बालबालिकालाई चिसोबाट यसरी जोगाऔं

जाडो मौसममा विशेष गरेर बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिने गर्छ । बालस्वास्थ्य अनुसन्धनकर्ता, सुरक्षा सुवेदीकाअनुसार बालबालिकालाई चिसोबाट बचाउन विभिन्न स्वास्थ्य सुरक्षा अपनाउन सकिन्छ ।

बच्चाहरुलाई बिहानको घाममा राख्नुपर्छ । यो एकदमै जरुरी छ । यसले भिटामिन डी त प्रदान गर्छ नै चिसो लाग्नबाट बचाउँछ । घाममा राख्दा तोरीको तेलले मालिस गरिदिनुपर्छ ।

साथै बिहान बेलुका मनतातो पानी खुवाउनुपर्छ । सुत्ने बेलामा मनतातो दूध नभए पानी खुवाएर सुताउनुपर्छ । धेरै अभिभावकमा जाडोमा सुन्तलाले चिसो लाग्छ भने मान्यता छ । तर सिजन अनुसारको फलफूल दिनु जरुरी हुन्छ । यस्तै, बदाम पनि खान दिनुपर्छ । यसले तातो बनाउने सुवेदीको सुझाव छ ।

बच्चाहरुलाई जाडोमा धेरै लुगा लगाइदिने गरेको हामी पाउँछौं । तर, त्यसो गर्नुहुन्न । कहिलेकाँही त्यही लुगा बढी भएर पसिना आउँछ र पसिना सोसेर निमोनिया पनि हुनसक्छ । जाडोमा हिटरको प्रयोग धेरै हुन्छ । तर हिटर र कोइलाले कार्बन्डाइअक्साइड फाल्ने भएर सास फेर्न गाह्रो हुनसक्छ । छालामा पनि असर गर्नसक्छ । हिटर वा कोइलाको प्रयोग सकेसम्म कम गर्नुपर्छ । राति सुत्ने समयमा बच्चालाई डाइपर लगाइदिनुपर्छ । लुगा फेर्दा पनि झन् चिसो लाग्नेहुन्छ । त्यसैले रातमा साना बच्चाहरुलाई डाइपरको प्रयोग गर्नु राम्रो हुने सुवेदी लगायतका विज्ञहरुले बताउने गरेका छन् ।

जाडोमा तातो तथा ताजा खानेकुरामा जोड दिनुपर्छ । तातो झोलिलो खानेकुराले शरीरमा तातो प्रधान गर्नेगर्छ । बच्चाहरुलाई राति सुत्दा मोजा र टोपी लगाइदिने । स्तनपान गराइरहेका महिलालाई दूध खुवाउन नछुटाउने । यसले पनि चिसोबाट बचाउँछ ।साथै छाला सुख्खा हुनेभएकाले मोस्चराइजर लगाइदिराख्नुपर्छ । नुहाउने बित्तिकै लगाइदिनु अझै राम्रो हुन्छ । बच्चाहरु विद्यालयमा हुँदा घाम ताप्न पाउँदैनन् । त्यसैले शरीर तताउन कसरत गराउनुपर्छ । यस्तै, घरभित्रै खेल्न दिएको राम्रो हुन्छ । डान्स गराउने, उफ्रिने अभ्यास गराउनुपर्छ । तुलसीको पात उमालेर खुवाउन सकिन्छ । यसमा चिसोबाट बचाउन सक्ने तत्व हुन्छ । तातो पानी वा कालो चियामा राखेर खुवाउनुपर्छ ।

यो बेला बालबच्चालाई मौसमी फ्लुले समाएको हुनसक्छ । सामान्यतयाः मौसमी फ्लु ७ दिनसम्म निको हुँदैन । त्यसपछि विस्तारै निको हुँदै जान्छ ।
यस्तो समस्या देखिँदा औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ । घरेलु उपचारका लागि नुनपानी, बेसारमा तुलसी पत्ताको पकाएर खुवाउने, तातोपानीमा मह, अदुवा पकाएर खुवाउन सकिन्छ । अलि ठूलो भएका बच्चालाई बाफ लिन लगाउनुपर्छ, जसले गर्दा कफ निकाल्न सहयोग गर्छ ।

बच्चालाई चिसोबाट जोगाउन बिहान उठ्नासाथ अदुवा, मरिच, ल्वाङ, सुकुमेल राखेर कालो चिया खुवाउनुपर्छ । सुत्ने बेलामा तातो दूधमा बेसार हालेर दिनुपर्छ र तातोपानीमा मह मिसाएर खुवाउँदा पनि चिसोबाट बचाउन सकिन्छ ।

आमाको दूध खाने बच्चालाई चाडो मौसममा छिटोछिटो दूध खुवाउनुपर्छ । सानो बच्चालाई रुघा लागेपछि श्वास फेर्न गाह्रो हुने हुँदा रुघा लागेका मानिससँग टाढै राख्नुपर्छ । यदि जोगाउँदाजोगाउँदै पनि रुघा लागेमा साना बच्चालाई नाक थुनिन्छ । त्यस्तो बेलामा बच्चाको नाक नुनपानीले सफा गरिदिनुपर्छ । उनीहरुलाई एन्टिबायोटिक चलाउनु हुँदैन । रुघा लागेका बच्चालाई ठाडो पारेर सुताउनु पर्छ । टोपी, पन्जा, मोजा लगाएर न्यानो बनाएर राख्नुपर्छ ।

शुक्रबार, ०८ पुष, २०७९, बिहानको ०९:१४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर