लागि उपलब्ध गराइएको पत्र, किटब्याग लिन र बैंकखाता खोल्न फाराम भर्न ब्यस्त देखिएका थिए । यही क्रममा प्रदेशसभा सचिवालयमा प्रवेश गर्न सूचना दिने घण्टी बज्यो । सदस्यहरु प्रदेशसभा हलमा प्रवेश गर्न शुरु गरे । सपथ ग्रहण कार्यक्रम हेर्न र निर्वाचितहरुलाई बधाई दिन विभिन्न दलका कार्यकर्ताको पनि ठूलो घुइँचो थियो ।
नव निर्वाचित सांसदहरु प्रदेशसभा हलमा प्रवेश गरेपछि सांसदहरु दलगत हिसाबले आ–आफ्नो रोमा बस्नुपर्ने बाध्यता थिएन् । तर, अहिले प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री राजेन्द्रकुमार राई सधैं बस्ने कुर्सीमा अरु कोही बसिरहेको देखेपछि छेवैमा उभिए । दोस्रो कार्यकालको लागि निर्वाचित राई पनि सपथ ग्रहणका लागि आएका थिए । मुख्यमन्त्रीको कुर्सीमा राप्रापाका सांसद भक्ति सिटौला बसिरहेका थिए ।
एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले यसअघि पनि त्यो कुर्सीमा बस्न खोजेका अरु दुई जना सांसदलाई कुर्सी मुख्यमन्त्रीको भएको सुझाएपछि उनीहरु पछि गएका थिए । तर, सिटौला कुर्सीमा बसिरहे । फेरि मुख्यमन्त्रीले आग्रह गरेपछि सांसद सिटौलाले ठाउँ छाडिदिए । यसबारे सपथ ग्रहणपछि जिज्ञासा राख्दा सिटौलाले भने, ‘कुर्सी खाली थियो म बसें । मलाई मुख्यमन्त्रीको कुर्सी हो भन्ने थाहा थिएन् फेरि आज हामी सबै समान हैसियतमा प्रदेशसभा सदस्यको सपथ ग्रहण गर्न भेला भएका थियौं ।’