विराटनगर । प्रतिकुल औद्योगिक वातावरणलाई चिर्दै सुनसरी मोरङ औद्योगिक करिडोरमा २ अर्ब ५० करोड रुपैयाँ लगानीमा स्थापना भएको स्वस्तिक रोलिङ्ग मिलले व्यवसायिक उत्पादन सुरु गरेको छ ।
सुनसरीको दुहवी नगरपालिका १ मा स्थापना भएको स्वस्तिक रोलिङ मिलले कच्चा पदार्थ (स्पन्ज)मा आधारित ५०० मेट्रिक टन क्षमताको मिल सञ्चालनमा ल्याएको हो ।
भारतबाट बिलेट आयात गरी फलामे डण्डी उत्पादन गर्ने अर्ध तयारी उद्योगको विकल्पमा स्वस्तिक रोलिङले कच्चा पदार्थमा आधारित उद्योगबाट बजरंग ब्राण्डको उत्पादन बजारमा पठाउन थालेको हो । शुक्रबार मोरङको विराटनगरमा पत्रकार सम्मेलन स्वस्तिक रोलिङले नयाँ उत्पादनको बारेमा जानकारी गराएको हो ।
स्वस्तिक रोलिङले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरेर टिएमटी छड, बिलेट, एङ्गल, चयानल र आई बिमको उत्पादन सुरु गरेको छ । केही समय अघिसम्म बिलेट, एङ्गल, च्यानल र आइ बिममा पूर्णतया भारतीय उत्पादनमा निर्भर रहेकोमा पछिल्लो समय नेपाल यी उत्पादनमा आत्मनिर्भर हुने अवस्थामा पुगेको छ । उद्योगका निर्देशक रमेश राठीले भने ‘नेपालमा खपत हुने एङ्गल, च्यानल र बिमको आयात करिव बन्द भइसकेको छ, कच्चा पदार्थमा आधारित फलाम उद्योग स्थापना भएसँगै यी वस्तुहरु नेपालमै उत्पादन हुन थालेका हुन् ।’ उद्योगी राठीका अनुसार धेरै प्रकारका एङ्गल र च्यानल नेपालमै उत्पादन हुन थालेको र नेपालमा उत्पादन नभइसकेका केही मात्र अहिले भारतबाट आयात भइरहेका छन् ।
विशेष गरेर बिजुलीको टावर, पुल, टेलिफोनका टावर, हाइड्रोपावर कम्पनीमा प्रयोग हुने अधिकांश एङ्गगल, च्यानल र आई बिमहरु नेपालमै उत्पादन हुन थालेकोले फलाम उद्योगको बजार बिस्तार भएको राठीले बताए ।
सरकारले स्वदेशी कच्चा पदार्थमा आधारित फलाम उद्योग खोल्न प्रोत्साहन गरेपछि स्थापना भएको स्वस्तिक रोलिङले ७० प्रतिशत स्वदेशी कच्चा पदार्थ प्रयोग गरिरहेको जनाएको छ । निर्देशक राठीले भने ‘हामीले स्वदेशी कच्चा पदार्थको रुपमा नेपालमै पाइने ७० प्रतिशत कवाडी (स्क्रयाब) प्रयोग गरेर फलामे डण्डी लगायतका सामान उत्पादन गरिरहेका छौं, उत्पादनलाई गुणस्तीय बनाउन ३० प्रतिशत स्पन्ज आयात गरी प्रयोग गरिएको छ ।’
भारतबाट अर्ध तयारी वस्तु ल्याउँदा भन्दा कच्चा पदार्थमा आधारित उद्योगबाट उत्पादन गर्दा मूल्य अभिवृद्धि भई राज्यलाई राजश्व आम्दानीमा फाइदा पुगेको र उपभोक्तालाई पनि सहुलियत भएको उद्योगी राठीले बताए । भारतको प्रसिद्ध टाटा कम्पनीबाट उत्पादन भएको गुणस्तरीय स्पन्ज आयात गरी प्रयोग गरिएकोले आफ्नो उत्पादन गुणस्तरीय रहेको राठीले दाबी गरे ।
उद्योगले अहिले क्षमताको ६० प्रतिशत उत्पादन गरिरहेको जानकारी दिँदै पुस मसान्तसम्म शतप्रतिशत उत्पादन गर्ने योजना अनुसार काम गरिरहेको जनाएको छ । राठीले भने ‘हामी पुस मसान्तसम्म उद्योगलाई पूर्ण क्षमतामा चलाउने तयारीमा छौं, अहिले ३०० जना कामदार उद्योगमा काम गरिरहेका छन् र हामी तुरुन्तै कामदारको संख्या ५०० पु¥याउँदैछौं ।’ उनले उद्योगले डिमाण्ड अनुसार उत्पादन दिन नसकिरहेको बताए ।
कच्चा पदार्थमा आधारित उद्योगहरु सञ्चालनमा आएसँगै फलामे डण्डीको मूल्य पनि घटेको उद्योगहरुले बताए । केही समय अघिसम्म मूल्य अभिवृद्धि करबाहेक प्रतिकिलो १०५ रुपैयाँबाट घटेर अहिले मु.अ.कर बाहेक ८८ रुपैयाँमा कारोबार भइरहेको त्यस क्रममा जानकारी दिइएको थियो । नेपालमा बिलेटमा आधारित भएर सञ्चालन भइरहेका ९० प्रतिशत उद्योगहरुले लगानी थप गरी स्तरोन्नती गरेका छन् । तीमध्ये ७५ प्रतिशत उद्योग सञ्चालनमा आइसकेको र बाँकी पनि केही महिनाभित्रै सञ्चालनमा आउने तयारीमा छन् । यसले फलाम उत्पादनमा स्वदेशी कच्चा पदार्थको प्रयोगलाई बढाएको छ । अर्कोतिर नेपालबाट भारततर्फ निर्यात भएर जाने कवाडी स्वदेशमै खपत हुन थालेकोले मुलुकको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने उद्योगी राजकुमार गोल्छाले बताए ।
स्वदेशी कच्चा पदार्थमा आधारित फलामे उद्योग स्थापना गर्ने क्रम बढेसँगै कच्चा पदार्थ उत्पादनमा पनि सरकारले विशेष ध्यान दिनु पर्ने उद्योगीहरुले बताएका छन् । उद्योगी राठीले भने ‘सरकारले अनुमित दिएका फलाम खानीहरु छिटो सञ्चालनमा ल्याउन पहल गर्नुपर्छ र यहाँका उद्योगमा आवश्यक पर्ने कच्चा पदार्थको प्रबन्ध मिलाउन ध्यान दिनु पर्छ ।’
अहिले औद्योगिक क्षेत्रमा प्रतिकुल वातावरण भएपनि छिट्टै असहज अवस्थाको अन्त्य हुने विश्वास रहेको उद्योगी राजकुमार गोल्छाले बताए । उनले भने ‘सधैं यस्तो खराव समय रहँदैन, हामी सहज अवस्था बन्ने विश्वासमा लगानी गरिरहेका छौं ।’ सरकारले बैंक व्याजदर घटाउने र भारतमा बिक्री गरिरहेकै सस्तो मूल्यमा उत्पादन उद्योगलाई बिजुली दिएको खण्डमा भारतीय उत्पादनसँग सहजै प्रतिस्पर्धा गर्न सकिने उनले भने । सरकारले सस्तोमा विद्युत उपलब्ध गराए भारतीय बजारमा फलामे डण्डी निर्यात गर्ने वातावरण बन्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।