स्टिल उद्योगलाई स्वदेशी कच्चा पदार्थ पर्याप्त, डण्डीको मूल्य २० प्रतिशतले घट्यो : रमेश राठी

सुनसरी मोरङ औद्योगिक करिडोरमा दुई अर्ब ५० करोड रुपैयाँ लगानीमा नयाँ उद्योग स्थापना भएको छ । आर्थिक मन्दीका कारण औद्योगिक र लगानीको प्रतिकुल वातावरण सिर्जना भएको चुनौतीपूर्ण अवस्था अनुकुलतामा परिणत हुने विश्वासका साथ उत्पादन उद्योगमा विराटनगरका युवा उद्यमीहरुले लगानीको साहस गरेका छन् । सुनसरीको दुहवी नगरपालिका १ मा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिलले कुल क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको छ । केही दिनभित्रै पूर्ण क्षमतामा उद्योग संचालन गरी दैनिक ५०० मेट्रिक टन उत्पादन गर्ने तयारी उद्योगले गरिरहेको छ । स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको मिलले टिएमटी छड, बिलेड, एङ्गल, च्यानल र आई बिमको उत्पादन सुरु गरेको छ । स्वदेशी स्क्राब पगालेर फलाम उत्पादन गर्दा कच्चा पदार्थका लागि पुँजी पलायनको परिमाण घट्न पुगेको छ भने वस्तुको भ्यालु एड भई राज्यका लागि फाइदा पुगेको छ । त्यसबाहेक स्वदेशमै बिलेड, एङ्गल, च्यानल र आइ बिम उत्पादन हुँदा यस्ता वस्तुमा मुलुक आत्मनिर्भरता तर्फ उन्मुख भइरहेको मिलका डाइरेक्टर रमेश राठी बताउँछन् । भारतको प्रसिद्ध टाटा कम्पनीबाट उत्पादन भएको गुणस्तरीय स्पन्ज आयात गरी प्रयोग गरिएकोले आफ्नो उत्पादन गुणस्तरीय रहेको राठीले दाबी गर्छन् । प्रस्तुत छ राठीसँग गरिएको कुराकानीः

नेपालमा स्टिल उद्योगको अहिलेको अवस्था कस्तो छ ?

नेपालमा स्थापना भएका स्टिल उद्योगमध्ये ९० प्रतिशत भन्दा बढी उद्योगले आफ्नै भट्टी राखेर पगाल्ने उद्योगमा रुपान्तरण भइसकेका छन् । मेरो हिसाबले ७५ प्रतिशत चालू भइसकेका छन् र १५ देखि २० प्रतिशत चालू हुने अवस्थामा छन् । दुई–चार वटा युनिट बाहेक ९० देखि ९५ प्रतिशत उद्योगले आफैं उद्योग लगाएर बिलेड उत्पादन गर्ने अवस्थामा पुगिसकेका छन् । पूर्वमा रहेका उद्योग तथा काठमाडौंका, भैरहवाका ठूला स्टिल उद्योगहरुमा पनि बिलेड उत्पादनको लागि नयाँ प्लान्ट स्थापना भइसकेको छ ।

सरकारले बिलेड उत्पादन गर्ने उद्योगलाई ब्यापक सहुलियत दिँदा पनि डण्डीको मूल्य समायोजन नभएको गुनासो थियो । अहिलेको अवस्था के हो ?
जुन मूल्यको कुरा गर्दा आजभन्दा ९ महिना अगाडि उद्योगीको आन्दोलन सुरु भएको थियो बिलेड र फर्निस युनिटसँगको आन्दोलन थियो । त्यतिखेर प्रतिकिलो भ्याट बाहेक १०५ रुपैयाँ मूल्य थियो । आज हामी भ्याटबाहेक ८८ रुपैयाँ प्रतिकिलो का दरले उपभोक्तालाई डण्डी उपलब्ध गराइरहेका छौं । यो झण्डै २० प्रतिशतको गिरावट हो । किनभने सबै युनिटहरु प्रतिस्पर्धामा आइसकेका छन् । यसबाट उपभोक्तालाई धेरै लाभ भइरहेको छ । आज कसैले बिलेड बाहिरबाट ल्याउँछ भने त्यो बिलेडलाई तताउने खर्च नै २ देखि ३ रुपैयाँ प्रतिकिलो पर्छ । यसपटक हामीले तातो माल नै लिएर आएको कारण त्यो मूल्य सेभ भयो र उपभोक्ताले फाइदा पाएका छन् ।

नेपालमै पाइरहेको स्क्र्याबबाट बन्ने डण्डीको गुणस्तर कस्तो छ ? अनि तपाईँहरुले बाहिरबाट सस्तोमा बिलेड ल्याएर मालको गुणस्तर कमजोर बनाएको कुरा पनि छ नि ?
म तपार्इँमार्फत के जानकारी गराउँछु भने हामीले टाटा स्टिलबाट ल्याउँछौं । टाटा भनेको विश्वको प्रतिष्ठित कच्चा पदार्थ उत्पादन गर्ने कम्पनी हो । हामी त्यहीँबाट कच्चा पदार्थ आयात गरिरहेका छौं । तपार्इँलाई प्रमाण चाहिन्छ भने आयात गरेको कागज उपलब्ध गराउँछौं । अर्को कच्चा पदार्थ भनेको स्क्र्याब हो । त्यो भनेको फलाम हो । फलामबाट फलाम नै बन्ने हो । त्यसबाट कुनै कमशल वस्तु उत्पादन हुँदैन । यहाँको कच्चा पदार्थ राखेर मात्रै यहाँको उत्पादन गर्दा कम गुणस्तरको उत्पादन हुनसक्ने देखेर गुणस्तर नआउने भएको कारण हामीले टाटाको स्पोन्ज र यहाँको स्क्र्याबको समिश्रणबाट वस्तु उत्पादन गर्छौं । त्यसो गर्दा गुणस्तर र निखार आउँछ । त्यो खाली स्क्र्याब हालेर बनाउँदा पनि केही हुँदैन । सुनबाट सुन नै बन्ने हो फलामबाट फलाम नै बन्ने हो । तर, जुन हामीले नयाँ कच्चा पदार्थ आएको छ स्पन्ज आइरन त्यो हालेर बनाउँदा राम्रो गुणस्तर हुन्छ ।

नेपालमा स्क्र्याब कच्चा पदार्थको उपलब्धताको अवस्था चाहिं कस्तो छ ?

भारतबाट स्क्र्याब आउँदैन । नवलपरासीमा दुईवटा फलाम खानी सञ्चालनका लागि सरकारले अनुमति दिइसकेको छ । कम्पनी पनि दर्ता भएको छ । उद्योग मन्त्रालयमा धौवादी फलाम खानी पनि स्थापना भइसकेको छ । त्यसको टेस्टिङ पनि भइसकेको छ । म सरकारलाई अनुरोध गर्न चाहन्छु । त्यो फलाम खानीलाई तुरुन्त सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएर त्यसलाई चालू गरौं । ता कि नेपालकै कच्चा पदार्थ नेपालका उद्योगहरुले प्रयोग गर्न पाउन । अर्को कुरा भनेको खाली स्क्र्याबले मात्रै हामी युनिट चलाउँदैनौं । हामीले कच्चा पदार्थ राम्रो मिसायौं भने समिश्रणबाट नयाँ उत्पादन गर्दा राम्रो क्वालिटी निस्किन्छ । त्यो हिसाबले ७० प्रतिशत उद्योग चालू अवस्थामा रहँदा अहिले हामीले चाहिनेजति स्क्र्याब नेपालमै पाइराखेका छौं । अहिले स्त्र्mयाब नेपाल आयात गर्नुपर्ने अवस्था छैन र भारतबाट स्क्राब आयात गर्न पनि पाइदैन । हामीले लोकल कच्चा पदार्थ नै पाइराखेका छौं ।

नेपालमा पछिल्लो समय सिमेन्ट र स्टिल उद्योगहरु धमाधम खुलिरहेको छ । यस्तै उद्योगमा भएको आकर्षण चाहिं के हो ? र स्टिल उद्योगको भविष्य कस्तो छ ?

यहाँको माग अनुसार मालवस्तु अपुग भएका कारण यहाँ सिमेन्ट र स्टिल उद्योग आएका हुन् । अहिले भने निर्माणका काम केही रोकिएको छ । अब विस्तारै एमसिसीका परियोजना अघि बढ्दैछ, एमसिसीले ट्रान्समिसन लाइनको ठूलो काम संचालनको तयारी गर्दैछ । त्यसमा पनि बजरंग स्टिलको सामान धेरै प्रयोग हुँदैछ । त्यहाँ ५० अर्बको टेण्डर खुल्दैछ । अर्को कुरा एसियन हाइवेको कुरा पनि आइरहेको छ । टेण्डर खुल्दैछ । त्यसमा पनि धेरै पुल पुलेसा बन्दैछन् । अर्को कुरा अरुण दोस्रो, तेस्रोलगायत अन्य जलविद्युत् आयोजनाको निर्माणको टेण्डर प्रक्रियामा छन् । त्यसबाट यो प्रदेशमा भएका धेरै उद्योगले राहत पाउनेछन् । अब दुईचार महिना लाग्ला तर राम्रो परिस्थिति बन्दैछ । एंगल, च्यानल पनि भारतबाट अर्बाैंको आयात भइरहेको थियो । अहिले नेपालमै हामीले उत्पादन गरिरहेका छौं । आयात लगभग बन्द भइसकेको छ । जुन आइटम बनाउन सकिएको छैनौं वा बनाउने प्रक्रियामा छौं त्यस्ता आइटम मात्रै आयात भइरहेको छ ।

डण्डी विदेश निर्यातको अवस्था चाहिं के हो ? केही समय अगाडि निक्कै हल्लाखल्ला आएको थियो ?

निर्यातमा हामी प्रतिस्पर्धी हुँदैछौं । सरकारले अनुदान घोषणा गरेको छ । त्यससम्बन्धी कार्यविधि पनि बनाइसकेको छ । अर्को हामीले सरकारसँग माग गरेको के हो भने जुन रेटमा भारतमा विद्युत् निर्यात भएको छ त्यही रेटमा यहाँको निर्यात गर्ने उद्योगले पनि त्यही रेटमा पाउनु पर्छ । त्यस्तो अवस्थामा नेपालको व्यापार घाटा कम गर्न सक्छ । निर्यात गर्ने उद्योगले भारतमै बिजुली बेचे जत्तीकै पाएको खण्डमा यहीको उत्पादन फष्टाउँछ र हामी निर्यात गरेर अझै सक्षम हुन्छौं ।

सरकारले विकास बजेट खर्च नगर्दा निर्माणसँग सम्बन्धीत उद्योगहरु संकटमा आएको कुरा आइरहेको छ । आर्थिक मन्दीको कुरा पनि छ । खास कुरा के हो ?

पछिल्लो ५ वर्षको इतिहास हेर्दा सरकारको विकास खर्चको अवस्था उस्तै छ । तर, १ डेढ वर्षदेखि मात्रै मन्दीको गीत गाइरहेका छौं । विकास खर्च भनेको पहिलेदेखि नै यस्तै छ । असारे विकास भयो, विकास भएन भनेर हामी भनिरहन्छौं । आज मन्दी आयो, अलिकति सुस्त गतिमा छ । अर्थतन्त्र समस्यामा छ । तर, अब लयमा फर्किन्छ भन्ने कुरा हामी मिडियाबाट सुनिरहेका छौं । निक्षेप जम्माको अवस्था पनि सुधार हुँदैछ । ब्याजदर घटाउने कुरा पनि आइरहेको छ । त्यसले पक्कै पनि लाभ हुन्छ । यो उतार चढाव सबै उद्योगमा आउँछ । अहिले विश्व नै आर्थिक मन्दीमा छ । दुईचार महिनामा सुधार हुन्छ यसमा कुनै दुईमत छैन ।

सरकारको वर्तमान अर्थनीति, राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति र अहिलेको चालू पूँजी कर्जा निर्देशिकाले उद्योग क्षेत्रमा कस्तो प्रभाव पार्छ ?
अहिले चालू पूँजी निर्देशिका अहिलेसम्म लागू भएको छैन । लागू हुने तर्खरमा छ । हामी व्यापारीको आन्दोलन तपाईहरुले पनि सुनिरहनु भएको छ । हाम्रो भनाइ छ कि चालू पूँजी कर्जालाई समय दिनुपर्छ । एकैचोटी ल्याएर यस्तो आर्थिक मन्दीको समयमा उद्योगी व्यापारीलाई च्याप्नु भएन । यो चालू पूँजी कर्जालाई पनि जसरी व्यक्तिगत कर्जामा सरकारले २ करोडबाट ५० लाखको सीमा चार वर्षमा ल्यायो । त्यसैगरी यो चालू पूँजी कर्जालाई पनि चार वर्ष, तीन वर्षको अवधि दिनुपर्छ । राम्रो कुरा ल्याउँदा हामीलाई नै फाइदा छ । राज्यको नीतिले अहिले स्टिल उद्योगलाई भने राम्रो गरेको छ । त्यसलाई कार्यान्वयन गर्न केही समय लाग्ला । तर, यो लागू हुँदा राम्रो हुन्छ । अहिलेको ब्याजदरले भने अत्याधिक च्यापेको छ । ब्याजदर एकल अंकमा आउनु पर्छ । यो हाम्रो उद्योगी व्यापारीको माग हो । यसमा नआउँदा हामी संकटमा छौं । यसले उपभोक्तालाई पनि समस्यामा पारेको छ । यदि त्यसमा करेक्सन भए उपभोक्ताले पनि सस्तोमा पाउने र उत्पादन पनि बढ्ने अवस्था छ ।

तपाइँको उद्योगमा कति जनशक्ति छन् ? भारतीय कामदार छन् कि छैनन् ?

जनशक्तिको कुरा गर्दा अहिले हाम्रो उद्योगमा ३०० जना कामदार छन् । भोलिका दिनमा हामीलाई ५०० देखि ६०० जनशक्ति चाहिन्छ । यही महिनाबाट हामी मिल पूर्ण रुपमा संचालन गर्ने तयारीमा छौं । अहिले हामीले ६० प्रतिशत मात्रै उत्पादन गरिरहेका छौं । ४० प्रतिशत उत्पादन बढाउने अवस्था छ । हामीसँग जुन डिमाण्ड आइरहेको छ त्यो अहिले दिन सकेका छैनौं । त्यसैले पनि उत्पादन बढाउने योजनामा हामी छौं । त्यसो हुँदा जनशक्ति ६ सयको हाराहारीमा पुग्छ । हाम्रो उद्योग सामाजिक सुरक्षा योजनामा पनि समावेश भइसकेको छ । सबै कर्मचारीलाई हामीले न्यूनतम पारिश्रमिक दिनै पर्छ । हाम्रो उद्योगमा काम गर्ने जनशक्तिमध्ये २०–२५ जना जनशक्ति यहाँ नभएको कारण भारतबाट ल्याउनै पर्ने बाध्यता छ ।

आइतबार, १० पुष, २०७९, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर