प्रदेश १ का पाँच सांसदले मातृभाषामा शपथ लिने

विराटगनर । प्रदेश १ का पाँच जना प्रदेशसभा सदस्यहरुले मातृभाषामा शपथ लिने भएका छन् । प्रदेशसभा सचिवालयले मातृ भाषामा शपथ लिन इच्छुकले तीन दिन अघिनै शपथको विवरण बुझाउन आग्रह गरेकोमा पाँच जनाले त्यस्तो विवरण बुझाएका थिए ।

प्रदेशसभा सचिवालयले सोमबार प्रदेशसभाका सांसदको शपथ ग्रहण समारोहको तयारी गरेको छ । उक्त समारोहमा आर्थिक मामिला तथा योजना मन्त्रीसमेत रहेका पाँचथर १(१) बाट दोस्रो पटक निर्वाचित सांसद माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, इलाम १(१) बाट निर्वाचित पर्यटन तथा संस्कृतिमन्त्री नेकपा (एकीकृत समाजवादी)की खिनु लङ्वा लिम्बू, नेकपा (एकीकृत समाजवादी)का पाँचथर १(१) बाट निर्वाचित कमलप्रसाद जबेगु, कांग्रेसका ताप्लेजुङ् १(२)बाट निर्वाचित खगेनसिंह हाङ्गाम र जनता समाजवादी पार्टीकी निर्मला लिम्बूले मातृभाषा याक्थुङ लिम्बू भाषामा सपथ लिने प्रदेशसभा सचिवालयले जनाएको छ ।

प्रदेशसभामा मातृभाषामा शपथ ग्रहण गर्ने सांसदरूलाई तीन दिन अगावै विवरण उपलब्ध गराउन संसद सचिवालयले सूचना गरेको थियो । सो पाँच जनाले मात्रै भातृभाषामा शपथ लिन निवेदन दिएको प्रदेशसभा सचिव गोपाल पराजुलिले जानकारी दिए ।

पुस ११ गते सोमबार १२ः३० बजे प्रदेश प्रमुख पर्शुराम खापुङले ज्येष्ठ सदस्य गयानन्द मण्डल गनगाईलाई सपथ ग्रहण गराउने कार्यक्रम तय गरिएको छ भने गनगाईले अन्य सदस्यलाई १ः३० बजे प्रदेशसभा भवनमा सपथ गराउने छन् । संसद सचिवालयले राष्ट्रियता झल्काउने पोषाकमा शपथका लागि उपस्थित हुन निर्वाचित सांसदहरुलाई आग्रह गरेको छ ।

प्रदेश १ प्रदेशसभामा ९३ जना सांसद निर्वाचित छन् । प्रत्यक्षतर्फबाट ५६ जना र समानुपातिक तर्फबाट ३७ जना प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । मंसिर ४ गते सम्पन्न निर्वाचनबाट नेकपा एमालेका ४०, नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, राष्ट्रिय प्रजातन्त्र पार्टीका ६, नेकपा एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक जना सांसद निर्वाचित भएका हुन् ।

सोमबार, ११ पुष, २०७९, बिहानको ०८:३५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर