प्रधानमन्त्रीको दाबी गर्न राष्ट्रपतिले दिएको समय आज सकिँदै , दलहरू छलफलमा व्यस्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दाबी पेश गर्न दिएको एक साताको समय आज सकिंदै छ।

मंसीर ४ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा कुनै पनि पार्टीले बहुमत प्राप्त गर्न नसकेपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रधानमन्त्रीको दाबी पेश गर्न आह्वान गरेकी थिइन्। राष्ट्रपतिले पुस ३ गते एक साताको समय दिएर दाबी पेश गर्न आह्वान गरेकी थिइन्।

पाँच दलीय सत्ता गठबन्धन दलहरूले आफ्नै नेतृत्वमा आगामी नयाँ सरकार गठन गर्ने निर्णय गरी विभिन्न प्रयासमा जुटिरहेका छन्। त्यसका लागि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय जनमोर्चाका शीर्षनेता द्विपक्षीय तथा बहुपक्षीय छलफलमा जुटिरहेका छन्।

गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गठनका लागि पहल गरिरहेको छ। त्यस्तै, माओवादीले पनि आफूले सरकारको नेतृत्व पाउनुपर्ने दाबी गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार भएको गठबन्धनका शीर्षनेताको बैठकमा कांग्रेस र माओवादीले पहिले सरकारको नेतृत्व पाउनुपर्ने अडान राखेपछि सहमति जुट्न सकेको थिएन। यसका लागि आज पनि पाँच दलको बैठक बोलाइएको छ।

प्रतिनिधि सभाका २७५ सीटमध्ये कांग्रेस ८९, एमाले ७८, माओवादी ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी १२, एकीकृत समाजवादी १०, जनमत पार्टी ६, लोसपा चार, नागरिक उन्मुक्ति पार्टी तीन, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टीका एक(एक सांसद छन्। त्यस्तै, पाँच स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।

आइतबार, १० पुष, २०७९, दिउँसोको १२:४१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर